काठमाडौं । नेपाल पहिलो महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा युगान्डासँग १२ रनले पराजित भएको छ । कीर्तिपुर मैदानमा सोमबारबाट सुरु भएको पाँचवटा टी-२० खेल शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको हो । योसँगै भ्रमणकारी टोली युगान्डाले शृंखलामा १–० को अग्रता लिएको छ ।
युगान्डाले दिएको १०३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । अन्तिम १२ बलमा जितका लागि २६ रन चाहेका बेला नेपालले उक्त स्कोर बनाउन नसक्दा हार बेहोर्नुपर्यो ।
१९औँ ओभरको पहिलो बलमै अनुभवी ब्याटर इन्दु बर्मा रनआउट हुनुभएपछि नेपालको सम्भावना सकिएको थियो । इन्दुले २८ बलमा एक चौकासहित सर्वाधिक १६ रन जोड्नुभयो । त्यसबाहेक नेपाली ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।
पहिलो विकेटका लागि ओपनर ज्योति पाण्डे र विन्दु रावलबीच ४.२ ओभरमा २० रनको साझेदारी भएको थियो । रावल २३ बलमा दुई चौकासहित १२ रनमा आउट हुनुभयो । ज्योतिले सात बलमा ६ रनमा जोड्नुभयो ।
कप्तान रुविना क्षेत्री बेलवासे ११औँ ओभरको चौथो बलमा सारा अकिटेङबाट नौ रनमा बोल्ड हुनुभयो । लगत्तै अर्को ओभरमा अप्सरी बेगमलाई एक रनमै जेनेट म्बाबाजीले एलबीडब्लुको धरापमा पार्नुभयो ।
१३औँ ओभरको दोस्रो बलमा अकिटेङले कविता जोशीलाई चार रनमा क्याच आउट गराउनुभयो । १७औँ ओभरको पहिलो बलमा रोमा थापा पाँच रनमा एलबिडब्लु आउट भएपछि नेपाल ६१-६ को कमजोर स्थितिमा पुगेको थियो । यस्तै डली भट्ट नौ बलमा दुई चौकासहित १३ रनमा बोल्ड हुनुभएपछि नेपालको सम्भावना सकिएको थियो ।
युगान्डाकी सारा अकिटेङले चार ओभरमा १३ रन खर्चेर दुई विकेट लिनुभयो । कोन्सी अवेकोले चार ओभरमा १५ रन खर्चेर दुई विकेट तथा रिता मुसामाली र जेनेत म्बाबाजीले एक/एक विकेट लिनुभयो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०२ रन बनाएको थियो । युगान्डाकी जेनेत म्बाबाजीले ३८ बलमा तीन चौकासहित सर्वाधिक २९ रन जोड्नुभयो । १२औँ ओभरको पहिलो बलमा इन्दु बर्माले जेनेतलाई २९ रनमा एलबिडब्लु आउट गर्नुअघि ३८ बलमा उहाँले तीन चौका प्रहार गर्नुभएको थियो ।
पहिलो ओभरको तेस्रो बलमै कविता कुँवरले लिओना बबेरीलाई शून्यमा बोल्ड आउट गर्नुभएको थियो । दोस्रो विकेटका लागि जेनेत म्बाबाजाई र केभिन एविनोले ४५ रनको साझेदारी गरेपछि युगान्डाले राम्रो सुरुवात पायो । कप्तान रुविना क्षेत्रीले एविनोलाई १५ रनमा इन्दु बर्माबाट क्याच गराउँदै नेपाललाई दोस्रो सफलता दिलाउनुभयो ।
रिता मुसामालीले १७ बलमा १३, रिता न्यांगन्डोले १३ बलमा एक चौका र एक छक्कासहित १८ तथा फ्रैंकलिन नज्जुम्बाले १८ बलमा १२ रन बनाउनुभएको थियो । नेपालकी कविता कुँवरले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिनुभयो । रुविना क्षेत्रीले चार ओभरमा ३० रन खर्चेर एक विकेट लिनुभयो । कविता जोशी र इन्दु बर्माले एक/एक विकेट लिनुभयो । अब नेपालले दोस्रो महिला टी-२० अन्तर्राष्ट्रिय खेल मंगलबार खेल्नेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच