निर्वाचनले नछोएका राजधानीका मजदुर भन्छन्- ‘भोट हाल्नु कि परिवार पाल्नु’

हिमालय टाइम्स
Read Time = 6 mins

भावना अवस्थी/हिटा
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मीले अहिले पूरै देशलाई तताएको छ । उम्मेदवारहरू भोट माग्न व्यस्त छन् भने निर्वाचन कार्यालयलाई अन्तिम व्यवस्थापनको काम सकाउन भ्याइनभ्याई छ । उम्मेदवारलाई मात्र होइन तिनका परिवार, आफन्त र समर्थकलाई पनि स्थानीय तह निर्वाचनले छोएको छ । त्यति मात्रै होइन, मतदाता आकर्षित गर्न दलहरूले महत्वाकांक्षी योजनाहरूसमेत सार्वजनिक गरिरहेका छन् । उनीहरूको योजना र घोषणापत्र हेर्दा लाग्छ, देशमा मजदुर छैनन् । बेरोजगार छैनन् । उम्मेदवारहरूले सार्वजनिक गरेको घोषणापत्रमा आधारभूत आवश्यक पूरा गर्नेभन्दा बढी महत्वाकांक्षी योजना समेटिएको पाइन्छ । ती घोषणापत्रमा गरिब, दुःखी र मजदुरका कुरा भने समेटिएको छैन ।

यस्तै, घोषणापत्र समातेर नेता कार्यकर्ताहरू शहरका गल्लीदेखि गाउँगाउँमा, घर-घरमा मत माग्न हिँडिरहेका छन् । उनीहरूलाई ठूलै चाड लागेको छ । तर, उनीहरूको चाडमा विपन्न वर्ग भने समेटिएका छैनन् । राजधानीको मुटु पुरानो बानेश्वरमा भारी बोकेर परिवार पाल्ने शम्भु माझीलाई भने स्थानीय तह निर्वाचनको कुनै रौनक छैन । बिहान बेलुकाको हातमुख जोड्न र परिवार चलाउनका लागि मजदुरी गरिरहेका माझी जस्ताहरूलाई न चुनावको रौनक छ न कुनै रमझमको । उनीहरूलाई चासो छ त केवल बिहान बेलुकाको छाक कसरी टार्ने र बालबच्चा कसरी पाल्ने ? उनीहरू भन्छन्, हामीलाई बिहान-बेलुका छाक टार्नै धौ-धौ छ, कहाँको निर्वाचन लाग्नु ।

उनीहरू भन्छन्, सबै पार्टीका नेताहरू दिनहुँ यही बाटो भएर हिँड्छन्, घर-घर, पसल-पसलमा छिरेर भोट माग्छन् । तर, त्यही पसल बाहिर बस्ने हामी जस्तालाई भने हेर्दा पनि हेर्दैनन् । हुन त हामी बाहिर जिल्लाको भएर होला, उनीहरूको मतदाता नभएर होला । हामीलाई बेवास्था गर्दा हामीलाई पनि चुनावप्रति वितृष्णा जागेको छ ।

शम्भु माझीले काम नगरी बिहान बेलुकीको छाक टार्न गाह्रो हुने भन्दै चुनाव आएको गएको थाहा नभएको बताउनुहुन्छ । उहाँले काममै व्यस्त हुने हुँदा चुनावतिर खासै चासो नभएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘भोट हाल्ने विषयमा चाहिँ सुनेको छु तर कामबाट नै फुर्सद नमिल्ने भएर त्यतातिर खासै चासो छैन ।’

माझीसँगै भेटिनुभएका प्रकाश विश्वकर्मा र अशोक तामाङ भन्नुहुन्छ, ‘निर्वाचनको विषयमा त्यति थाहा छैन, तर राम्रो व्यक्तिले जिते हामीजस्ता मजदुरलाई पनि केही सहज हुन्थ्यो ।’ यस्तै चावहिलमा विगत १७ वर्षदेखि मकै पोल्दै दैनिकी चलाइरहनुभएकी जानकी थापाले निर्वाचनको विषयमा थाहा भए पनि त्यतातिर चासो नदिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘भोट चाहिने बेला मात्रै नेताहरूले ठूला-ठूला कुरा गर्छन् चुनाव सकिएपछि वास्ता छैन ।’

त्यसैगरी, नयाँ बानेश्वरका रिक्सा चालक गोपाल थापा भन्नुहुन्छ, ‘मलाई यो निर्वाचनबारे केही चासो लाग्दैन, जसले जिते पनि सबै उस्तै–उस्तै हुन हामी जस्तालाई केही हुन्न ।’ यस्तै नयाँ बानेश्वरमै भेटिनुभएका जुत्ता सिलाउने सौगारात महरा भन्नुहुन्छ, ‘मलाई निर्वाचनको विषयमा चासो छैन, आफ्नै जीविका चलाउन गाह्रो छ ।’ त्यस्तै, चाँदनी चोकमा चिया बेच्ने सारा अधिकारीको पनि स्थानीय चुनावलाई लिएर कुनै उत्साह नभएको भनाइ थियो । उहाँ भन्नुहुन्छ, ‘निर्वाचनको विषयमा थाहा भएर के गर्नु आफूले दुःख नै गनुपर्छ जसले जिते पनि एउटै त हो ।’

यी त प्रतिनिधि मूलक भनाइ मात्र हुन । देशभर हेर्ने हो भने यस्ता अनेकन उदाहरण छन् । हरेक निर्वाचनमा उम्मेदवारहरू भोट माग्न जान्छन्, तर पदमा पुगेपछि सोचेअनुरूप काम नहुँदा जनतामा निराशा पैदा भएको छ । त्यसैले उम्मेदवार तथा दलहरूले तडकभडक गरेर प्रचारप्रचारमा केन्द्रित हुनुभन्दा विपन्न वर्गलाई समेत समेट्ने गरेर अगाडि बढ्नु उचित हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?