मतदान केन्द्रमा जान थाले सुरक्षाकर्मी र कर्मचारी

Read Time = 5 mins

डम्मर बुढा मगर-

बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा बन्दोबस्तीका सामग्रीसहित सुरक्षाकर्मी र कर्मचारीलाई दुर्गम ठाउँहरूमा खटाइएको छ । निर्वाचनका लागि मतदान केन्द्रमा २७ गतेसम्म पुग्ने गरी सुरक्षाकर्मी र कर्मचारी खटाइएको छ । जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मतपेटिकासहितको ६१ प्रकारका सामग्री निर्वाचन अधिकृतहरूलाई धमाधम हस्तान्तरण गरिएको छ ।बागलुङको दुर्गम स्थानका मतदान केन्द्रमा खटाइएका कर्मचारीहरूले धमाधम मतदानका लागि आवश्यक मतपत्र र मतपेटिकासहितका ६१ प्रकारका सामग्री बुझाएर केन्द्रमा खटाउन थालिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुलप्रसाद शर्माले जानकारी दिनुभयो ।

‘जिल्लामा ४६० जना मतदान अधिकृत र सहायक अधिकृतहरूलाई सामग्रीसहित बुझाउन थालिएको छ, टाढाका केन्द्रका जाँदै गर्नुहुन्छ, नजिकका केन्द्रका २७ गतेसम्म पुग्नेछन्,’ सूचना अधिकारी शर्माले भन्नुभयो, ‘मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई नमुना मतदान गरेर पठाएका छौं, अन्य कर्मचारी स्थानीय पालिकाका हुन्छन्, उतैबाट खटिन्छन् ।’ मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदानस्थलमा मतदाता संख्याका आधारमा स्थानीय पालिकाका कर्मचारी र ६९० जना स्वयंसेवक गरी एक हजार ९०० कर्मचारी खटाइएको छ । मतदान केन्द्रमा एक हजार १५० कर्मचारी, १० निर्वाचन अधिकृतको कार्यालयमा ९० र ६९० स्वयंसेवक गरी एक हजार ९३० जना कर्मचारी परिचालन गरिएको छ । २३० मतदान केन्द्रमा तीनजनाका दरले ६९० जना स्वयंसेवक स्थानीय खटाइनेछन् ।

जिल्लामा निर्वाचनलाई भयरहित बनाउनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार मतदान केन्द्रमा शनिबारदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरूलाई बन्दोबस्तीका सामग्रीसहित बागलुङ बजारबाट केन्द्रतर्फ पठाइएको छ । ‘हामीले जिल्लाका १०३ मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउनका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले स्थलगत अनुगमन गरिरहेका छौं, मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेका छौं,’ ज्ञवालीले भन्नुभयो, ‘यही अनुसार फरक-फरक सुरक्षा योजना छ, त्यहीअनुसार सुरक्षाकर्मी परिचालन गरेका छौं, आइतबारदेखि मतदानस्थलको सुरक्षा दिन थालिसकेको छ, विस्तारै २७ गतेसम्म पूर्ण सुरक्षा दिन्छौं ।’

ज्ञवालीले जनताले ढुक्क भएर मतदान गर्ने वातावरण तयार गर्न कुनै कसुर बाँकी नराखिएको बताउनुभयो । जिल्लामा ७०० नेपाल प्रहरी, ९८३ म्यादी प्रहरी, सशस्त्र प्रहरी ३३० र नेपाली सेना ५५० गरी दुई हजार ५६३ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनको पूरै सुरक्षा व्यवस्थाको जिम्मा भने नेपाल प्रहरीलाई रहेको छ । म्यादी प्रहरीको सहयोगमा नेपाल प्रहरीले निर्वाचनमा सुरक्षा दिइनेछ । मतदान केन्द्रमा म्यादीसहितको प्रहरी परिचालन गरिनेछ भने बाहिरी घेरामा सशस्त्र प्रहरी खटाइनेछ । मतदानस्थल नजिकै नेपाल आर्मी परिचालन गरिनेछ ।

मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता संख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी पठाइएको छ । १० पालिका रहेको जिल्लामा बागलुङमा एक लाख ९३ हजार २२६ मतदाता, २३० मतदान केन्द्र र १०३ मतदानस्थल रहेको छ । सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुग्नेक्रम जारी रहेको छ । २८ गतेसम्म सबै मतदान केन्द्रमा कर्मचारीहरूसमेत पुग्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?