चुनावलगत्तै इन्धनको मूल्य बढाउने तयारी

Read Time = 3 mins

काठमाडौं । स्थानीय तहको निर्वाचनका कारण पेट्रोलियम पदार्थको खपत आकाशिएको छ । निर्वाचनका कारण पेट्रोलियम खपतमा ४० प्रतिशतले वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । सामान्य अवस्थामा दैनिक २२ सयदेखि २५ सय किलोलिटर बिक्री हुने पेट्रोल निर्वाचन प्रक्रियासँगै ३५ सय किलोलिटरसम्म र सामान्य अवस्थामा दैनिक ५५ हजार किलोलिटरदेखि छ हजार किलोलिटरसम्म बिक्री हुने गरेको डिजेल ७५ सय किलोलिटरदेखि आठ हजार किलोलिटरसम्म पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी गराउनुभएको छ । उपाध्यायका अनुसार दैनिक ४० प्रतिशतसम्म पेट्रोलियम खपतमा वृद्धि हुँदा निगमको नोक्सानीसमेत बढ्न थालेको छ । मट्टितेल र हवाई इन्धनको खपत भने सामान्य नै रहेको छ ।

भारतीय आयल कर्पाेरेसन (आइओसी) बाट पेट्रोलियमको मूल्य बढेर आउने नेपालमा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण थेग्नै नसक्ने गरी घाटा बढेको निगमको भनाइ छ । वैशाख १८ गते अर्थात् मे १ तारिखमा आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धन तथा मट्टितेल र खाना पकाउने एलपी ग्याँसको मूल्य बढेको छ । जसका कारण १५ दिनको अवधिमा पाँच अर्ब १९ करोड बढी घाटा हुने निगमको दाबी छ । बढेर आएको पछिल्लो मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैयाँ दुई पैसा, डिजेलमा ४० रुपैयाँ १३ पैसा, खाना पकाउने एलपी ग्याँस सिलिन्डरमा एक हजार ५० रुपैयाँ १८ पैसा घाटा हुनेछ । यसरी घाटा चुलिँदै गएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनलगत्तै मूल्य बढाउने निगमको तयारी छ ।
विगतमा आइओसीले पठाएको नयाँ मूल्यसूचीका आधारमा निगमले हरेक १५ दिनमा निगमले पेट्रोलियमको मूल्य समायोजन गर्दै आएको भए पनि हाल निर्वाचनका कारण मूल्य समायोजनले निरन्तरता पाउन नसकेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?