भावना अवस्थी/हिटा
काठमाडौं । सपनाको नगरी राजधानी काठमाडौं । देशको राजधानी भएकैले होला, गाउँगाउँबाट मानिसहरू विभिन्न सपना बोकेर यहाँ आउने गरेका छन् । तर, राजधानी आउँदैमा सबै सपना पूरा हुने होइनन् । यहाँ भित्रका दुःखका कथा बेग्लै छन् । राजधानी आउने प्रायजसो व्यक्ति कामकै लागि आउने गरेका छन् । कसैले राम्रो ठाउँमा काम पाए पनि अधिकांशको काम भने दुःखपूर्ण रहने गरेको छ । त्यसमा उनीहरूको पढाइ र भाषाले पनि फरक पार्ने गरेको हुन्छ ।
व्यावसायिक फर्म तथा पसलहरूमा काम गर्नेहरू अत्यन्तै कम ज्यालामा काम गर्न बाध्य छन् । विभिन्न सपना पछ्याउँदै घर छोडेर शहर पस्नेहरू निकै कम ज्यालामा काम गर्दा चर्को मारमा पर्ने गरेका छन् । तथ्यांकहरू हेर्दा केही सरकारी क्षेत्र, बैंकिङ क्षेत्र र अन्य केही औपचारिक क्षेत्रमा काम गर्नेबाहेक धेरै युवाहरू अत्यन्तै थोरै पारिश्रमिकमा काम गर्न बाध्य छन् । जसका कारण उनीहरूको आम्दानीले दैनिकी नचल्ने हुन्छ ।
काठमाडौंको न्युरोड, असन, दरबारमार्ग लगायतका व्यापारिक क्षेत्रमा विभिन्न व्यापारिक फर्म र पसलहरूमा काम गर्ने अधिकांशले महिनाभरि काम गरेको आम्दानीले दैनिकी धान्न धौ धौ पर्ने गरेको गुनासो गर्छन् । न्युरोड दरबारमार्ग लगायतका व्यापारिक क्षेत्रका पसलमा काम गर्नेहरूमध्ये अधिकांशले सात देखि १२ हजारसम्म मासिक आम्दानी गर्ने गरेको सुनाए । उनीहरू सबैजसो काठमाडौमै डेरा गरी बस्ने हुँदा डेराको भाडा, मासिक खाद्यान्न, पढाइ खर्च सबै गर्नका लागि रकम नै नपुग्ने पीडा व्यक्त गर्छन् ।
असनको कपडा पसलमा काम गर्ने रोशनी तामाङले भन्नुभयो, ‘पैसा देख्दा त काम नगरमझैँ लाग्छ, तर काम नगरी यत्ति पैसा नि कसले दिन्छ ।’ यसैगरी, न्युरोडमा रहेको एक मोबाइल पसलमा काम गर्ने सिन्धुपाल्चोकका धिरज लामिछाने भन्नुहुन्छ, ‘यो पैसा त गाडीभाडामै सकिन्छ, अरू के गर्ने काम पनि त मिल्दैन ।’
न्युरोडकै चोखाछेगल्लीमा रहेको पसलमा काम गर्ने सुनिता गिरीले पनि उस्तै व्यथा सुनाउनुभयो, उहाँ भन्नुहुन्छ, ‘कहिलेकाहीँ भोकै बस्नुपर्छ, आको पैसा कोठाभाडामै ठिक्क हुन्छ’ इन्द्रचोकको पसलमा काम गर्ने सीता थापाले पनि महिनाभरिको कमाइले महिना धान्न निकै गाह्रो हुने बताउनुभयो ।
सरकारले श्रमिकहरूको तलब मासिक १३ हजार ४५० निर्धारण गरेको छ भने दैनिक ५१७ रुपैयाँ तोकिदिएको छ । यसअनुसार उनीहरू दैनिक आठ घण्टा काम गर्नुपर्छ । तर, त्यसरी काम गर्नेहरूमध्ये अधिकांशले दैनिक १०/१२ घण्टा काम गर्ने तर, ज्याला भने सरकारले तोकेको भन्दा निकै कम पाउने गरेका छन् । विभिन्न तथ्यांकअनुसार अहिले वार्षिक पाँच लाखको हाराहारीमा युवाहरू काम गर्न योग्य भएर बजारमा आउने गर्छन् । उनीहरू अधिकांशले स्वदेशमा काम नपाएर औसतमा २५ देखि ५० हजार कमाउनकै लागि खाडी पस्छन् भने कैयौँले बाध्य भएर निकै कम पारिश्रमिकमा काम गर्ने गरेका छन् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच