काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर तथा दूषित खाद्यवस्तु उत्पादन गर्ने विभिन्न ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये सबैभन्दा बढी दूध तथा दूग्धजन्य पदार्थसँग सम्बन्धित रहेका छन् । विभागले सोमबार चालु आर्थिक वर्ष २०७८÷०७९ को तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै चालु आवको नौ महिनामा खाद्य ऐन उल्लंघन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको जनाएको होे । दूध तथा दूग्धजन्य पदार्थसँग सम्बन्धित १३, खाद्यान्न तथा दलहनका १३, प्रशोधित पिउने पानीका नौ, विभिन्न किसिमका ससका पाँच, चियाका चार, दानाका नौ, मसलाजन्य खाद्य पदार्थका पाँच, खाद्य तेलका दुई, मिठाइ र महका १-१ र अन्य दुईवटा गरी ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताउनुभयो ।
६४ मुद्दामध्ये २६ वटा दूषित, २० वटा लेबलसम्बन्धी, १४ वटा न्यून गुणस्तर र चारवटा खाद्य ऐनविपरीत रहेका छन् । नौ महिनामा दुई हजार छ सय ७१ नमुना संकलन गरिएकोमा एक सय ४१ प्रतिकूल पाइएको विभागले जनाएको छ ।
विभागका अनुसार भारतबाट आयातित जुनार र केरामा समेत विषादीको मात्रा भेटिएको छ । आयातित जुनार, केरा, चुकन्दर, किबी र आलुमा विषादी अवशेष भेटिएको हो । कुल ४० हजार सात सय ८५ वटा तरकारी र फलफूलमा गरिएको विषादी परीक्षणमा ३२ वटामा विषादी अवशेष प्रतिकूल पाइएको छ । विषादी अवशेष भेटिएकामध्ये केही रेड जोन अर्थात् प्रयोग गर्नै नहुने प्रकार र बाँकी यल्लो अर्थात् केही दिन निर्मलीकरण गरेर प्रयोग गर्न सकिने थिए । कृषि तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत कात्तिकदेखि विभागलाई विषादी अवशेष परीक्षणको अनुमति दिएपछि विभागले प्रमुख सात नाकामार्फत् तरकारी तथा फलफूलको विषादी अवशेष जाँच गर्दै आएको छ ।
त्यस्तै विभागले चालु आवको तेस्रो त्रैमास अवधिमा दुई सय ६७ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, चार सय ४९ उद्योग नवीकरण तथा चार सय ६६ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरेको छ । चालु आवको नौ महिनामा कुल छ सय ९४ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी, एक हजार पाँच सय २३ उद्योगको अनुज्ञापत्र नवीकरण तथा एक सय २१ नयाँ उद्योग स्थापनाका लागि सिफारिस गरेको छ ।
सोही अवधिमा कुल तीन हजार सात सय ५० आयात अनुमति जारीसमेत नौ महिनामा १३ हजार १० आयात अनुमति जारी गरेको छ । आवश्यक कागजात पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ आयात रोक्का गरिएको र सिन्थेटिक, पेय पदार्थलगायतका विविध खाद्य पदार्थ गरी एक सय ११ खाद्य पदार्थका कन्साइनमेन्टको अनुमति अस्वीकृत गरिएको जनाएको छ ।
त्यसैगरी सो अवधिमा तीन सय पाँच वटा होटल रेस्टुरेन्ट स्तरीकरण गरेकोमा २० अर्थात् ६.६ प्रतिशतले अति उत्तम (ग्रिन स्टिकर विथ थ्रीस्टार), ७८ अर्थात् २५.६ प्रतिशतले उत्तम (ग्रिन स्टिकर विथ टु स्टार), एक सय २३ अर्थात ४०.३ प्रतिशतले सन्तोषजनक (ग्रिन स्टिकर विथ वान स्टार) र ५९ अर्थात् १९. ३ वटाले सामान्य स्तर (यल्लो स्टिकर विथ आउट स्टार) प्राप्त गरेका छन् । स्तरीकरणमा नपरेका २५ अर्थात् ८.२ प्रतिशत होटल रेस्टुरेन्टलाई सुधार गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच