खोटाङले पायो पहिलो महिला मेयर

Read Time = 9 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङले पहिलो महिला मेयर पाएको छ । नेपाली कांग्रेसबाट हलेसी तुवाचुङ नगरपालिकामा बिमला राई निर्वाचित भएसँगै जिल्लाले पहिलो महिला मेयर पाएको हो ।

मेयरमा निर्वाचित राई सोही नगरपालिकाको निवर्तमान उपमेयर हुनुहुन्थ्यो । उहाँले आफ्ना निकटतम प्रतिद्धन्द्धी एमालेका खडेन्द्र साम्पाङलाई ३५१ मतले हराउँदै मेयर जित्नुभएको हो । राईले कूल मत ६ हजार ३१७ पाउँदा साम्पाङले ५ हजार ९६६ मत पाउनुभएको थियो ।

त्यस नगरपालिकामा एमाले र माओवादीले गठबन्धन गरेर राईलाई हराउने योजना बनाएका थिए । तर, दुई पार्टीका एक्ला उम्मेदवार साम्पाङलाई हराउन बिमला एक्लै काफी हुनुभयो । ४१ वर्षीया राई कांग्रेसको महाधिबेशन प्रतिनिधि तथा प्रदेश सदस्य हुनुहुन्छ ।

सीएमए सकेर ग्रामिण विकासमा मास्टर्स गरेर एलएलबीको अन्तिम नतिजा पर्खिरहनुभएका उहाँ राजनीतिक शास्त्रमा दोस्रो वर्षमा अध्ययरनत हुनुहुन्छ । बिगत पाँच वर्षमा गर्न नसकेका पूर्वाधारका कामहरूलाई पूर्णता दिने पहिलो दायित्व रहने निर्वाचित मेयर राईले बताउनुभयो ।

पाँच वर्षमा कृषि र पर्यटनलाई सँगै राखेर पर्यटन प्रवद्र्धन गर्ने र कृषि उत्पादन गरेर अर्थतन्त्रलाई चलयमान बनाउने कुरामा जोड हुनेछ । बाँकी १० वडा र नगरपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । अन्तरपालिका जोड्ने सडकको स्तरोन्नती गरिनेछ । राईले भन्नुभयो, ‘कृषि र भेटेनरीसँग सम्बन्धित प्राविधिक शिक्षालय स्थापना गरिनेछ, वञ्चितिकरणमा पारिएका परेका महिला, दलित, सिमान्तकृत समुदायको जीविकोपार्जनसँग जोडिएका योजना निर्माण गर्नुपर्ने पहिलो दायित्व छ । नगरपालिकाको आँखाबाट कोही पनि वञ्चित नहुने योजना निर्माण हुनेछ ।’

जन्तेढुंगा गाउँपालिकामा महिला नेतृत्व

यहाँको जन्तेढुंगा गाउँपालिकाले महिला नेतृत्व पाएको छ । नेकपा माओवादी केन्द्रका अरुणादेबी राई निर्वाचित भएसँगै महिला नेतृत्व पाएको हो । अरुणादेबी निकटतम प्रतिद्धन्द्धी शंखर बहादुर राईलाई ३०६ मतले हराउँदै विजयी हुनुभएको हो ।

गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेबीले दुई हजार ८८१ मत पाउँदा निवर्तमान गाउँपालिका अध्यक्षका प्रत्यासी शंखर बहादुरले दुई हजार ५७५ मत पाउनुभएको थियो । अरुणादेबी २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा पनि पालिका अध्यक्षमा उठेर पराजित हुनुभएको थियो । तर, यो पटक गठबन्धनका कारण उहाँ निर्वाचित हुनुभएको थियो ।

उहाँ नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ । ५१ वर्षीया राईले तत्कालिन प्रवेशिका परीक्षा(एसएलसी) उर्तिर्ण गर्नुभएको छ । उहाँ पूर्व लडाकु हुनुहुन्छ ।

६ पालिकामा कांग्रेस विजयी

यहाँको दुई नगरपालिकासहित चार गाउँपालिकामा कांग्रेस विजयी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तिर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिका प्रमुखमा कांग्रेसका बिमला राई, रावाबेंशी गाउँपालिका अध्यक्षमा कांग्रेसका फटिककुमार श्रेष्ठ, केपिलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई, साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका रविप्रकास राई र वराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसका शालिकराम बञ्जारा निर्वाचित हुनुभएको छ ।

यस्तै, ऐसेलुखर्क गाउँपालिकामा एमालेका गीरेन्द्र बहादुर राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा लोकेन्द्र राई तथा जन्तेढुंगा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका अरुणादेबी राई र खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उदिम बहादुर राई निर्वाचित हुनुभएको छ ।

जसपाका केन्द्रीय सदस्य र पार्टी अध्यक्ष वडा सदस्यमा निर्वाचित

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई र पार्टी अध्यक्ष टंक थापा वडा सदस्यमा निर्वाचित हुनुभएको छ । राई साकेला गाउँपालिका-२ रतन्छाको वडा सदस्य र थापा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँको वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एसवीचमा भागबण्डा गर्नेक्रममा जिल्ला समन्वय समिति जसपालाई दिने सहमति छ । सोही सहमति अनुसार राई र थापा जिल्ला समन्वय समितिमा जानका लागि वडा सदस्यमा उठ्नुभएको हो । यद्यपी, राई र थापामध्ये समन्वयमा को जाने भन्ने बाहिर आईसकेको छैन ।

तीन निवर्तमान प्रमुख र पाँच उपप्रमुख पराजित

स्थानीय तह सदस्य निर्वाचनमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुख/उपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुःन सोही पदमा दोहोरिने र माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।

एमालेबाट केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, एमालेबाटै जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र माओवादी केन्द्रबाट साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का अध्यक्ष पदमा पराजित हुनुभएको छ ।

एमालेबाट खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगरले अध्यक्ष पदका लागि उम्मेदवारी दिए पनि हार बेहोर्नु परेको छ ।

एमालेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयर बिणादेबी राई, कांग्रेसबाट साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र एमालेबाट ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेल पराजित हुनुभएको छ ।

नवनिर्वाचित प्रमुखहरूले लिए सपथ

स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित नगरप्रमुख र गाउँपालिका अध्यक्षहरूले सपथ ग्रहण गरेका छन् । ३० वैशाखमा भएको निर्वाचनबाट निर्वाचित मेयर र अध्यक्षले दिक्तेलस्थित जिल्ला समन्वय समितिको हलमा शुक्रबार दिउँसो सपथ ग्रहण गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?