‘निर्जीवन बिमा कम्पनीमा अझै समस्या छ’

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बिमा कम्पनीहरूको दायित्व भएको बताउनुभएको छ । प्राधिकरणद्वारा शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बिमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले प्राधिकरणले बिमा कम्पनीका सुझाव, तथ्यांक विश्लेषण र अन्तर्राष्ट्रिय अभ्याससमेतका आधारमा देशको आवश्यकता अनुरूप लगानी निर्देशिका जारी गरेकाले निर्देशिका समग्र बिमा कम्पनीको हितमा रहेको बताउनुभयो ।

अध्यक्ष सिलवालले भन्नुभयो, ‘निर्देशिकाले संसारमा चलेका लगानीका क्षेत्र खुला गरेको छ, अब बिमा कम्पनीहरूले बैंकमा मात्र रकम जम्मा नगरेर लगानीका क्षेत्रको अध्ययन गरी लगानी विविधिकरण गर्नुपर्छ । बिमा कम्पनीहरूको संरक्षण र विकास गर्न प्राधिकरण सजग छ, कम्पनीहरू पनि सोहीअनुसार अगाडि बढ्नुपर्छ, प्राधिकरणले बिमा व्यवसाय गर्ने वातावरण तयार गरेको छ, त्यसमा बसेर तोकिएको मापदण्डबमोजिम काम गर्नुपर्छ, घर तथा सम्पत्ति बिमालाई प्रोत्साहित गर्न सामूहिक रूपमा पहल गर्नुपर्छ ।’

उहाँले संस्थागत सुशासन अझ सशक्त बनाउन, समस्या दोहोरिन नदिन, जोखिमको प्रतिबद्धता तलमाथि पर्न नदिन, कुल गार्हस्थ्य उत्पादनमा योगदान बढ्ने गरी लगानी गर्न, बजार विश्लेषण गरेर शाखा खोल्न, अत्याधुनिक सफ्टवेयरमा लगानी गर्न र साना बिमा दाबी प्रदेश कार्यालयबाट नै दिने गरी अधिकार प्रत्यायोजन गर्न बिमा कम्पनीलाई निर्देशन दिनुभयो । अध्यक्ष सिलवालले मर्जरमा गएका बिमा कम्पनीलाई दिने सुविधा, कोरोना बिमाको बाँकी दाबी भुक्तानी र कृषि बिमा अनुदानबारेमा सम्बन्धित मन्त्रालयमा पहल भइरहेको बताउनुभयो ।

बिमा कम्पनीहरूले एउटै समस्या पटक-पटक दोहोर्‍याएमा, अस्वस्थ प्रतिस्पर्धा जारी राखेमा र प्रचलित कानुनको उल्लंघन गरेमा कारबाहीको विकल्प नहुने भन्दै उहाँले बिमा कम्पनीहरू १० वर्षसम्ममा पनि न्यून आय भएका वर्ग एवं सीमान्तकृत समुदायमा नपुगेकाले त्यसको जिम्मेवारी लघुबिमा कम्पनीलाई दिइएको बताउनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा कम्पनीको स्थलगत निरीक्षणबाट देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । गत आर्थिक वर्षमा सुशासन, स्वस्थ प्रतिस्पर्धा, उधारो बिमा नियन्त्रण, कृषि बिमा, लगानी विविधीकरणलगायतमा केही सुधार देखिए पनि अझै समस्या रहेको स्थलगत निरीक्षणबाट देखिएको उहाँको भनाइ थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?