पाल्पाका ८१ वडामा एक्लो दलित वडाध्यक्ष

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

-रामचन्द्र रायमाझी

पाल्पा । संविधानमा स्थानीय तहमा गठन हुने नगर कार्यपालिका र गाउँ कार्यपालिकामा दलित वा अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने व्यवस्था छ । तर, कानुनीरूपमा जस्तो व्यवस्था भए पनि राजनीतिक दलहरू नै समावेशी राजनीतिको मर्मप्रति जिम्मेवार नहुँदा दलित समुदाय नेतृत्व तहमा पुग्ने विरलै अवसर पाउँछन् ।

पाल्पाका १० वटा स्थानीय तहमा ८१ वडा छन् । जसमा एकजनामात्रै दलित उम्मेदवारले वडाध्यक्ष बन्ने अवसर पाउनुभएको छ । विभिन्न राजनीतिक दलबाट दलित समुदायका व्यक्तिले विभिन्न पदमा उम्मेदवारी दिए पनि रामपुर नगरपालिका–२ मा एकजनामात्रै दलित उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार बन्नुभएका कृष्णबहादुर दर्जीले जिल्लाको एक्लो दलित वडाध्यक्ष बन्ने शौभाग्य प्राप्त गर्नुभएको हो । उहाँले नेकपा एमालेका कृष्णबहादुर थापालाई पराजित गर्दै पाल्पाको एकल दलित वडाध्यक्षका रूपमा विजयी हुनुभएको छ । दर्जीले वडाध्यक्षमा विजयी भएसँगै जिल्लाको सिंगो दलित समुदायको प्रतिनिधित्व गर्नुभएको छ ।

२०५० सालदेखि नेविसंघको राजनीति गर्नुभएका दर्जी नेपाली कांग्रेस पाल्पाको दुई कार्यकालसम्म जिल्ला सदस्य भई पार्टीको जिम्मेवारी सम्हाल्नुभयो । पार्टीको कुशलतापूर्वक जिम्मेवारी बहन गरेकै कारण उहाँले वडाध्यक्षको उम्मेदवार बन्ने मौका पाउनुभएको थियो । उहाँले उम्मेदवार बन्ने मौकामात्र पाउनुभएन, वडाध्यक्ष बन्ने अवसरसमेत पाउनुभयो ।

यो अवसर दलित समुदायका कमैले पाउँछन् । दर्जीले पार्टीभित्रबाट पनि वडाध्यक्षको सिफारिसका लागि संघर्ष नगर्नुभएको भने होइन । वडाध्यक्षमा दर्जीसहित नौजनाको दावेदारी परेको थियो । सिफारिस भएका नौजनामध्येबाट दर्जीले पार्टीको विश्वास जिती वडाध्यक्षको उम्मेदवारमा सिफारिस भई निर्वाचनमा समेत विजय हासिल गर्नुभएको हो ।

‘दलित समुदायलाई शिक्षाको पहुँचमा ल्याउँछु’

दलित समुदायबाट वडाध्यक्षमा निर्वाचित भएपछि दर्जीले हिमालय टाइम्ससँगको कुराकानीमा आफ्नो पहिलो ध्येय भनेको दलित समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘वडामा कुमाल, मगर, दलित र खस आर्य समुदायको मिश्रित बस्ती छ । खस आर्यले पढाइमा ध्यान दिए पनि दलित, मगर, कुमाल समुदायले पढाइप्रति ध्यान नदिएका कारण उनीहरूलाई पढाइप्रति आकर्षित गर्न वडाका सबै बालबालिकालाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान मेरो पहिलो एजेन्डा छ ।’

अहिले अधिकांश दलित, मगर र कुमाल समुदायका बालबालिकाहरू कक्षा आठ पढेपछि केटाहरू भारत जाने, केटीहरू विवाह गर्ने चलनलाई पूर्णरूपमा हटाएर माविसम्मको शिक्षा अनिवार्य गर्ने, त्यसका लागि सबै सहयोग वडाबाट गर्ने गरी काम गर्ने योजना रहेको निर्वाचित वडाध्यक्ष दर्जीले बताउनुभयो ।

रामपुर–२ मा प्रशस्त खेतीयोग्य जमिन रहेकाले सबै टोल-टोलको कृषि प्राविधिकबाट माटो परीक्षण गराएर, माटो सुहाउँदो खेती प्रणालीको विकास गर्ने, सामूहिक खेतीदेखि ठूला कृषि फार्महरू सञ्चालनका लागि वडाबाट सहयोग प्रदान गर्ने वडाध्यक्ष दर्जीले बताउनुभयो । वडाका सबैको घरमा अनिवार्यरूपमा एक घर एक करेसाबारी सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?