स्थानीय तहको निर्वाचनको मतदान आज हुँदै, एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा

Read Time = 8 mins

गोविन्द लुइँटेल/हिटा
काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आज (शुक्रबार) मतदान हुँदैछ । शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य हुनेछ । ०७२ सालमा संविधान जारी भएपछि स्थानीय तहको निर्वाचन दोस्रोपटक देशभर एकै चरणमा हुन लागेको हो । ०७४ सालमा तीन चरणमा गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

७५३ वटा स्थानीय तहमा ३५ हजार २२१ पदका लागि हुन लागेको निर्वाचनमा जम्मा एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका छन् । पाँच वर्ष अगाडिको स्थानीय तहको निर्वाचनमा जम्मा एक लाख ४८ हजार २२१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । शुक्रबारको निर्वाचनमा ६५ दल तथा स्वतन्त्र गरी उक्त संख्यामा उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बिहीबार आयोगले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । निर्वाचनका लागि म्यादी, सशस्त्र, नेपाल प्रहरी तथा नेपाली सेनासमेत गरी दुई लाख ६५ हजारको हाराहारीमा परिचलान गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रमा उक्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदानस्थल सुरक्षाका लागि तीन तहको सुरक्षा व्यवस्था गरिएको छ । पहिलो घेरामा म्यादी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा जनपथ र अन्तिम घेरामा नेपाली सेनासमेत परिचालन गरिएको छ । मतदानस्थल र केन्द्रहरूको गस्ती सेनाले गर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले आवश्यक वातावरण बनाउन सम्बन्धित सबै निकायलाई अनुरोध गरेको छ । निर्वाचनलाई ६८ वटा संस्थाका करिब ६ हजार पर्यवेक्षकले पर्यवेक्षण गर्नेछन् ।

बदर मत बढ्ने चिन्ता
आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ वटा निर्वाचन अधिकृतको कार्यालय, सात वटा प्रदेश निर्वाचन कार्यालय र ७० वटा जिल्ला निर्वाचन कार्यालयलाई मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृृत्वमा खटिने मतदान टोलीबाट मतदाता शिक्षा दिइएको छ । आयोगले उपलब्ध गराएका नमुना मतपत्र लगायतका पोष्टर, ब्रोसर आदि छपाइ सामग्रीहरूको माध्यमबाट मतदान गर्ने सही तरिका स्वयंसेवकमार्फत दिए पनि जटिल मतपत्रका कारण मतदानबारे मतदातामा अन्यौलता कायम देखिन्छ । यस पटकको निर्वाचनमा मतपत्रको सबैभन्दा ठूलो लहर ५६ छ भने सानो १८ लहरको छ । आयोगले २३ किसिमका मतपत्र छपाइ गरेको जनाएको छ ।

मतदाता शिक्षा प्रभावकारी नहुँदा बदर मत बढ्ने चिन्ता बढेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा बदर मत तीनदेखि १० प्रतिशत थियो । सबैभन्दा सानो १८ लहर र ठूलो ६८ लहरको मतपत्र थियो । ठूलो आकारको मतपत्र र मतदाता शिक्षा अपर्याप्तताका कारण बदर मत उच्च हुन पुगेको थियो ।

शुक्रबार मतदानको दिन वर्षा हुने सम्भावनासमेत देखिएको जनाउँदै मतदान र मतगणना कार्य प्रभावित नहुने गरी गर्न र निर्वाचन सामग्री समेतको सुरक्षा गर्न निर्वाचन आयोगले सम्बद्ध निकायलाई पाल तथा उचित प्रबन्ध गर्न निर्देशन दिएको जनाएको छ ।

मतदान सकिएलगत्तै शुक्रबारै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतसम्म मतदान गरिएका बाकस संकलन भएपछि मात्रै मतगणना प्रारम्भ हुनेछ । मतगणनालाई पारदर्शी र विश्वसनीय बनाउन आयोगले मतगणनास्थलमा सिसी क्यामेरा जडान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । तर, जम्मा ५०६ वटा स्थानीय तहमा मात्रै सिसी क्यामेरा जडान भएको आयोगले जनाएको छ । बाँकी स्थानको मतगणना कार्यको पारदर्शीता र विश्वसनीयताका बारेमा कुनै विकल्प अपनाइएको छैन ।

स्थगित भएका स्थानमा जेठ ३ गते मतदान हुने भएको छ । उम्मेदवारको मृत्यु भएपछि १० विभिन्न स्थानमा निर्वाचन कार्यक्रम स्थगित भएको थियो । ती स्थानमा जेठ ३ का लागि मतदान कार्यक्रम तय भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरीको हरिनगर गाउँपलिका-६ को दलित महिला सदस्य, रौतहटको वृन्दावन नगरपालिका-५ मा महिला सदस्य, मोरङ केरावारी नगरपालिका-२ मा वडा सदस्य, कपिलवस्तु बुद्धभूमि नगरपालिका-८ को वडा अध्यक्ष, रुपन्देही मर्चवार गाउँपालिका-३ को दलित महिला सदस्य, कपिलवस्तु नपा-१० मा महिला सदस्य, सिराहा नगरपालिका-५ को वडा सदस्य, कपिलवस्तु महारागञ्ज नगरपालिका उपप्रमुख र दाङ तुलसिपुर नगरपालिका–१७ मा वडा अध्यक्षको निर्वाचन जेठ ३ मा हुन लागेको हो ।

एक हप्ताभित्रै मत परिणाम आइसक्ने
आयोगले यसपटकको मतगणना कार्य पनि छिटो र छरितो रूपमा सम्पन्न गर्ने रणनीति बनाएको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा ११ दिन बढी समय मतगणनाकै लागि खर्चिएको थियो । यसपटक पनि निर्वाचनमा भाग लिने दलको संख्या तथा मतपत्रको आधारमा समान भए पनि करिब एक हप्ताभित्रै काठमाडौं महानगरपालिकाको मतगणना कार्य पनि सम्पन्न गरिने आयोगको भनाइ छ । समयमै मतगणना सम्पन्न गर्न सबै वडाको एकैपटक सुरु गर्ने व्यवस्था गर्न मुख्य निर्वाचन अधिकृतहरूलाई आयोगले सुझाइसकेको छ । ‘एकैपटक सबै वडाको मतगणना गर्दा प्रमुख र उपप्रमुखको मतपरिणाम एकै चरणमा आउँछ । राजनीतिक दलहरू सबै वडाको मतगणना गर्नका लागि भने तयार हुनुपर्छ ।’ सहायक प्रवक्ता अर्यालले भन्नुभयो । मतगणनालाई विश्वनीय, छिटो, छरितो बनाउने जिम्मा मुख्य निर्वाचन अधिकृतको रहे पनि त्यसका लागि राजनीतिक दलको साथ सहयोग आवश्यक पर्ने अर्यालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?