एट्लेटिको र बार्सिलोनाको बराबरी

Read Time = 2 mins

बार्सिलोना । एट्लेटिको म्याड्रिड र बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको आ-आफ्नो खेलमा बराबरी खेलेका छन् । एट्लेटिको सेभियासँग १-१ गोलको बराबरी खेलेको हो । एट्लेटिकोका जोश जिमिनेजले गोल गर्दा सेभियाका युस्सुफ इन न्यास्रीले बराबरीमा गोल फर्काउनुभयो ।

खेलको ३०औँ मिनेटमा जोश जिमिनेजको गोलबाट एट्लेटिकोले अग्रता लिएको थियो । ८५औँ मिनेटमा युस्सुफ इन न्यास्रीले बराबरी गोल फर्काउनुभयो । यो बराबरीसँगै एट्लेटिको ६८ अंक जोडेर तेस्रो स्थानमा रहँदा सेभिया ६७ अंक जोडेर चौथो स्थानमा यथावत् रहेको छ ।
अर्को खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकियो । यो बराबरीसँगै बार्सिलोना ३७ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । गेटाफे ३९ अंक जोडेर १४औँ स्थानमा रहेको छ ।

यता यो सिजनको च्याम्पियन बनिसकेको रियल म्याड्रिड पनि क्याडिजसँग १-१ गोलको बराबरीमा रोकियो । रियलका मारियानो डियाजले गोल गर्दा क्याडिजका रुवेन सोब्रिनोले बराबरी गोल फर्काउनुभयो । खेलको पाँचौँ मिनेटमा मारियानो डियाजको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो । ३७औँ मिनेटमा रुवेन सोब्रिनोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याउनुभयो ।

यो बराबरीसँगै च्याम्पियन बनिसकेको रियलको ३७ खेलबाट ८५ अंक पुगेको छ । रियल दोस्रो स्थानको बार्सिलोनाभन्दा १२ अंकले अघि छ । क्याडिज ३६ अंक जोडेर १७औँ स्थानमा रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?