छानबिन समितिमा फुटबल खेलाडीले दिए बयान

Read Time = 7 mins

काठमाडौं । नेपाली फुटबल टोलीका प्रशिक्षक-खेलाडीबीच देखिएको विवाद छानबिनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको छानबिन समितिमा खेलाडीहरूले बयान दिएका छन् । एन्फा कार्यसमिति बैठकको निर्णयअनुसार भिक्टोर राणाको संयोजकत्वमा गठन भएको समितिसामु खेलाडीहरूले बयान दिनुभएको हो ।

एसिया कप छनोटको तयारीका क्रममा प्रशिक्षक र खेलाडीबीच बन्द प्रशिक्षणका लागि बस्ने-खाने प्रबन्धलाई लिएर विवाद सिर्जना भएको थियो । प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय फुटबल टिमका सिनियर १० खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका थिए ।
खेलाडीहरूले आफूहरू आफूखुशी क्याम्पबाट निस्किएको नभई आफूहरूलाई निकालिएको बताएका छन् । ‘खेलाडीहरू आफूखुशी निस्किएको जसरी बाहिर प्रचार गरिएको छ, त्यो बिल्कुल गलत हो । प्रशिक्षकले पटक-पटक निस्किएर जाऊ भनेपछि हामी निस्किएका हौँ,’ खेलाडीले छानबिन समितिसमक्ष भनेका छन्, ‘हामीले बन्द प्रशिक्षणमा फर्काउनुपर्छ भन्ने माग राखेका छैनौँ तर अन्तर्राष्ट्रिय खेलाडीलाई कम्तीमा खानेबस्ने व्यवस्थापन हुनुपर्ने माग राखेका हौँ । त्यही कुरा राख्दा हामीलाई टिमबाट निकालिएको हो ।’

छानबिन समितिसँगको बयानमा खेलाडीहरूले राष्ट्रिय टिममा रहँदा प्रशिक्षकले आफूहरूलाई मानसिकरूपमा यातना दिने गरेको बताएका छन् । खेलाडीहरूले यसअघि नै पत्रकार सम्मेलन गरेर अब अलमुताइरीको नेतृत्वमा राष्ट्रिय टिमबाट खेल्न गाह्रो हुने बताइसकेका छन् ।
छानबिन समितिले खेलाडी र प्रशिक्षकसँग बयान लिएर सकेको छ । घटनाको छानबिनका लागि एन्फाले नेपाल आर्मीका पूर्वउच्च पदाधिकारी भिक्टोर राणाको नेतृत्वमा पूर्वखेलाडी बिदुर विष्ट र दीपक थापालाई समावेश गरेर तीनसदस्यीय समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको छ ।

राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अलमुताइरीको व्यवहारसँग असन्तुष्टि व्यक्त गर्दै १० जना खेलाडीले जारी एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छाडेका थिए । प्रशिक्षणका क्रममा एन्फाको सातदोबाटोस्थित होस्टलमा खेलाडीहरूलाई राखिएको थियो । तर, होस्टलको सेवा सुविधा राम्रो नभएको गुनासो गरेका सिनियर खेलाडी तथा मिडफिल्डर रोहित चन्दले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग गुनासो गरेपछि उहाँलाई प्रशिक्षक अलमुताइरीले टोली बाहिर राख्नुभएको थियो ।

कप्तान किरण चेम्जोेङ विदेशी लिग खेल्न व्यस्त रहेका बेला उहाँको अनुपस्थितिमा रोहितले खेलाडीहरूका तर्फबाट प्रशिक्षकलाई कुरा राख्नुभएको थियो । रोहितलाई कारबाहीपछि त्यसबारे कुरा गर्न गएका अरू नौजना खेलाडीहरूलाई पनि प्रशिक्षक अलमुताइरीले क्याम्प छोडेर जान भनेपछि खेलाडीहरू अनुपस्थित भएका हुन् । रोहितसँगै बन्द प्रशिक्षणमा अनुपस्थित सिनियर खेलाडीहरू सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अञ्जन विष्ट, सुमन लामालगायतले पत्रकार सम्मेलन गर्दै अब अलमुताइरीसँग खेल्न नसकिने बताउनुभएको थियो ।

खेलाडीहरूले पत्रकार सम्मेलनसँगै प्रशिक्षकमाथि छानबिन गरेर कारबाही हुनुपर्ने माग राखेका छन् । खेलाडीहरूले अलमुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफूहरू बाध्य भएर बाहिर पठाएको बताएका थिए । त्यसबारे आफ्नो धारणा राख्दै प्रशिक्षक अलमुताइरीले एन्फालाई पत्रसमेत बुझाउनुभएको थियो । अलमुताइरीले खेलाडीले आफूलाई लगाएको आरोपका लागि उनीहरूलाई माफी दिएको र एन्फालाई कुनै कारबाही नगर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले आफू राष्ट्रिय टोलीबाट निरन्तर प्रशिक्षण गर्न चाहेको भन्दै राष्ट्रिय टोलीको अभिभावकका नाताले खेलाडीहरूको तातो रगतबारे जानकारी रहेको बताउनुभएको छ ।

आफूले सदैव नेपाली टोलीको भलो चाहेको बताउँदै पत्रमा अलमुताइरीले खेलाडीहरूले पत्रकार सम्मेलनमार्फत् आफूमाथि सार्वजनिकरूपमा आरोप लगाउँदा चित्त दुखेको उल्लेख गर्नुभएको थियो । उहाँले राष्ट्रिय टोलीको निर्माण गर्न पाउनु आफ्नो अधिकार रहेको र त्यसै अनुरूप एसियन कप छनोटका लागि भने बन्द प्रशिक्षण छोडेर जाने खेलाडीहरूलाई नसमेट्ने स्पष्ट पार्नुभएको थियो । उहाँले एसियन कप छनोटमा जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवार आफू हुने पत्रमार्फत जनाउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?