अवसर पाए बदलिन्छन् बहिरा

Read Time = 17 mins
A A- A+

राधिका बुढाथोकी/हिटा
सिन्धुली । सिन्धुली दुधौली नगरपालिका-३ खुट्टेपानीका १० वर्षीय श्यामबहादुर हायु कान सुन्नुहुन्न । कान सुन्ने बालबालिकालाई पढाउने विद्यालयको पढाई बुझ्नु हुँुदैन । घरायसी काम पनि सिकाउन नसकिएको बुबा तिलकबहादुर हायु बताउनुहुन्छ । ‘दाइ पढ्न जान्छ, यो एक्लै कताकता हिँड्छ, पढाएर केही सीप सिकाइ दिन पाए गरिखाने थियो होला,’ उहाँले गुनासो पोख्दै भन्नुभयो । आमा मनमाया हायुले सुन्न र बोल्न नसक्ने समस्या भएका बालबालिकालाई पढाउने छुट्टै विद्यालय हुन्छ भन्ने सुने पनि पढाउन नसकिएला भनेर त्यस्तो विद्यालयको खोजी नगरेको बताउनुभयो । ‘दाउरा बेचेर गुजारा चलाइरहेको छौँ, यसको लागि केही गर्न सकिएन,’ उहाँले आवाज दबाउँदै सुस्त स्वरमा भन्नुभयो ।

श्यामबहादुर जस्ता बहिरा अपांगता भएका कति बालबालिकाहरू विद्यालय बाहिर छन् ? यसको यकिन तथ्यांक कुनै निकायसँग छैन । शिक्षा पाउनु सबै बालबालिकाको अधिकार हो । संविधानको धारा ३१ (४) मा भनिएको छ, ‘दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपांगता भएका नागरिकलाई सांकेतिक भाषाको माध्यमबाट कानूनबमोजिम निःशुल्क शिक्षा पाउने हक हुनेछ ।’
यस्तै, ‘समावेशी शिक्षा नीति २०७३’ मा अपांगता भएका नागरिकका लागि आवश्यकता आधारित गुणस्तरीय जीवन पर्यन्त शिक्षा सुनिश्चित गरिने कुरा उल्लेख छ । अपांगता भएका बालबालिकाका लागि सबै तहमा समावेशी, गुणस्तरीय शिक्षाका अवसरहरूमा समतामूलक पहुँच सुनिश्चित गर्ने सरकारी नीति भए पनि त्यस्ता कतिपय बालबालिका विद्यालय बाहिर रहेका अपांगताको क्षेत्रमा २० वर्षदेखि क्रियाशील अधिकारकर्मी बबिता थापाले बताउनुहुन्छ । ‘अपागंता भएका बालबालिका घरमा छानोको ओतबाहेक केही पाउँदैनन्, शिक्षामा पहुँच छैन’, उहाँ भन्नुहुन्छ ।

सांकेतिक भाषामा पढाइ हुने जिल्लाको एक मात्र विद्यालय
शनिबार केही बालबालिकाहरू होस्टेलमा पढ्दै थिए, कोही प्रांगणमा छरिएर खेल्दै थिए । यो दृश्य कमलामाई नगरपालिका–६, जसेदमार सिन्धुलीस्थित श्री नवज्योति बहिरा माध्यमिक विद्यालय, जसेदमारकोे हो ।

सुनाई र बोलाइसम्बन्धि अपागंता भएका बालबालिकालाई शिक्षा दिने उद्देश्यले २०६० सालमा स्थापना भएको विद्यालयमा १६ जिल्लाका बहिरा अपांगता, बौद्विक अपांगता र बहुअपांगता भएका बालबालिकाहरू अध्ययन गरिरहेका छन् ।

महोत्तरीका आरुसी विक, सोनिया विक र रोहन विक सुनाई र बोलाईसम्बन्धी अपांगता भएका एकै परिवारका सन्तान हुन् । पारिवारिक अवस्था दयनीय छ । विद्यालय होस्टेलमा बसेर पढ्न पाउँदा खुसी लागेको उहाँहरू बताउनुहुन्छ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-४ तीनकन्याका ३१ बर्षीय लिलाबहादुर तामाङ र १४ वर्षीया भगवती तामाङ (दाजुबहिनी) बौद्धिक तथा सुनाइसम्बन्धी अपांगता हुनुहुन्छ । दाजु पाँच कक्षा र बहिनी चार कक्षामा पढ्नुहुन्छ । कमलामाई नगरपालिका-१२, जरायोटारकी ११ बर्षीया गंगा कार्की र दुधौली नगरपालिका-१, भलुवाहीकी १७ वर्षीया रिमा लुङगेली बुबाआमा वितेर साहाराविहीन भएदेखि यसै विद्यालयको होस्टेलमा बसेर अध्ययन गरिरहनु भएको छ । यस विद्यालयमा सिन्धुली, महोत्तरी, ललितपुर, मकवानपुर, धादिङ, सोलुखुम्बु, दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर, सिराह, रौतहट, सर्लाही, धनुषा र सप्तरीका १५० जना बालबालिकाले अध्ययन गरिरहेका छन् ।

बाल विकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने आवाससहितको विद्यालयमा २१ जना कर्मचारी छन् । २०६४ सालबाट होस्टेल सुरु गरेको विद्यालयले बिरामी हुँदा उपचार खर्च, विदामा घर जाँदा गाडीभाडा समेतका सेवा प्रदान गर्दै आएको १६ वर्षदेखि विद्यालयमा कार्यरत शिक्षक तथा प्र्रधानाध्यापक विजय तामारूले जानकारी दिनुभयो । उहाँकाअनुसार यस विद्यालयमा विपन्न वर्ग, पछाडी परेका मजदुर र किसानका बहिरा तथा बहूअपागंता भएका बालबालिकाहरू पढ्न आउँछन् ।

विशेष विद्यालयलाई सरकारको बेवास्ता
‘बालबालिका बिरामी भइरहन्छन्, राति ३० मिनेटको बाटो कुदाएर अस्पताल धेरैपटक लैजान परेको छ, विद्यालयका प्रधानाध्यापक तामाङले भन्नुभयो, ‘यो विशेष विद्यालयलाई सरकारले एकजना नर्सको व्यवस्था गरिदिए सहज हुने थियो ।’

हरेक विद्यालयमा एक नर्सको व्यवस्था गर्ने सरकारको नीति छ । विद्यालय तहमा विद्यार्थीहरूको समग्र स्वास्थ्य, सरसफाई, पोषण, मानसिक स्वास्थ्य, किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य प्रवर्धन गर्ने तथा सरुवा र नसर्ने रोग रोकथामबारे जानकारी गराई स्वस्थ जीवनयापन अपनाउन उत्प्रेरित गर्न बागमती प्रदेश सरकारले ‘एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ बनाएको छ । तर, जिल्लाको एक मात्र विशेष विद्यालयमा यो कार्यक्रम कार्यान्वयन नहुँदा विद्यार्थी तथा शिक्षक समस्यामा छन् ।

बहिरा र बोल्न नसक्ने बालबालिका सांकेतिक भाषाको माध्यमबाट संवाद गर्दछन् । अँध्यारोमा संवाद गर्न सक्दैनन्, उज्यालो चाहिन्छ । विद्युत्को भर हुँदैन, कहिले, कत्तिखेर, कुन अवस्थामा जान्छ भन्ने टुंगो हुँदैन । विद्यालयमा वैकल्पिक ऊर्जाको व्यवस्था छैन । भौतिक पूर्वाधार भवन, विद्यालय घेराबेरा, खानेपानी, राम्रो खेल मैदान, खेलकुद सामग्री, शौचालय जस्ता कुराहरूको अभाव विद्यालयले भोग्दै आएको छ ।

काम लागेन कोभिड कालको वैकल्पिक सिकाइ
कोरोना कहरको अवधिमा सांकेतिक भाषाको माध्यमबाट अध्ययन गर्ने अपांगता भएका बालबालिकाले सिकाईलाई निरन्तरता दिन पाएनन् । सरकारले विद्यालयमा भौतिक उपस्थितमा नपढाउन र नपढ्न भनेको थियो । कान सुन्ने र बोल्ने बालबालिकाका लागि रेडियो, टेलिभिजन, अनलाइनलगायत सामाजिक सञ्जालमार्फत पर्याप्त वैकल्पिक सिकाइ सामग्री प्रकाशन, प्रसारण गरियो । सांकेतिक भाषाबिना पढ्न नसक्ने बालबालिकाका लागि त्यो खालको सिकाइ सामग्री भएन । सहायक प्रधानध्यापक दुर्गा भुजेलले भन्नुभयो, ‘हाम्रा विद्यार्थी सुन्न, बोल्न सक्दैनन्, भौतिक उपस्थितिमा पठनपाठन गराउँदा समस्या हुने बालबालिकालाई यस्ता वैकल्पिक माध्यमबाट पढाउन सम्भावना भएन ।’

बहिरा संघ सिन्धुलीका अध्यक्ष तथा नवज्योति बहिरा विद्यालयका शिक्षक घनबहादुर थापाले सांकेतिक भाषामा सीमित शब्दसंकेत भएकाले पाठ्यक्रम र पाठ्यपुस्तकमा समेटिएका विषयवस्तुबारे बुझाउन र विद्यार्थीलाई बुझ्न समस्या भइरहेको बताउनुभयो । राष्ट्रिय बहिरा महासंघले प्रकाशन गरेको ‘नेपाली सांकेतिक भाषा शब्दकोश’ मा चार हजार ७०० हस्ताकारमा आधारित शब्द समेटिएका छन् ।
विशेष विद्यालय र अन्य विद्यालयका समस्या र बालबालिकाका कठिनाइहरू असमान छन् । सोहीअनुसार विधि र व्यवस्था लागू नगरेर अपांगता भएकाहरू माथि राज्यले ठूलो अपराध गरेको विद्यालयका प्रध्यानाध्यापक विजय तामाङले जिकिर गर्नुभयो । ‘विशेष विद्यालयमा पढाउनका लागि विशेष पाठ्यक्रम तयार गर्ने र परीक्षाको प्रश्नपत्र पनि छुट्टाछुट्टै हुनुपर्छ,’ उहाँले सुनाउनुभयो ।

शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख शान्तिराम पौडेलले अपांगता भएका बालबालिकाहरूका लागि परीक्षा मोडालिटी फरक गर्नुपर्ने माग र आवश्यकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका लागि केन्द्रीय नीतिगत कुराहरू हुन्छन्, जिल्ला तहका परिवर्तन गर्न सक्दैनाँै, हामीले केन्द्रीय नीतिमा जे छ, त्यही गर्नुपर्ने हुन्छ ।’

प्रारम्भिक बाल शिक्षादेखि उच्च शिक्षासम्म पाठ्यक्रम, पाठ्यपुस्तक, सिकाइ सामग्री, सन्दर्भ सामग्रीहरू र परीक्षा तथा मुल्यांकन प्रणाली अपांगता अनुकूल हुने गरी सुनिश्चित गरिने छ,’ (७.१) समावेशी शिक्षा नीतिमा लेखिएको छ ।

शिक्षामा लम्किएका बहिरा चम्किँदै
सुनकोसी गाउँपालिका-६, अमारेका घनबहादुर थापा पहिला स्पष्टसँग बोल्नुहुन्थ्यो । कान मज्जाले सुन्नुहुन्थ्यो । नौ वर्षको उमेरमा दुवै तीरको कान मुनी हाडे निस्कियो । ज्वरो आयो, टाइफाइड भयो । कानले सुन्ने शक्ति गुमाए । कैयौँ अस्पताल धाउनुभयो, औषधी खानुभयो । सुन्न र स्पष्ट बोल्न सक्नुभएन । ‘गाउँमा देख्ने र भेट्ने जत्तिले लाटो, बहिरो भनेर जिस्काउँथे । साथीहरूसँग पढ्न स्कुल जान खोज्दा आमाबुबाले रोक्नुहुन्थ्यो, भागेर स्कुल जाँदा शिक्षकले मुख चलाएको आँखाले हेर्नुहुन्थ्यो तर, केही बुझ्नुहुन्थ्यो । साथीहरू गिज्याउँथे । म रुँदै घर फर्किन्थँे,’ थापाले भनेर नसकिने ती दुखदायी र पीडादायी दिनहरू सम्झिनुभयो । बहिरा भएको दुई वर्ष त्यसैगरी वितेको उहाँले सुनाउनुभयो ।

धेरै पढ्ने र राम्रो जागिर खाने उहाँको चाहाना थियो । बाहाना बन्यो, सांकेतिक भाषाको माध्यमबाट पढाइ हुने नवज्योति बहिरा माध्यमिक विद्यालयमा पढ्ने । चार कक्षा गाउँमा पास गर्नुभएको उहाँले १२ वर्षको उमेरमा एक कक्षामा भर्ना हुनुभयो । विद्यालयले आवाससहित निःशुल्क पढ्ने वातावरण दिएपछि अवसर र सम्भावनाका ढोकाहरू खुल्न थाले । उहाँले कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गर्नुभयो । इन्डिया गएर सांकेतिक भाषामा ६ महिने आइटी तालिम लिनुभयो । अहिले उहाँ १२ कक्षामा पढ्दै पनि हुनुहुन्छ ।

आफूले पढेको विद्यालयमा नै १० कक्षासम्म कम्प्युटर विषय पढाउनुहुन्छ । उहाँको मिनलसार व्यवहार सबैजना शिक्षक मन पराउँछन् । विद्यार्थी पनि खुशी हुन्छन् । ‘यही विद्यालयलाई राम्रो बनाउने, सकेको योगदान गर्ने र आफू जस्ता बहिरा बालबालिकाको शिक्षा अधिकार सुनिश्चत गर्ने उहाँको चाहना छ । बहिरा संघ, सिन्धुलीको अध्यक्षसमेत रहनुभएका थापाले आफ्नो संघर्ष बहिरा अपागंताको अधिकारका निमित्त हुने बताउनुभयो ।

थापाको जीवन बदलिएको छ । समाजले हेर्ने दृष्टिकोण बदलेको छ । पहिला हेप्नेहरू उहाँको प्रगती देखेर छक्क पर्छन् । लाटो भनेर हेप्नेहरू सीर निहुराउँछन् । ‘बहिरा क्षेत्रमा काम गरिरहेको छु । अपांगता थिए, शिक्षाले सपागं बनायो मलाई, अरु बहिराहरूलाई पनि यस्तै बनाउनुपर्छ भनेर लागि परिरहेको छु,’ उहाँले भन्नुभयो ।

आफू जस्तैसँग घरजम
सुनाइ र बोलाइसम्बन्धी अपांगता भए पनि सामाजिक व्यक्तित्व र सफलताका कारण श्रवण शक्ति राम्रो भएकी केटीलाई विवाह गर्नु भन्ने कुरा नआएको होइन । परिवार र सामाजका व्यक्तिहरूले पनि कान सुन्नेसँग विवाह गर्नुपर्छ भनेर जोड गरेका थिए । उहाँले आफू जस्तै कान नसुन्ने पूजा रायमाझिसँग विवाह गर्नुभयो ।

‘सबैले कान सुन्नेसँग विवाह गर्नुपर्छ भनेर केटी पक्षको कुरा ल्याउनु हुन्थ्यो’ उहाँले भन्नुभयो, अचानोको पीडा खुकुरीले नबुझैँ मलाई पनि अरुले नबुभ्mलान भनेर आफँै जस्तोसँग विवाह गरे ।’

पूजा १२ कक्षामा पढ्दै हुनुहुन्छ । ‘पाँच महिना भयो विवाह भएको, अहिलेसम्म हामी दुवै एकअर्का प्रति खुशी छौँँ,’ पुजाले भन्नुभयो, ‘उहाँ जस्तो जीवन साथी पाउनु मेरो लागि पनि खुशीको कुरा हो ।’ श्रीमान् जसरी बहिराको हक अधिकारको क्षेत्रमा काम गर्ने र बहिरा बालबालिकालाई सांकेतिक भाषाका माध्यमबाट नाच्न सिकाउने उहाँको लक्ष्य छ ।

अपांगता हुनु एउटा अवस्था हो । अवसर र अनुकुल वातावरण पाए भने उनीहरूले जे जस्तो पनि कार्य गर्न सक्छन् । यसैको एक साक्षी हुनुहुन्छ, शिक्षक तथा बहिरा संघका अध्यक्ष थापा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?