लोकप्रिय टिकटक, नेपालमा भाइरल हुने लहर

हिमालय टाइम्स
Read Time = 4 mins

भावना अवस्थी/हिटा
काठमाडौं । वर्तमान समयमा विश्व परिवेश प्रविधिमा डुबिरहेको अवस्था छ । प्राचीन युगदेखि अगाडि बढेर मानव समुदायले प्रविधिमा फड्को मारिरहेका बेला नेपाली समाजमा पनि यसको प्रत्यक्ष असर देखिन्छ । ठूला–ठूला व्यापारीदेखि सर्वसाधारणले सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् । फेसबुक, म्यासेन्जर, हृवाट्सएप, स्यापच्याट, इन्स्टाग्राम, ट्विटर, भाइबर, टिकटकलगायत एपका प्रयोगकर्ता लाखौँको संख्यामा छन् ।

पछिल्लो समय यी तमाम एपहरूमध्ये टिकटकका प्रयोगकर्ता हृवात्तै बढेका छन् । निकै लोकप्रिय बनेको चिनियाँ म्युजिकल एप ‘टिकटक’ २०१६ सेप्टेम्बरमा रिलिज भएको हो । यो एप विश्वका ४० भाषामा रहेको छ भने नेपालमा पनि निकै लोकप्रिय बनिरहेको पाइन्छ । अधिकांशले मनोरञ्जनका लागि चलाउने यो एप खाद्यान्न, फेसनदेखि विभिन्न ठाउँको प्रचारका लागि पनि प्रयोग भइरहेको हुन्छ ।

कतिपय प्रयोगकर्ताका लागि टिकटक रमाइलोसँगै टिकटकमा लाइभ बसेर पैसा कमाउने माध्यम पनि बनेको छ । म्युजिकल एप बालबालिकादेखि वृद्धसम्मले रुचाए पनि किशोरकिशोरीले धेरै रुचाइएको पाइन्छ । तर, भाइरल बन्न चाहने प्रयोगकर्ताका कारण समाजमा सकारात्मकभन्दा बढी नकारात्मक प्रभाव पारेको र कसैले अश्लील कुराहरूले कसैको चरित्रहत्या गर्ने हुँदा सामाजिक विकृति फैलिएको प्रयोगकर्ता नै बताउँछन् । टिकटकमा निकै भाइरल बन्नुभएका कञ्चनपुरका महेश धामीले टिकटक नै आफ्नो आम्दानीको स्रोत बनेको र एपको दुरूपयोग गर्न नहुने बताउनुहुन्छ ।

यस्तै नुवाकोटकी सुजिना गिरीले पनि आफू रमाइलोका लागि टिकटक प्रयोग गर्ने हुँदा आफूलाई सकारात्मक नै लाग्ने तर कतिपय ठाउँमा एपको प्रयोग नकारात्मक हुने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘समाजमा टिकटक सकारात्मक हुँदै होइन भन्न त मिल्दैन तर कतिपय प्रयोगकर्ताहरूले एपको दुरूपयोग गर्ने हुँदा नकारात्मक असर पनि परिरहेकै हुन्छ ।’

त्यसैगरी दाङ घर हुनुभएका रेशम परियारले पनि टिकटकले समाजमा सकारात्मकसँगै नकारात्मक असर पनि परेको बताउनुभयो । ‘समाजलाई असर नपर्ने गरी एप चलाउनुपर्ने हो तर कतिपय मान्छेका कारणले यसको नकारात्मक असर पनि पर्न गएको छ ।’

पछिल्लो समय टिकटकको गतिविधि हेर्दा यसले पारिवारिक, सामाजिक अराजकता ल्याउँछ कि भन्ने डर पनि छँदैछ तर टिकटकमै समय खर्च गर्ने, अरूप्रति नकारात्मक टिप्पणी गर्ने, विभिन्न किसिमका गलत कुराहरू सम्प्रेषण गरी भाइरल बन्न चाहने प्रयोगकर्ताहरूले आफूले गरेको दुरूपयोगले समाजलाई कस्तो किसिमको असर पार्दैछ भन्ने कुरालाई मनन गर्नु आवश्यक देखिन्छ ।

सामाजिक सञ्जालको ज्ञान भएका/नभएका सबैले जानिनजानी सञ्जालको प्रयोग गरिरहेकै हुन्छन् । तर, मनोरञ्जनको माध्यम टिकटकको अत्यधिक प्रयोगलाई इन्टरनेट सुस्त हुनुको कारण पनि मानिन्छ । म्युजिकल एपको प्रयोग उचित समयमा सिर्जनशील काममा गर्नुपर्ने र सञ्जाल नियमन गर्न साइबर ब्युरोको व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?