✍️ डा. उद्धव पुरी
लुम्बिनीको वास्तविकता :
गौतम बुद्धको जन्मस्थल लुम्बिनी र उनका पिता राजा शुद्धोदनको राजप्रसाद तिलौराकोट सम्पूर्ण प्रमाणहरूका आधारमा पश्चिम नेपालको तराईमा पर्दछ । सन् १८९६ मा लुम्बिनीको पुनः पहिचान भएपछि त्यसको तीन वर्षपछि उत्खनन् कार्य पनि सुरु भयो । दशकौको राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरू जसमा भारतका पनि पुतत्वविद्समेतको निष्कर्षमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालमा नै हो भन्ने आधिकारिकता भारतलगायत संयुक्त राष्ट्र संघसमेतले स्वीकारी सकेको हो । यहाँनेर एउटा स्मरणीय कुरा के छ भने सन् १३१२ पछि विभिन्न घटनाक्रमले लुम्बिनी आझेलमा परेको र लुम्बिनीको पहिचान हराएको थियो ।
गौतम बुद्धले प्राचीन कपिलवस्तु छोडेपछि अरू गतिविधि भारत वर्षका अहिलेको भारतको सीमाभित्र रहेका हालको नेपालसँग सीमा जोडिएका नजिकका राज्यहरूमा बितेको देखिन्छ । जसका कारण धेरैले गौतम बुद्धको जन्म पनि त्यतै कतै भएको हुनसक्ने आधार मानी झण्डै छ सात सय वर्षसम्म बुद्धलाई भारतमा जन्मेको भनी लेखियो । भारतमा बेलायतको उपनिवेशमा भएका कारण विश्वभर यो फैलियो । जसलाई सच्याउन पनि दशकौं लाग्नु स्वभाविकै हो । उत्खननका परिणामहरू एकपछि अर्को अधिक बलियो भएर आएपछि भारत सरकारले पनि यसलाई औपचारिक रूपमा स्वीकार गरिसकेकै विषय हो ।
सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको स्थल बोधगया, उनको प्रथम धर्मदेशना गरेको स्थल सारनाथ र महापरिनिर्वाण भएको कुसिनगरलगायत बुद्ध शिक्षाको प्रचारका अधिकांश क्षेत्रहरू भारतमा परेका कारण बुद्धलाई भारतवासीले पनि आफ्नो भन्न नपाउने कुरै भएन । त्यसैका आधारमा बुद्धका विषयमा केही कुरा अनौपचारिक रूपमा आउनु त्यतिधेरै दोष पनि होइन । जुन अहिले पनि बेलाबेलामा केही पक्षबाट आउने गरेको छ । यस पटक बुद्धजयन्तीमा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमण र भारतका तर्फबाट निमार्ण हुने विहारको शिल्यान्यास हुनलागेको तथ्यलाई हेर्दा लुम्बिनीका बारेमा अब कुनै औपचारिक भ्रम छैन ।
कपिलवस्तु र तिलौराकोट :
प्रचीन कपिलवस्तु शाक्यहरूको राज्य हो । उनीहरूको राजप्रसाद वा दरवार राजधानी तिलौराकोटमा थियो । त्यसवेलाका शासक शुद्धोदन थिए । सिद्धार्थ गौतम उनकै छोरा थिए । सिद्धार्थ गौतमको बाल्यकाल र युवावस्था त्यही बितेको थियो । उनको बिबाह र एक छोराको जन्म पनि त्यही भएको थियो । २९ वर्षसम्म उनी त्यही रहेका थिए । सिद्धार्थ गौतम, बुद्ध भइसकेपछि पटक-पटक त्यहाँ भएको, उनीसँग सम्बन्धित अन्य गतिविधिको पहिचानसहितका अरू स्थलहरू र उनका माता-पितालगायत शाक्यहरूका नरसम्हार भएको स्थहरू अहिले पनि प्रमाणित रूपमा छन् । उनीभन्दा अधिका अरू दुई बुद्ध क्रकुछन्द र कनकमुनिको जन्म पहिचान पनि त्यही वरपर रहेका छन् ।
बुद्धकै समयमा पहिचानबाट ओझेलमा परेको कपिलवस्तु नेपाले राज्य विस्तारसँगै नेपाली भूमिमा सामेल भएको थियो । सन् १८१४ मा भीमसेन थापाले अग्रेजसँग गरेका अदूरदर्शी युद्ध र हारपछि सन् १८१६ मा भएको सुगौली सन्धीले नेपालले हालको नेपालको करिब एक तिहाइ भूभाग गुमाउन परेको थियो । यसै क्रममा प्राचीन कपिलवस्तुको केही भाग हालको भारतीय भूमीमा पनि पर्न गएको छ । तर, बुद्धसँग सम्बन्धित कुनै पनि महत्वपूर्ण स्थलहरू त्यसतर्फ पर्दैनन् । एउटा सामन्य विहारको भग्नावशेष त्यहाँ भेटिएको थियो ।
केही दशकअगाडिसम्म त्यस क्षेत्रमा आफ्नै स्थानीय नामहरू थिए । विस्तारै उक्त क्षेत्रमा तिलौराकोटको पहिचान दिलाउने गरी दरबार क्षेत्रको निमार्ण गरिएको छ । अहिले त्यसलाई कपिलवस्तु नामकरण पनि गरिएको छ । राजमार्गदेखि हरेक स्थानको नाम बुद्धसँग जोडेर राखिएका छन् । विगत बीस वर्षअगाडि त्यहाँ पुग्दा र गतवर्ष त्यहाँ पुग्दा सयौं गुण परिवर्तन भएको देखियो । मानवनिर्मित तिलौराकोटदेखि बाटोघाटो, विश्वविद्यालय, संग्रहालय, होटललगायत सरकारी तवरबाट धेरै पूर्वाधारहरूको विकास भइसकेको छ ।
त्यहाँ ठूलो लगानीमा तीव्रताका साथ काम भइरहेकै छन् । भारत त्यसैलाई तिलौराकोट भनी दाबी गर्ने प्रमाणहरू जुटाउँदै छ । धेरै पर्यटकहरू त्यसैलाई तिलौराकोट मानी भ्रमण पनि गरिरहेका छन् । जुन नेपालतर्फको प्रचीन कपिलवस्तु र तिलौराकोट दशकौंदेखि उस्तै अवस्थामा छ र वर्षातका समयमा सहज रूपमा जान आउन अझै कठिन छ ।
तिलौराकोट र प्रमाण :
विगतमा लुम्बिनी जस्तै तिलौराकोट पनि जंगलभित्र हराउँदै गएको थियो । तर, कपिवस्तु तिलौराको र त्यस समयको भव्य दरबार तथा बुद्धसँग सम्बन्धित वरपरका अन्य स्थलहरूका बारेमा विभिन्न बौद्ध ग्रन्थहरू, पाचौं शताब्दीमा आएका प्रसिद्ध चिनियाँ यात्री फसियान र सातौं शताब्दीमा आएका हृवेयनसाङ्गले सविस्तार वर्णन गरेका छन् । जुन अहिले पनि ऐतिहासिक र धार्मिक प्रमाणका रूपमा छन् । जसमा मुख्य आधारहरू लुम्बिनी र तिलौराकोटको दूरी, दिशा पहिचान, वाणगंगा नदी, हिमालको दृश्य, दरवारको भव्यता, बुद्धकालमा बनेका बुद्धसँग सम्बन्धित अन्य स्थललगायतका स्थल तगथा दृश्यहरू हुन् ।
जुन भारततर्फ बिलकुलै छैन र मिल्दैन पनि । जसलाई अर्थात् तिलौराकोटलाई भारतीय पुरातत्वविद पूर्णचन्द्र मुखर्जीलगायतले नै सन् १८९९ मा जानकारीमा ल्याएका थिए । हाल त्यहाँ पुरातत्व र इतिहासविद जुराइयो नाकामुरा, पूर्णचन्द्र मुखर्जी, कर्लाइल, कनिडियम, राट्रस डेभिस, विन्सेन्टस्मिथ, वोस्ट, सिल्भर लेवी, विजय श्रीवास्तव, भुवनलाल प्रधान, बाबुकृष्ण सिजाल, तारानन्द मिश्रलगायतले विगतमा धेरै प्रमाण र कुराहरू बाहिर ल्याइसकेका छन् ।
हालपनि त्यस क्षेत्रमा विभिन्न विज्ञ र नेपाललगायत विभिन्न विश्वविद्यालयका विज्ञ र व्यक्तिहरूले उत्खनन्, अध्ययन र अनुसन्धान गरिरहेका छन् । त्यस क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगबाट त्यस क्षेत्रको भूगर्भमा पुरानो शहर भएको पनि पुष्टि गरिसकिएको छ । जहाँ ई.पू.तेस्रो शताब्दीदेखि सन् दोस्रो शताब्दीसम्मका भग्नावशेषहरू भेटिरहेका छन् । भव्य र विशाल दरबारक्षेत्रको उत्खनन कछुवाको गतिमा भए पनि अझै भइरहेको छ ।
दायित्व :
नेपालमा एकथरि कथित विज्ञ भनाउँदाहरू छन् र उनीहरूले एउटा अभियान चलाएका छन् कि बुद्ध नेपालमा जन्मेका हुन् । जसको विषयमा यथार्थताभन्दा भिन्न तरिकाले बेलाबेलामा आन्दोलन पनि चल्ने गर्दछ । तर, उनीहरू कपिलवस्तु र तिलौराकोट, रामग्रामलगायत बारेमा मौन हुन्छन् । जुन विषयमा आधिकारिक विवाद नै छैन त्यसैमा लागि परेका छन् । यता कसैले दावी स्वरूप उठाएको तिलौराकोटको भ्रम अहिले जोडतोडले विश्वभर अगाडि बढिरहेको छ । अभियान वा आन्दोलन तिलौराकोट नेपालको कपिलवस्तुमा पर्दछ र यसका प्रमाणहरू यस्ता छन् भनी अगाडि बढाउन सक्नु चाहिँ राष्ट्रिय गौरवमा हुने छ भन्ने ठान्नु कुनै अपराध नहोला ।
केन्द्रदेखि स्थानीय सरकारसम्म यस विषयमा त्यति उत्साहित देखिँदैनन् र कुनै अभियान छैन । बुद्धसँग सम्बन्धित वास्तविक देवदहको पहिचान र बुद्धको अस्तुधातु भएको विश्वमै एकमात्र बाँकी रामग्रामको स्तुपा संरक्षण, उत्खनन् र प्रचारप्रसारमा लुम्बिनी विकास कोष र सरकारी पक्षको तत्परता र लगानी समयसंगत हुनसकिरहेको छैन । कपिलवस्तुको गुरुयोजनाको खाका बने पनि अन्य क्षेत्रहरूका विषयमा खासै प्रगति भएको सप्रमाण छैन ।
विशेषगरी अहिले २५६६औं बुद्ध जयन्ती र लुम्बिनी दिवस २०७९ को अवसरमा भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणमा नेपालका प्रधानमन्त्रीका तर्फबाट र कूटनैतिक रूपमा यी कुराहरू उठ्न पर्दछन् । भारतीय प्रधानमन्त्रीलाई तिलौराकोटसम्मको भ्रमण गराउन सक्नुपर्दछ । हालसम्म सरकारी तवरवाट आएका कुनै पनि जानकारीमा यी र यस्ता कुराहरू समेटिन लागेको संकेत देखिएको पनि छैन । जसले गर्दा तिलौराकोटको भ्रम अरू चुलिनसक्ने सम्भावना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच