रसुवाको आठ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत

Read Time = 3 mins

रसुवा । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि रसुवाको आठ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका छन् । जिल्लाको पाँच वटा स्थानीय तहमा तोकिएका मतदान केन्द्रहरू मध्ये ८ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी महिलाले पाएका हुन् ।

जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २ सय ५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जसमध्ये जिल्लाको कालिका गाउँपालिकामा एक, गोसाईंकुण्ड गाउँपालिकामा पाँच र आमाछोदिङ्मो गाउँपालिकामा एक जना गरी आठ जना महिला मतदान अधिकृतको जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कालिका गाउँपालिकाको कालिका हिमालय क्याम्पस क मतदान केन्द्रमा मतदान अधिकृतको रूपमा कुमारी सरिता जोशी खटिनुभएको छ । आमाछोदिङ्मो गाउँपालिकाको पार्वतीकुण्ड मावि गोल्जुङ मतदान केन्द्रमा सिता गुरुङ मतदान अधिकृतको रूपमा खटिनुभएको छ ।

उत्तरगया गाउँपालिकाको भूमिदेवी मा।वि। ठूलोगाउँ क केन्द्रमा ज्ञानु थापा मगर मतदान अधिकृतको रूपमा खटिनुभएको छ । गोसाईंकुण्ड गाउँपालिकाको वडा नम्बर १ थुमन मतदान केन्द्रमा आकृति पन्थी, नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे मतदान केन्द्रमा शर्मिला कार्की, वडा नम्बर ५ स्याफ्रुबेशी ख मतदान केन्द्रमा सम्झना क्षेत्री, गाउँफर्क राष्ट्रिय प्राथमिक विद्यालय बोकेझुण्डा मतदान केन्द्रमा सिता बेलबासे र रसुवा माध्यमिक विद्यालय धुन्चे मतदान केन्द्रमा गीता पोखरेल मतदान अधिकृतको रूपमा खटिनुभएको छ ।

महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उहाँहरूलाई जिम्मेवारी दिइएको उहाँले बताउनु भयो । महिला मतदान अधिकृत तोकिएका यी मतदान केन्द्रमा सहायक मतदान अधिकृतमा पुरुष समेत रहेका छन् ।

त्यसैगरि १५ वटा मतदान केन्द्रमा सहायक मतदान अधिकृतको रूपमा महिला खटिएका छन् । महिला सहायक मतदान अधिकृत तोकिएका केन्द्रमा मतदान अधिकृत पुरुष पनि रहेका छन् ।

तस्विरः गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १ थुमन मतदान केन्द्रमा,मतदान अधिकृत आकृती पन्थी मतदाता परिचयपत्र वितरण गर्दै

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?