उषा र कामनाले माल्दिभ्समा लिग खेल्ने

Read Time = 3 mins

काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टोली तथा नेपाल पुलिस क्लबका स्पाइकरद्वय उषा भण्डारी र कामना विष्टले माल्दिभ्समा भलिबल लिग खेल्नुहुने भएको छ । नेपाल पुलिस क्लबकी उषा र कामनाले पहिलोपटक विदेशी लिग खेल्न लाग्नुभएको हो ।

दुवैजनाले माल्दिभ्स भलिबल एसोसिएसन कप खेल्न लाग्नुभएको हो । उक्त लिग मे १९ देखि ३१ मेसम्म माल्दिभ्सको मालेमा आयोजना हुनेछ । लिग खेल्न दुवै खेलाडी माल्दिभ्स प्रस्थान गरिसक्नुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको सदस्यसमेत रहनुभएकी उषाले माल्दिभ्स नेसनल डिफेन्स फोर्स (आर्मी) तथा कामनाले माल्दिभ्स सर्भिस क्लब (पुलिस) क्लबबाट खेल्न लाग्नुभएको हो ।

लिग खेल्न जानुअघि दुवै खेलाडीहरूले उत्साह व्यक्त गर्नुभएको छ । उषाले यो आफूहरूका लागि ठूलो अवसर भएको बताउँदै अवसरको सदुयोग गर्दै आगामी दिनमा अरू खेलाडीका लागि समेत बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफूहरूले सक्दो मिहिनेत गरेको भन्दै उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्नुभयो ।

उषा र कामनाको सम्पूर्ण व्यवस्थापन उहाँहरूको क्लबले नै गरेको छ । उषा र कामनाले हवाई टिकट र खाने-बस्ने बाहेक झण्डै आठ सय अमेरिकी डलर पारिश्रमिकसमेत प्राप्त गर्नुहुने नेपाल भलिबल संघले जनाएको छ । राष्ट्रिय टोलीकी पूर्वसदस्य तथा हाल नेपाल पुलिस क्लबकी सहायक प्रशिक्षक कोपिला उप्रेतीको समन्वयमा उषा र कामनाले माल्दिभ्समा लिग खेल्ने अवसर प्राप्त गर्नुभएको हो ।

कोपिलाले सन् २०१५ देखि २०१७ सम्म सातपटक त्यहाँको लिग खेल्नुभएको थियो । यसअघि नेपालबाट माल्दिभ्सको उक्त लिगमा राष्ट्रिय टोलीकी पूर्वउपकप्तान मञ्जु गुरुङ, कोपिला उप्रेती, निमा श्रेष्ठ, राष्ट्रिय टोलीकी सदस्य प्रतिभा माली, सरस्वती चौधरी र अरुणा शाहीले खेलिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?