फुटबल टोलीले टिमोर लिस्टेसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । कतार फुटबल फेडेरेसन (क्युएफए) को आयोजनामा एसियन कपको छनोटको तयारीमा रहेको एसियाका सात टोलीबीच पाँच मैत्रीपूर्ण खेल तय हुँदा नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।

एसियन कप छनोटका लागि अहिले कतारमा नेपालसँगै अस्ट्रेलिया, जोर्डन, भारत, इस्ट टिमोर, ओमान र न्युजिल्यान्डको प्रशिक्षण क्याम्प भइरहेको छ । कतार एफएले त्यहाँ रहेको टोलीबीच नै मैत्रीपूर्ण खेल तय गरेको हो ।

कतार फुटबल संघका अनुसार नेपालले टिमोर लिस्टेसँग २८ मेमा पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ । यो खेल नेपाली समयअनुसार राती ९ः४५ बजे ग्रान्ड हामद स्टेडियममा हुनेछ । ३ जुनमा ओमानसँगको खेल सुहिम बिन हामद स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजे नै हुनेछ ।

घरेलु मैदानमा झण्डै ४५ दिनको प्रशिक्षणपछि नेपाली टोली थप तयारीका लागि बुधबार कतार प्रस्थान गरेको छ । टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र सिनियर खेलाडीबीचको विवादका कारण टोलीमा अधिकांश युवा खेलाडी समेटिएको छ । विरोध गरेपछि टोली बाहिर पर्नुभएका कप्तान किरण चेम्जोङको स्थानमा एन्फाले नवयुग श्रेष्ठलाई कप्तानी सुम्पिएको छ ।

किरणबाहेक राष्ट्रिय टोलीबाट रोहित चन्द, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, विशाल राई, विमल घर्तीमगर, अञ्जन विष्ट, तेज तामाङ, सुमन लामा, अनन्त तामाङ र दिनेश राजवंशी जस्ता सिनियर खेलाडीहरूलाई बाहिरै राखिएको छ ।

नेपाली टोलीको गोलरक्षकमा दीप कार्की, विशाल सुनार र टिकेन्द्र सिंह थापा, डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल, मिडफिल्डरमा आकाश बुढा मगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल र सुरजज्यू ठकुरी त्यस्तै फरवाडमा आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ रहनुभएको छ ।

एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपालले कुवेत, जोर्डन, इन्डोनेसियासँग खेल्नेछ । ८ देखि १४ जुनसम्म हुने छनोट खेलमा नेपालले जोर्डनसँग जुन ८ मा खेल्नेछ । दोस्रो खेल जुन ११ मा कुवेतसँग तथा १४ जुनमा इन्डोनेसियासँग खेल्नेछ । तेस्रो चरणको छनोटका शीर्ष टिम र पाँच समूहमा रहेका उत्कृष्ट दोस्रो हुने टिमले अन्तिम चरणमा स्थान बनाउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?