‘समुन्नत तमानखोला निर्माणका लागि मेरो उम्मेदवारी’

Read Time = 9 mins

जोकलाल बुढा मगर, अध्यक्षका उम्मेदवार, तमानखोला

बागलुङ । यतिबेला देशभर चुनावी रौनक छ । वैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा जीत आफ्नो पोल्टामा पार्न उम्मेदवारहरू चुनाव सभा तथा घरदैलो अभियानमा छन् । करेसाबारीदेखि खेतबारीसम्म पुगेर उम्मेदवारहरुले मतदाततलाई रिझाउने गरिरहेका छन् । बागलुङमा पनि यो अभियान जारी नै छ ।बागलुङको तमानखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार जोकलाल बुढा मगर पनि चुनावी अभियानमै हुनुहुन्छ । उहाँले यसभन्दा अगाडी पाँच वर्ष तमानखोलाको नेतृत्व गरेर पुनः अध्यक्षका लागि उम्मेदवार बन्नुभएको छ । नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उम्मेदवार हुनुभएका बुढा मगरले अघिल्लो कार्यकालमा तमानखोलालाई जिल्लामै उत्कृष्ट गाउँपालिकाको रुपमा दर्ज गराउन सफल हुनुभएको छ । निर्वाचन र आगामी योजनाका बारेमा तमानखोला गाउँपालिकाका अध्यक्षका उम्मेदवार जोकलाल बुढा मगरसँग हिमालय टाइम्सका बागलुङ सहकर्मी डम्मर बुढा मगरले गर्नुभएको कुराकानीको संक्षिप्त अंश-

तपाई तमानखोला गाउँपालिकाको अध्यक्ष भएर एक कार्यकाल सकाउनु भयो, फेरि पनि चुनावी मैदानमा आउनु भएको छ, तयारी कस्तो छ ?
हो म तमानखोला गाउपालिकाको अध्यक्ष भएर काम गरि पहिलो कार्यकाल सकिएको छ । फेरि दोस्रो कार्यकालको लागि बैशाख ३० गते हुने निर्वाचनमा नेपाली कांग्रेस पार्टीले फेरि अध्यक्ष पदको उमेदवारीको लागि सिफारिस गरि जिम्मेवारी दिएको छ । लोकतन्त्रको सुन्दर पक्ष नागरिकको मतदानबाट छनोट भएर नागरिक र राज्यको निम्ती काम गर्ने स्वच्छ चुनावी प्रतिस्पर्धा हो । अहिले म पाँच वर्षको कार्यसम्पादनको समिक्षा र मूल्याङ्कन गर्दै आगामी पाँच वर्षमा गाउँपालिकाको समृद्धि र विकासका योजना लिएर नागरिकको घरदैलोमा गइरहेको छु ।

तपाइलाई फेरि जनताले केका लागि जिताउने, के-के एजेण्डा लिएर मतदाता समक्ष पुग्नु भएको छ ?
समग्र तमानखोलाको आम नागरिकको समस्या, आवश्यकता पूरा गर्दै नागरिकको दुख र सुखमा साथ दिँदै तमानखोलाको परिवर्तन, विकास र समृद्धिको लागि पहिलो पाँच वर्षको कार्यकालमा थालनी गरेका कामलाई निरन्तरता दिँदै र आधारभुत विकासका कामहरू नियमित हुने नै छन । तर तमानखोला गाउँपालिकाको नागरिकको सामाजिक सुरक्षा-तमानखोलाको साझा घर निर्माण गर्न, जिविकोपार्जन र आम्दानीमा परिवर्तन, सुधार र वृद्धि गर्न (स्वरोजगार र उद्यमशिलताको विकास गर्न), स्थानीय परम्परागत सिप, अनुभव, ज्ञानलाई विज्ञान र प्रविधिसँग जोडेर खोज अनुसन्धान, विकास गर्न तमानखोला आस्वीकार केन्द्र बनाउन), तमानखोलाको शैक्षिक संस्थाहरूलाई कृषि र पशुपालन संग जोडन (विद्यालय एकिकृत कृषि संचालन गर्न) , तमानखोलाको स्रोत र साधनको पहिचान, उपयोग, प्रयोग गरि दिगो विकासको लक्ष्य प्राप्तीको लागी फेरी एक पटक मलाई तमानखोलाका मतदाताहरुले मतदान गर्नु हुनेछ भन्ने विश्वाश छ ।

पहिलो कार्यकालमा के-के गर्नु भयो ?
पहिलो कार्यकालमा समग्र तमानखोलाको वस्तु स्थितिको अवस्था पहिचान गरिएको छ । यहा अधिकांश दलित र जनजाती समुदायको बाहुल्य बसोबास भएको हुनाले शिक्षा, चेतना र क्षमताको हिसाबले तुलनात्मक रुपमा अलि पछाडि परेकाले यहाको बालबालिकाको लागि शैक्षिक गुणस्तर वृद्धि गर्न (विद्याथीहरूको अतिरिक्त कार्यक्रम, स्थानिय पाठ्यक्रम), शैक्षिक वातावरण निर्माण गर्न काम गरिरहेको छ । भने विद्यालय स्थापना भए पश्चात बनेका जीर्ण भवन लगाएत भौतिक संरचनामा पाच वर्षमा ६० प्रतिशत सुधार तथा निर्माण गरिएको छ । तमानखोलाको नागरिकको स्वास्थ्य उपचारको लागि ६ वटा स्वास्थ्य संस्था थपिएको छ । ल्याव सेवा, एक्सरे सेवा, अध्यक्ष फार्मेसी, दुइ वटा वर्थिङ सेन्टर लगाएत स्वास्थ्यको ५० प्रतिशत भौतिक संरचनाको काम गरिएको छ । तमानखोला गाउँपालिकाको नागरिकलाई स्वच्छ खानेपानीको लागि एकघर एकधाराको अभियानमा ८० प्रतिशत खानेपानीको काम भएको छ । करिब १३०० धारा निर्माण गरिएको छ । तमानखोला गाउपालिकाको वडा, बस्तीहरुमा कच्ची सडक सञ्जाल जोड्न करिब १३५ किमी सडक विस्तार गरि सवै वडा र टोलमा सडक जोडने काम भएको छ । पर्यटन क्षेत्रको पहिचान, पुर्वाधार निर्माण तथा विकासका काम भएको छ । तमानखोला गाउँपालिकाका किसानहरू आन्दानी र आयआर्जनसंग जोडेर व्यावसायिक, आधुनिक, यान्त्रीकरण गरि कृषि तथा पशुपालनको काममा विकास तथा टेवा पुग्ने काम गरिएको छ । तमानखोला गाउपालिकाको युवा र महिलाहरुलाई उद्यमी, व्यवसायी बनाउन तालिम, सहयोग, विकास गरिएको छ ।

अघिल्लो पटक कांग्रेस एक्लै चुनावमा होमिदा पनि तपाइले जित्नु भएको थियो, यस पटक पाँच दलीय गठबन्धन छ, गठबन्धनमा कत्तिको विश्वास छ ?
देशै भरि, जिल्ला भरिको नौ वटा पालिकामा गठबन्धनको समिकरणबाट निर्वाचनमा होमिएको बेला तमानखोला गाउँपालिकाको राजनीति अलि पृथक बनिरहेको छ । यो पालिकाका सबै क्रियाशिल दलहरू सिंगल–सिंगल स्वच्छ प्रतिस्पर्धा चुनावी मैदानमा छौँ । यो पालिकामा गठबन्धन गरिएको छैन ।

तपाईले चुनावे जित्ने आधार के हो ?
तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसको बलियो संगठन हो । इमान्दार, जुझारु, सक्रिय नेता कार्यकर्ता पनि आधार हो । त्यस्तै यहाँका नागरिक, मतदाताहरू धेरैले लोकतन्त्रमा विश्वास गर्दछ । पहिलो कार्यकालमा सुशासन, जवाफ देहिताका साथ तमानखोलाको आम नागरिकको दुख , सुखमा साथ दिँदै समस्या, आवश्यकता र समग्र तमानखोलाको विकास र समृद्धिको लागि गरेको कार्यसम्पादनको मूल्याङकनको आधारमा पनि यो पटक फेरी तमानखोला गाउपालिकामा नेपाली कांग्रेसको जित सुनिश्चित छ ।

फेरि तमानखोलाको अध्यक्ष बन्नुभयो भने के-के गर्ने योजना बनाउनु भएको छ ?
तमानखोला गाउँपालिकाको नागरिकको समस्या, आवश्यकताको समाधान गर्दै, तमानखोला गाउँपालिकाको विकास, समृद्धिको लागि दिगो विकासको काम पहिलो कार्यकालमा सुरुवात गरेको छु । ति योजनालाई पूरा गर्दै यहाँका जनताको आधारभूत आवश्यकताको परिपूर्ति गर्ने लक्ष्य छ । पहिलो कार्यकालमा नीति नियम र योजनाको थालनी भइसकेको हुँदा अब जनताको गुनासो, आवश्यकतालाई शिरोधार्य गरेर अगाडी बढ्ने छु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?