एक थान मुस्कानको सियोले हजारौँ च्यातिएका अभावहरू सिउनु रहेछ जीवन : साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’

कृष्ण भुसाल
Read Time = 13 mins

राजबाबु श्रेष्ठ ‘सागर’ साहित्यका विविध विधामा कलम चलाउनुहुन्छ । उहाँले गीत, कविता, कथा, मुक्तक, गजल, हाइकु र उपन्यास विधामा आफ्ना सिर्जना पाठकमाझ पस्किनुभएको छ । राजबाबुले अहिलेसम्म पाठकमाझ चारवटा कृति ल्याउनुभएको छ भने केही कृति प्रकाशनको पर्खाइमा रहेका छन् । उहाँका उपन्यास ‘बन्द फ्रेमभित्रको चिठ्ठी’, कविता संग्र्रह ‘हराएका छोराहरू’, मुक्तक संग्र्रह ‘देशको चिनो’ र गीति संग्रह ‘यादका बस्तीहरू’ पाठकमाझ आएका छन् । अनुभूति, भोगाइ र अभाव नै आफ्नो लेख्नको आधार रहेको उहाँ बताउनुहुन्छ । एक थान मुस्कानको सियोले हजारौँ च्यातिएका अभावहरू सिउनु जीवन रहेछ भन्नुहुने साहित्यकार राजबाबु श्रेष्ठ ‘सागर’ सँग हिमालय टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

अहिले के गर्दै हुनुहुन्छ ?
दोस्रो गद्य कविता संग्रहको तयारी र प्रकाशोन्मुख रहेका उपन्यासको परिमार्जन गर्ने काम गरिरहेको छु ।

साहित्यतर्फ यहाँको रुचि कहिलेदेखि सुरु भयो ?
बच्चैदेखिको नै रुचि थियो मेरो साहित्यतर्फ । जब म पाँच कक्षामा पढ्थेँ, त्यतिखेरदेखि नै म हिन्दी साहित्य पढ्ने गर्थें । त्यसैले म हिन्दी भाषा राम्ररी बोल्न र लेख्न पनि सक्दछु । खासगरी मेरो साहित्यमा जरा गाडिनु भनेको, मेरो आफ्नै बुबाका कारणले गर्दा नै हो । मेरो बुबाले विसं २०१५ सालमा नै दुई बिघा धान खेत बेचेर ‘टेकबहादुर नाटक कम्पनी’ खोल्नुभएको रहेछन् । त्यही प्रभाव ममा पनि पर्‍यो । हाम्रो गाउँमा दशैँमा नाटक खेलिन्थ्यो । जब म कक्षा आठमा पढ्थेँ, त्यहीबेला मैले लेखेको ‘प्रेम फैसला’ नाटक गाउँमा दशैँमा प्रदर्शन गरियो र आफूले नायिकाको भूमिका निभाएको थिएँ । किनकि, त्यतिखेर गाउँका छोरीहरूलाई नाटक खेल्ने स्वीकृति कसैलाई थिएन ।

पहिलो रचना के थियो ?
म चौध वर्ष हुँदा लेखिएको नाटक- ‘प्रेम फैसला’ (प्रदर्शन विसं २०४२ साल दशैँमा)

राजबाबु श्रेष्ठ ‘सागर’ को हो ?
सानो परिचय त बजारमा गीतकार, कवि, आख्यानकार र अभिनेता भनेर बनेको छ । तर, राजबाबु श्रेष्ठ ‘सागर’ एउटा आममान्छे हो र अक्षरको खेती गर्न रुचाउने एउटा साधारण किसानमात्रै हो ।

अहिलेसम्म आउँदा यहाँले बुझेको जीवन के रहेछ ?
मैले थाहा पाएदेखि अहिलेसम्म मेरो आफ्नो अनुभूतिको खास्टो ओढेर भन्ने हो भने, थोरै पाएर धेरै गुमाउनु रहेछ जीवन । अभावै अभावसँग युद्ध लड्नु रहेछ जीवन । एक थान मुस्कानको सियोले हजारौँ च्यातिएका अभावहरू सिउनु रहेछ जीवन । साँच्चै भन्नुपर्दा, मुटु नहुने क्रुर समयको लात र घुस्सा खानु रहेछ जीवन । मैले बुझेको यत्ति हो ।

यहाँले गीत, गजल, मुक्तक, हाइकुका साथै अन्य कथा, उपन्यासलगायतका विधामा कलम चलाउँदै आउनुभएको छ, यहाँको बढी लगाव कुन क्षेत्रमा अर्थात् अहिलेको बढी रुचिको विषय कुन हो साहित्यका विविध विधामध्ये ?
मैले उक्त ती विविध विधामा कलम चलाउँदै आए पनि मेरो एकदमै रुचिको विषय भनेको आख्यानमा कथा र उपन्यास नै हुन् ।

साहित्यका विविध विधामा यहाँले अध्ययन गर्न चाहिँ आफूलाई कुन विधामा बढी संलग्न गराउनुहुन्छ ?
अध्ययनकै सवालमा भन्ने हो भने यो विधा भनेर किटान गर्न सकिन्न । म आवश्यक परे जुनसुकै विधाका पुस्तकहरू अध्ययन गर्ने गर्छु, जस्तो कि, उपन्यास, वेद, बाइबल, धम्मपद, पुराण, कुरान र हदिस पनि । समय पाउँदा भने अध्ययनमा रुचि विशेष गरी उपन्यास नै हो ।

तपाईं कसका लागि लेख्नुहुन्छ  ?
मूलतः म आफ्ना लागि लेख्छु । आफ्नो सन्तुष्टिका लागि लेख्छु र सिर्जनामा म आफ्ना अनुभूति, भोगाइ र अभाव रोप्ने कोसिस गर्छु । त्यसपछि विचार, उद्देश्य, सन्देश र जीवन दर्शन उमार्ने कोसिस गर्छु । यही चार चिजहरू भने म मेरा पाठकहरूका लागि लेख्छु ।

तपाईंले लेख्ने गीतको आधार के हो  ?
अनुभूति, भोगाइ र अभाव नै मैले लेख्ने गीतका आधार हुन् ।

तपाईं आफ्ना सिर्जनामा कत्तिको कुतर्क गर्नुहुन्छ  ?
हरेक सिर्जनामा कुतर्क भन्ने हुँदैन । जस्तैः कविता, गीत र मुक्तकहरू, यी सिर्जनाहरूमा कुतर्क भन्ने हुँदै हुँदैन । मात्रै लेखकका विचार, दिशा, सन्देश र दर्शन पोखिन्छन् । तर, आख्यानमा कथा र उपन्यास यी यस्ता विधा हुन् जसमा पात्र र कुपात्र दुवै हुन्छन् । अब जुन विधामा कुपात्र हुन्छ त्यहाँ त कुतर्क त हुने नै भयो । किनकि, तर्कले तर्क काट्नुपर्‍यो । अब तर्कले तर्क काट्नुपर्दा त पात्र र कुपात्रका बीच बहस हुन्छन् नै । अब यहाँले आफैँ बुझ्नुहोस् कि कुपात्रसँग के अपेक्षा गर्न सकिन्छ । उसले तर्क गर्ने भनेको कुतर्क नै हो । अब फेरि यहाँले यो पनि बुझ्नुपर्‍यो कि कुपात्र भनेको भिलेन । अब यहाँले देख्नु नै भएको छ भिलेनको कस्तो भूमिका हुन्छ चलचित्रमा ?

यहाँले थुप्रै गीतहरू पनि रचना गर्नुभएको छ, अहिलेको नेपाली गीत-संगीतको अवस्था कस्तो पाउनुहुन्छ  ?
गीत र संगीतको अवस्था एकदमै राम्रो छ । म त यसलाई के भन्छु भने नि बिनामलका बालीजस्ता छन् ।

साहित्य लेखनका विभिन्न आयाम र धारहरू भन्ने गरिन्छ, यहाँको त्यस्तो केही छ ?
छन् । मेरा पनि आफ्नै आयाम र धारहरू छन् ।

वर्तमान नेपाली साहित्य लेखन यहाँको दृष्टिकोणमा कसरी अघि बढिरहेका छन् ?
द्रुत गतिमा दौडिरहेका छन् । कोही सिकिरहेका छन् । कोही परिमार्जित भइरहेका छन् । जेहोस् साहित्यका बीजले साहित्यकार जन्माइरहेका छन् ।

एकथरि मानिस भन्छन्- साहित्यमा यौन चाहिन्छ, अर्कोथरि साहित्यमा यौन वर्जित छ भन्छन्  । यहाँको विचारमा के होला ?
अब यो बारेमा सबैका आ–आफ्नै राय होलान् र हुन्छन् पनि । तर, मेरो विचारमा भने साहित्यमा यौन हुनैपर्छ । यौन भनेको साहित्यमा साहित्यको अलंकार हो । जसरी कवितामा उपमा, अलंकार, बिम्ब र प्रतीकबिना कविता कविता हुँदैन । हो, ठीक त्यस्तैगरी साहित्यमा पनि यौन हुनुपर्छ । यौनले साहित्यलाई कलात्मक र सुन्दर बनाइदिन्छन् जसले गर्दा पाठक रोमाञ्चित र आनन्दित हुन्छन् । यौन भनेको एउटा साहित्यको रस हो । जसरी रसबिनाको फूलको अर्थ छैन । त्यही रसका कारण भमराहरू फूलका वरिपरि नाच्दछन् । र त फूल र भमराका बारेमा कविहरू गीत र कविता लेख्छन् । तर, साहित्यमा यौन पनि पोख्ने एउटा सीमा हुन्छ । र, त्यही सीमाभित्र रहेर यौन लेखिनुपर्छ । यहाँले यो बुझ्नुहोस् कि वस्त्रभित्र सबै दिगम्बर छन् । तर, अश्लील दिगम्बर कसैलाई राम्रो लाग्दैन । त्यसैले वस्त्रले दिगम्बरलाई ढाकेर अरू अलंकारमय बनाइदिन्छ ।
जस्तो कि एउटी नग्न नारीलाई हेर्नुहोस् र सारी र ब्लाउजमा सजिएकी नारीलाई हेर्नुहोस् यहाँले आकाश र पतालको फरक पाउनुहुनेछ । अब यहाँले नग्न नारीलाई यौनमयी देख्नुभयो कि वस्त्रले सजिएकी नारीलाई यौनमयी देख्नुभयो ? म त भन्छु, सारी र ब्लाउजले सजिएकी नारी अझै बत्तीस गुणले यौनमयी देखिन्छिन् । त्यसैले म त भन्छु, साहित्यमा यौन हुनैपर्छ । यौन भनेको साहित्यको आभूषण हो । आभूषणबिनाको पनि केको साहित्य ? जब मठमन्दिर सबैतिर कलात्मक यौन मूर्तिहरू राखिएको पाइन्छ भने साहित्यमा यौन प्रयोग गर्नु गलत हो र ?

साहित्य सिर्जनामा वैचारिक महत्व कत्तिको देख्नुहुन्छ ?
साहित्य सिर्जनामा लेखकले वैचारिक पाटोलाई महत्व दिनैपर्छ । यही वैचारिक जगले नै हो पाठकहरूले लेखकलाई उनका सिर्जनाद्वारा उनका विचार, भावना र दर्शनलाई अनुभूति गर्ने ।

साहित्यिक गुट-उपगुटहरूलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?
म यसलाई सामान्यरूपमा लिन्छु । तर, जे-जस्ता भए पनि गुणस्तरलाई मध्यनजर राखिदिए हुन्थ्यो भन्ने नै हो ।

यहाँका अहिलेसम्म पाठकमाझ आएका कृति ?
अहिलेसम्म पाठकमाझ आएका चारवटा कृतिहरू छन् । विसं २०५७ सालमा साउदी अरबबाट प्रकाशित उपन्यास ‘बन्द फ्रेमभित्रको चिठ्ठी’, कविता संग्र्रह ‘हराएका छोराहरू’, मुक्तक संग्र्रह ‘देशको चिनो’ र गीति संग्रह ‘यादका बस्तीहरू’ ।

अब लेखनको कुनै योजना ? अर्थात् कस्ता कृति पाठकमाझ ल्याउँदै हुनुहुन्छ ?
अब पाठकमाझ ल्याउने कृति भनेका उपन्यास र कविता संग्र्रहहरू हुनेछन् ।

लेखनमा आउन लागेका नयाँ लेखकहरूलाई कस्तो सल्लाह दिनुहुन्छ  ?
आउनुहोस् । रमाउनुहोस् । आफूलाई तिखार्दै जानुहोस् । समाउनुहोस् साहित्यका हातहरू र यात्रा गर्नुहोस् जीवनको अन्त्यसम्म र कृतिशेष रहनुहोस् । म नवलेखकहरूलाई यही शुभकामना दिन चाहन्छु ।

अन्त्यमा सिर्जना या कृति के हो  ?
लेखकको सिर्जनाहरूको संकलन हो कृति भनेको र सिर्जना भनेको लेखकका विचार, सन्देश र दर्शन हो । समग्रमा भन्नुपर्दा लेखकका नागरिकताबाहेक वास्तविक परिचय खेती हुन् सिर्जना र कृति जसले मृत्युपश्चात् पनि अमर रहन्छन् लेखकहरू ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?