भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा

Read Time = 3 mins

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने हुनुभएको छ । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उहाँ लुम्बिनी आउन लाग्नुभएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्नुहुने भएको हो । परराष्ट्र मन्त्रालयले बिहीबार मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो ।

मोदीको भारतीय प्रधानमन्त्रीको रूपमा गर्न लागेको यो पाँचौँ नेपाल भ्रमण हो । लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘भारतीय प्रधानमन्त्रीको आसन्न भ्रमणले द्विपक्षीय सम्बन्ध तथा दुई देशबीच सदियौंदेखि रही आएको सामाजिक–सांस्कृतिक सम्बन्ध अझ विस्तार गर्न योगदान पुर्‍याउनेछ’, परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री मोदीे दिल्लीबाट सिधै लुम्बिनीमा आउनुहुनेछ ।

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । लुम्बिनीमै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरूमा छलफल हुने परराष्ट्रले जनाएको छ । यसैगरी, प्रधानमन्त्री देउवाले समकक्षी मोदी र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ । भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा २०७९ चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जानुभएको थियो । भ्रमणमा उहाँले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । भारतीय विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै मोदीको भ्रमणलाई नियमित उच्चस्तरीय भ्रमणको आदानप्रदानको परम्पराको निरन्तरता भनेको छ । फाइल तस्बिर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?