१२ पालिकासहित कांग्रेस पहिलो, महानगर र उपमहानगरको उपप्रमुखमा एमालेको एकलौटी

Read Time = 13 mins

अनिल क्षेत्री/हिटा
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका २१ मध्ये १९ स्थानीय तहको अन्तिम मतपरिणाम आइसकेको छ । काठमाडौं र ललितपुर महानगरपालिकाको मतगणना भइरहेको छ । काठमाडौंका १०, ललितपुरका पाँच र भक्तपुरका चार स्थानीय तहको अन्तिम परिणाम आउँदा नेपाली कांग्रेसले १२, नेकपा एमालेले पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले एक/एक पालिका जितेका छन् । तर, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको भने प्रमुखमा हात खाली भएको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकासहित नेकपा एमालेले काठमाडौं उपत्यकामा १२ वटा पालिकाको प्रमुख जितेको थियो । ललितपुर महानगरपालिकासहित नेपाली कांग्रेसले सात वटा पालिका जित्दा नेकपा माओवादी केन्द्र र नेपाल मजदुर पार्टीले एक÷एक पालिका जित्न सफल भएका थिए । तर, पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा नतिजा उल्टिएको छ । यसपटकको चुनावमा विगतदेखि नै नेकपा एमालेको पकड मानिँदै आएका पालिकासमेत कांग्रेसले जित्न सफल भएको छ ।

काठमाडौं उपत्यकाका कतिपय पालिकामा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएका कारण एमालेको बलियो पकड भएका पालिकासमेत कांग्रेसले जितेको छ । तर, एमालेको बलियो पकड भएका कतिपय पालिकामा भने नेपाली कांग्रेसले गठबन्धनबिना एक्लै जित हासिल गर्न सफल भएको छ । विगतदेखि एमालेको बलियो गढका रूपमा रहँदै आएको काठमाडौंको कीर्तिपुर नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले जित हासिल गरेको छ ।

विगतमा एकलौटी एमालेको पक्षमा जाने गरेको कीर्तिपुर नगरको परिणाम यसपटक एमाले क्लिन स्विपको अवस्थामा पुगेको छ । १० वडा रहेको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित नौ वडाअध्यक्ष जितेको छ । एक वडामा जितेका स्वतन्त्र उम्मेदवार पनि नेपाली कांग्रेसबाटै बागी उठ्नुभएको थियो । कीर्तिपुर जस्तै अघिल्लो निर्वाचनमा एमालेले जितेका तारकेश्वर, कागेश्वरी मनोहरा, चाँगुनारायण, मध्यपुरथिमि र महाँकाल नगरपालिकासमेत यसपटक कांग्रेसले जितेको छ । अघिल्लो चुनावमा जितेका ६ वटा पालिकाको पकड निरन्तर गर्दै कांग्रेसले यसपटक एमालेले जितेका ६ स्थानीय तह खोसेको छ ।

अघिल्लो चुनावमा काठमाडौं महानगरपालिकासहित १२ स्थानीय तहको प्रमुख जितेको एमाले यसपटक भने सात स्थानीय तह गुमाउँदै पाँच स्थानीय तहमा सीमित भएको छ । एमालेले २०७४ सालको चुनावमा माओवादी केन्द्रले जितेको कोञ्ज्योस्याम गाउँपालिका, टोखा, बुढानीलकण्ठ, सूर्यविनायक र महालक्ष्मीका प्रमुख पदमा जितेको छ । नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिका जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी अघिल्लोपटक नेकपा एमालेले जितेको शंखरापुर नगरपालिकामा जित्न सफल भएको छ । नेमकिपाले भक्तपुर नगरपालिकामा निरन्तर जित्दै आएको भए पनि राप्रपाले ठूला दल र गठबन्धनलाई समेत पछि पार्दै शंखरापुर नगरपालिका जित्न सफल भएको हो ।

कांग्रेसले गोकर्णेश्वर, तारेकेश्वर, कीर्तिपुर, दक्षिणकाली र गोदावरीमा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । नेकपा एमालेले बूढानीलकण्ठ र सूर्यविनायक नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । एमालेले प्रमुख जितेका टोखा, महालक्ष्मी र कोञ्ज्योस्यायमा कांग्रेसले उपप्रमुख जितेको छ । कांग्रेसले प्रमुख जितेका नागार्जुन, चन्द्रागिरि, कागेश्वरी मनोहरा र चाँगुनारायणमा भने एमालेले उपप्रमुख जित्न सफल भएको छ ।

प्रमुख पदमा शून्य भएको माओवादी केन्द्रले कांग्रेससँगको गठबन्धनमा मध्यपुरथिमि नगरपालिका र ललितपुरका बागमती र महाँकालमा उपप्रमुख जितेको छ । मत परिणाम आउन बाँकी काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साह फराकिलो मतान्तरले अघि रहनुभएको छ भने ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन पनि निकटतम् प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अघि रहनुभएको छ ।

उपत्यकामा कसले कहाँ जिते ?
कीर्तिपुर नगरपालिका

मेयर : राजकुमार नकर्मी (नेपाली कांग्रेस)

उपमेयर : शुभलक्ष्मी शाक्य (नेपाली कांग्रेस)

ताकेश्वर नगरपालिका

मेयर : कृष्णहरि महर्जन (नेपाली कांग्रेस)

उपमेयर : सृजना बुर्लाकोटी (नेपाली कांग्रेस)

दक्षिणकाली नगरपालिका

मेयर : मोहन बस्नेत (नेपाली कांग्रेस)

उपमेयर : वसन्ती तामाङ (नेपाली कांग्रेस)

गोदावरी नगरपालिका

मेयर : गजेन्द्र महर्जन (नेपाली कांग्रेस)

उपमेयर : मुना अधिकारी (नेपाली कांग्रेस)

गोकर्णेश्वर नगरपालिका

मेयर : दीपककुमार रिसाल (नेपाली कांग्रेस)

उपमेयर : सान्नानी लामा (नेकपा एमाले)

चन्द्रागिरि नगरपालिका

मेयर : घनश्याम गिरी (नेपाली कांग्रेस)

उपमेयर : वसन्ती श्रेष्ठ (नेकपा एमाले)

टोखा नगरपालिका

मेयर : प्रकाश अधिकारी (नेकपा एमाले)

उपमेयर : मुरारी तामाङ (नेपाली कांग्रेस)

कागेश्वरी मनोहरा नगरपालिका

मेयर : उपेन्द्र कार्की (नेपाली कांग्रेस)

उपमेयर : शान्ता थापा (नेकपा एमाले)

नागार्जुन नगरपालिका

मेयर : मोहनबहादुर बस्नेत(नेपाली कांग्रेस)

उपमेयर : सुशीला अधिकारी (नेकपा एमाले)

बूढानीलकण्ठ नगरपालिका

मेयर : मिठाराम अधिकारी (नेकपा एमाले)

उपमेयर : अनिता लामा (नेकपा एमाले)

शंखरापुर नगरपालिका

मेयर : रमेश नापित (राष्ट्रिय प्रजातन्त्र पार्टी)

उपमेयर : समिता श्रेष्ठ (नेपाली कांग्रेस)

चाँगुनारायण नगरपालिका

मेयर : जीवन खत्री (नेपाली कांग्रेस)

उपमेयर : रमेश बुढाथोकी (नेकपा एमाले)

भक्तपुर नगरपालिका

मेयर : सुनिल प्रजापति (नेमकिपा)

उपमेयर : रजनी जोशी (नेमकिपा)

मध्यपुरथिमि नगरपालिका

मेयर : सुरेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस)

उपमेयर : विजयकृष्ण श्रेष्ठ (माओवादी केन्द्र)

सूर्यविनायक नगरपालिका

मेयर : बासुदेव थापा (नेकपा एमाले)

उपमेयर : सरिता भट्टराई (नेकपा एमाले)

कोन्ज्योसोम गाउँपालिका

अध्यक्ष : कृष्णमान लामा (नेकपा एमाले)

उपाध्यक्ष : राजनप्रसाद घिमिरे (नेपाली कांग्रेस)

महाँकाल गाउँपालिका

अध्यक्ष : गणेश केसी (नेपाली कांग्रेस)

उपाध्यक्ष : डोल्मामाया गोले (माओवादी केन्द्र)

महालक्ष्मी नगरपालिका

अध्यक्ष : हरिगोविन्द श्रेष्ठ (नेकपा एमाले)

उपाध्यक्ष : लक्ष्मी महर्जन (नेपाली कांग्रेस)

बागमती गाउँपालिका

अध्यक्ष : वीरबहादुर लोप्चन (नेपाली कांग्रेस)

उपाध्यक्ष : भक्तबहादुर दर्लामी (माओवादी केन्द्र)

महानगर र उपमहानगरको उपप्रमुखमा एमालेको करिब दुईतिहाइ

अघिल्लो निर्वाचनको तुलनामा ६ महानगर र ११ उपमहानगरको प्रमुखमा एमाले पछि परे पनि उपप्रमुखमा भने एमाले दुईतिहाइ जित्ने दृश्य देखिएको छ । केन्द्रीयस्तरबाटै ६ वटा महानगरपालिकाको भागबण्डा लगाएको पाँच दलीय सत्तारूढ गठबन्धनका उम्मेदवारलाई हराएर एमालेका उम्मेदवारले मेयरमा जित्ने सम्भावना लगभग सकिएको छ । तर, उपमेयरमा भने एमालेका उम्मेदवार हाबी देखिएका छन् । मोरङको विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला विजयी भए पनि उपप्रमुखमा भने गठबन्धनका उम्मेद्वार अमरेन्द्र यादवलाई ११ हजार मतान्तरले हराउँदै एमालेकी शिल्पा कार्कीले जित हात पार्नुभयो । यादवले १४ हजार २१९ मत ल्याउँदा कार्कीले २५ हजार ६८० मत प्राप्त गर्नुभयो ।

मतगणना जारी रहेको काठमाडांै र ललितपुर महानगरपालिकामा एमालेका उपमेयरका उम्मेदवार क्रमशः सुनिता डंगोल र मञ्जली शाक्य फराकिलो मतान्तरसहित जितनजिक पुग्नुभएको छ । पोखरा महानगरको उपमेयरमा नेकपा एमाले र सत्ता गठबन्धनका उपमेयरबीच लुकामारी जस्तै भइरहेको छ । भरतपुर र वीरगञ्ज महानगरको उपमेयरमा भने गठबन्धनकै उम्मेदवार अघि रहेका छन् ।

उपमहानगरपालिकातर्फ रुपन्देहीको बुटवलमा, दाङको घोराही, बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिकाको उपमेयर जितेको छ । एमालेका उपमेयरका उम्मेदवार क्रमशः सावित्रीदेवी अर्याल, हुमा डिसी, रोशन परविन र भोला अधिकारीले जित्नुभएको छ । कलैया र घोराही उपमहानगरमा त गठबन्धनका उम्मेद्वारलाई हराउँदै एमालेले मेयरपनि जितेको छ । इटहरी, तुलसीपुर र धनगढी उपमहानगरमा पनि गठबन्धनका उपमेयरका उम्मेदवारलाई पछि पार्दै एमालेका उपमेयरका उम्मेदवारहरूले फराकिलो अग्रता लिइरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?