दोलखामा गठबन्धनबाट कांग्रेस पहिलो दल, एमाले दोस्रो

Read Time = 5 mins

-गोकर्णप्रसाद भण्डारी

दोलखा । दोलखामा स्थानीयतह निर्वाचन २०७९ को अन्तिम नतिजा आएको छ । ७४ वडा रहेको जिल्लामा वडातर्फ नेपाली कांग्रेस २५ वडा जित्दै पहिलो दल बन्न सफल भएको छ भने नेकपा एमाले २४ वडा जित्दै दोस्रो दल बनेको छ । माओवादी केन्द्र २१ वडा जित्दै तेस्रो भएको छ भने एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारले दुई÷दुई वडामा विजय हासिल गरेका छन् ।

दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा गठबन्धनका मुख्य तीन दलले ६ वटा स्थानीयतहमा विजय हासिल गरेका छन् । नेकपा एमालेले जिल्लाका एक पालिका र एक नगरपालिका प्रमुखमा विजय हासिल गरेको छ । एमालेले पाँच स्थानमा उपप्रमुख हात पारको छ । त्यस्तै गठबन्धन नगरी एक्लै निर्वाचनमा सहभागी भएको बैतेश्वर कांग्रेसले बैतेश्वर गाउँपालिकामा बहुमतसहित निर्वाचन जितेको छ । गठबन्धनका तीन राजनैतिक दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ६ स्थानीयतहको नेतृत्व हात पारेका छन् ।

भीमेश्वर नगरपालिका प्रमुखमा गठबन्धनबाट कांग्रेसका ईश्वरनारायण मानन्धर विजयी हुनुभएको छ भने नगर उपप्रमुखमा एमालेकी कमल बस्नेत विजयी हुनुभएको छ । गठबन्धनकी उम्मेदवार संगिता पाख्रिनलाई पछि पार्दै बस्नेतले जित हात पार्नुभएको हो । त्यस्तै कालिन्चोक गाउँपालिका गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका अर्जुन शिवाकोटी र उपाध्यक्षमा माओवादी केन्द्रका कुलबहादुर बुढाथोकी विजयी हुनुभएको छ । जिल्लाको गौरीशंकर गाउँपालिकामा पनि गठबन्धनकै उम्मेदवार अध्यक्षमा माओवादीका विश्वास कार्की र उपाध्यक्षमा कांग्रेसका श्यामसुन्दर तामाङ विजयी हुनुभएको छ । त्यसैगरी शैलुङ गाउँपालिका अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ विजयी हुनुभएको छ । यस पालिकाको उपाध्यक्षमा एमालेकी पार्वती थापा कार्की निर्वाचित हुनुभएको छ ।

विगु गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका सञ्जिव ओली विजयी हुनुभएको छ भने उपाध्यक्षमा एमालेकी देवीका थामी विजयी हुनुभएको छ । यस पालिकामा पनि उपाध्यक्षमा गठबन्धनले हारेको छ । त्यस्तै जिरी नगरपालिकामा नेकपा एमालेका मित्र जिरेल नगर प्रमुख र उपप्रमुखमा एमालेकै कृष्णमाया बुढाथोकी विजयी हुनुभएको छ । जिरीमा तीन दलले छुट्टाछुट्टै निर्वाचन लडेका थिए । जिल्लाको बैतेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले पनि गठबन्धन नगरी एक्लै निर्वाचन जितेको छ । गाउँपालिका अध्यक्षमा छबि लामा र उपाध्यक्षमा कांग्रेसकै कल्पना उप्रेती विजयी हुनुभएको छ ।

त्यस्तै मेलुङ गाउँपालिकाको नेतृत्व नेकपा एमालेले हात परेको छ । मेलुङ पालिका अध्यक्ष एमालेका हिराकुमार थोकर र उपाध्यक्षमा एमालेकै गायत्री आचार्य विजयी हुनुभएको छ । उता जिल्लाको तामाकोशी गाउँपालिका पनि गठबन्धनका उम्मेदवार एकीकृत समाजवादी (एस)का प्रोणप्रताप केसी र उपाध्यक्ष कांग्रेसकी सिर्जना सुवेदी विजयी हुनुभएको छ । उपप्रमुखमा नेपाली कांग्रेसले तीन र नेकपा एमालेले पाँच सिट जितेको छ । माओवादी केन्द्रले भने एक सिट जितेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?