स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम : स्वतन्त्र र युवा उम्मेदवारप्रति आकर्षण

Read Time = 12 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । केही पालिकाको त अन्तिम परिणामसमेत आइसकेको छ । प्रारम्भिक मतगणनामा स्थापित दलहरू नै अगाडि देखिए तापनि कतिपय ठाउँमा भने स्वतन्त्र र युवा उम्मेदवारले स्थापित दलका उम्मेदवारलाई पछाडि पारेका छन् । त्यसो त चुनावी प्रचारमा पनि स्थापित दलका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवारप्रति विशेषगरी युवाहरूको आकर्षण देखिएको थियो । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका बालेन्द्र साह, पोखरा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गनेश पौडेल र धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनुभएका गोपाल हमाललगायत स्वतन्त्र उम्मेदवारको पक्षमा चुनावी अभियान क्रममा युवाहरूको उल्लेख्य सहभागिता रह्यो । चुनावी अभियानमा देखिएको स्वतन्त्र र युवाप्रतिको आकर्षण केही हदसम्म मतमा समेत प्रतिविम्ब भएको छ ।

शुक्रबार सम्पन्न निर्वाचनको प्रारिम्भिक मतगणनालाई हेर्दा युवा र स्वतन्त्र उम्मेद्वारलाई आफ्नो मत दिएर युवावर्गले राजनीतिमा परिवर्तन खोजेको देखिन्छ । काठमाडांै महानगर, धनगढी उपमहानगर, जनकपुरधाम उपमहानगर, धुलिखेल नगर लगायतका पालिकाहरूमा युवा तथा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । मुलुकको राजधानी रहेको काठमाडौं महानगरको प्रारिम्भक नतिजाअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिनुभएको छ । स्थापित राजनीतिक दलहरू नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई पछि पार्दै साहले अग्रता लिनुभएको हो । उहाँ मात्र होइन नेकपा एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोल पनि युवाहरूको रोजाइमा पर्नुभएको छ । प्रारम्भिक मत परिणाममा उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई निक्कै पछाडी पार्नु भएको छ ।

यसअघि चुनावी प्रचार अभियानको क्रममा पनि स्वतन्त्र उम्मेद्वार बालेन्द्रप्रति युवाहरूको ठूलो आकर्षण देखिएको थियो । स्थानीय तह निर्वाचनको लागि उम्मेद्वारी मनोनयन दर्ता भएपछि ठूला राजनीतिक दलका उम्मेद्वारहरूको लागि बालेन साह टाउको दुखाई बन्नुभएको थियो । चुनाव केन्द्रीत प्रचार अभियानका क्रममा पनि एमाले र कांग्रेसका उम्मेद्वारहरूले स्वतन्त्र उम्मेदवार साहप्रति विभिन्न अभिव्यक्ति दिने गर्नुभएको थियो । काठमाडौंमा जस्तै, कैलालीको धनगढी उपमहानगर पालिकामा सुरुवाती नतिजामै गोपाल हमालले फराकिलो अग्रता बनाउनुभयो । १०० मत गणना हुँदा सत्तारूढ पाँच दलीय गठबन्धन तर्फका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २२ मत र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले मात्र दुई मत पाउँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले भने ५५ मत प्राप्त गर्नुभएको थियो ।
१०० मत नै गणना हुँदा धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ३३ मत ल्याउँदा नेपाली कांग्रेसका किशोर राईले ३१ र नेकपा एमालेकी मञ्जु भण्डारीले १६ मत मात्र पाउनुभएको थियो । जनकपुर उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवारी दिनुभएका मनोजकुमार साहले २५९ मतसहित अग्रता लिँदा निवर्तमान मेयरसमेत रहनुभएका गठबन्धनका उम्मेदवार लालकिशोर साहले मात्र ३६ मत पाउनुभएको थियो ।

राजनीतिक दलहरूप्रतिको वितृष्णा : अधिकारी
यसपटकको स्थानीय तह निर्वाचनमा युवा र स्वतन्त्र उम्मेदवारप्रति देखिएको आकर्षणप्रति राजनीतिक वृत्तमा विभिन्न विश्लेषण हुन थालेको छ । वरिष्ठ पत्रकारसमेत रहनुभएका राजनीतिक विश्लेषक धु्रवहरि अधिकारीले स्वतन्त्र उम्मेदवारप्रति विशेषगरी युवाहरूको आकर्षण ठूला राजनीतिक दलहरूप्रतिको वितृष्णाको प्रतिविम्ब भएको बताउनुभयो । स्थानीय तहमा गैरदलीय प्रतिनिधि निर्वाचित हुने व्यवस्था अपनाउनुपर्ने धारणा राख्दै विश्लेषक अधिकारी भन्नुहुन्छ, ‘युवा मतदाता विशेषगरी युवा तथा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण हुन लामो समयदेखि शासनसत्ता चलाई रहेका ठूला तथा स्थापित दलहरूप्रतिको वितृष्णा हो । स्थानीय तहका प्रतिनिधि स्थानीयस्तरको विकास गर्ने, स्थानीयको आवश्यकता बुझेका र गैरदलीय हिसाबले समुदायलाई चुन्न दिनुपर्छ । स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूबीच गठबन्धन भएका छन् । गठबन्धन आवश्यक नै छैन । स्थानीय चुनावमा गठबन्धन त चुनावले नै बनाइदिन्छ नि । जनताले नै एउटालाई मेयर, अर्कोलाई उपमेयर दिनसक्छ । जनताले चुनेर बनाइदिने गठबन्धन दलहरूले नै बनाउने काम गरे । यो प्रणालीकै विषयमा बहस हुनुपर्छ ।’

स्थापित राजनीतिक दलहरूले आमनागरिकको पक्षमा केही नगरेको परिणाम युवाप्रति आममतदाताको आकर्षण बढेको भन्दै विश्लेषक अधिकारीले अगाडि भन्नुभयो, ठूला दलहरूले अहिलेसम्म बद्मासी, भ्रामकस्थिति सृजना गर्ने काम मात्र गरेका छन् । त्यसकारण आमनागरिकको आक्रोश आक्रामक रूपमा आउनसक्छ । फ्रेस मान्छेलाई जिम्मेवारी दिए जोश, जाँगर छ, ज्ञान पनि छ । काठमाडौं महानगरकै कुरा गर्ने हो भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह त सिभिल इञ्जिनियर रहेछन् । पुरानाले केही गर्न नसकेकाले नयाँलाई मौका किन नदिने ? नयाँ पुस्ताबाट केही होला कि ? भन्ने आशा देखिन्छ ।’

हुन त स्थानीय तहको चुनावमा जुन रौनक हुनुपथ्र्यो, यसपालिको चुनावमा त्यो रौनक कमजोर देखियो । स्थानीय चुनावलाई राजनीतिक दल र उनीहरूका क्रियाकलापले डोमिनेट गर्‍यो । स्थानीय चुनाव दलगत नभई व्यक्तिहरूकै प्रतिस्पर्धा भएको हुनाले कुनै दल विशेष नभई व्यक्तिहरू नै जनतामा भिज्ने, उनीहरूलाई प्रभावित गर्छन् । स्थानीय चुनावको आफ्नै विशेषता भडए पनि अहिले त्यसलाई राजनीतिक दलहरूले तोड्ने काम गरेका छन् । स्थानीय चुनावबाट न बहुमतको सरकार हुन्छ, न अल्पमतको सरकार । तर, अहिलेको चुनाव सत्ता–गठबन्धन र एमाले बीचको इज्जतको सवाल बन्न पुगेको छ । यसले पनि स्थानीय चुनावमा असर गर्‍यो । स्थानीय चुनावमा पार्टीप्रतिको भन्दा पनि उम्मेदवारप्रतिको आकर्षण हुन्छ भन्ने तथ्य केही मात्रामा स्वतन्त्र उम्मेदवारप्रति व्यक्त प्रारम्भिक मत परिणामले पुष्टि गरेको छ ।
महानगर र उपमहानगर जस्तै कतिपय नगरपालिका तथा गाउँपालिकामा पनि स्वतन्त्र उम्मेदवारहरूप्रति आकर्षण देखिएको छ । प्रारम्भिक मत नतिजाअनुसार धुलिखेलमा पनि स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेतले स्थापित राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका आधिकारी उम्मेदवारलाई पछि पार्नुभएको छ । महोत्तरीको बर्दिबास नगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार प्रलादकुमार क्षेत्रीले राजनीतिक दलका आधिकारिक उम्मेदवारलाई पछि पार्नुभएको छ । जुम्लाको एकमात्र नगरपालिका चन्दननाथमा पनि स्वतन्त्र उम्मेदवारले स्थापित राजनीतिक दलका उम्मेदवारसँग फराकिलो अग्रता लिनुभएको छ ।

अलोकप्रिय वर्तमान व्यवस्थाको परिणाम : ढकाल
स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आकर्षणलाई नेपाली कांग्रेसका पुराना नेता एवं राजनीतिक विश्लेषक लोकेश ढकालले स्वतन्त्र उम्मेदवारप्रति युवा मतदाताको आकर्षण ठूला राजनीतिक दल र अहिलेको राजनीतिक व्यवस्थाप्रतिकै वितृष्णा भएको टिप्पणी गर्नुभयो । युवा मतदाता अभिमतले मुख्यगरी कांग्रेस र कम्युनिष्टप्रतिको वितृष्णा देखाएको जिकिर गर्दै उहाँले भन्नुभयो, ‘आमनागरिकमा अहिलेको व्यवस्था र राजनीतिक दलका नेताहरूप्रति वितृष्णा छ । स्वतन्त्र उम्मेदवारहरूलाई गएको मत अलोकप्रिय वर्तमान व्यवस्था र त्यो व्यवस्था सञ्चालन गरिरहेका राजनीतिक दलहरूलाई झापड हो । दलहरूप्रति असन्तुष्ट भए पनि नेपालमा नो भोटको व्यवस्था छैन । नो भोटको व्यवस्था नभएका कारण असन्तुष्टहरूको मत स्वतन्त्र उम्मेदवारलाई गएको देखिन्छ । नो भोटको व्यवस्थाअनुसार गैरदलीय उम्मेदवारलाई मतदाताले आफ्नो मत दिएका छन् । राजनीतिक दलहरूले आफ्ना गलत गतिविधि र क्रियाकलाप सुधार नगरे आमनागरिक विद्रोहको बाटो रोज्ने संकेतस्वरूप मत अभिव्यक्त भएको छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?