भरतपुर महानगरलाई देशकै हेर्न र गर्व गर्न लायक नमूना स्मार्ट सिटिको संकल्प पूरा गर्ने : रेणु दाहाल

Read Time = 4 mins

भरतपुर । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर रेणु दाहालले अबको कार्यकालमा महानगरपालिकामा बेरोजगारी अन्त्य गर्ने घोषणा गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाको मेयरमा जित निकालेसँगै मेयर दाहालले अबको पाँच वर्ष आफ्नो लागि अन्तिम कार्यकाल भएकोले अब शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा जोड दिने बताउनु भएको हो ।

उहाँले अबको पाँच वर्षमा भरतपुर महानगरपालिकामा बेरोजगार अन्त्य गर्नका लागि रोजगार बैंक स्थापना गर्ने, उद्योग ग्राम स्थापना गर्ने र उद्यमशिलताको विकास गरेर रोजगारी प्रवद्र्धन गर्नेकुरालाई विशेष प्राथमिकतामा राखेको बताउनु भयो । मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माणलाई अघि बढाउने पनि उद्घोष गर्नुभयो ।

उहाँले भरतपुर महानगरपालिकालाई देशकै हेर्न र गर्व गर्न नमूना स्मार्ट सिटिको संकल्प पूरा गर्ने, गौरवका आयोजनाहरु जस्तैः सिटी हल, प्रशासनिक भवन, ५ अर्ब बराबरको नारायणी तटबन्ध, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरिय रिङ रोडको योजनालाई सम्पन्न गर्ने कुरा पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो । मेयर दाहालले गत कार्यकालमा बाँकी रहेका कामहरुलाई यो कार्यकालमा पूरा गर्ने लक्ष्य राखेको पनि बताउनु भयो । उहाँले भरतपुरका बाँकी काम पूरा गरेर जनतालाई निराशा हुन नदिने बताउनु भयो ।

मेयर दाहालले सोचेको भन्दा राम्रो मत परिणाम आएकोले जनताको चाहनाअनुसार जनताकै लागि काम गर्ने प्रतिवद्धतासमेत जनाउनु भयो । ३ हजारदेखि ७ हजारसम्मको मतान्तरले आफू विजयी हुने आश रहेपनि त्यो भन्दा बढी मतान्तरले विजयी हुनु अघिल्लो कार्यकालमा गरेको उपलब्धिको परिणाम भएको बताउनु भयो ।

गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा भरतपुर महानगरपालिकालाई विशेष चासो र महत्वका साथ हेरिएको थियो । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की नेतृृ दाहालले उम्मेदवारी दिनुभएको थियो भने नेकपा एमालेबाट विजय सुवेदीले उम्मेदवारी दिनुभएकाे थियो ।

त्यस्तै नेपाली काँग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

निर्वाचनको मत परिणाम अनुसार दाहालले ५२ हजार ३० मत पाउनुभएको थियो भने उहाँका प्रतिष्पर्धी सुवेदीले ३९ हजार ५८१ मत पाउनुभएको छ ।

दुईजना बीचको मतान्तर १२ हजार ४४९ रहेको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार पौडेलले १४ हजार ७२८ मत प्राप्त गर्नुभयो । उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?