निर्वाचन धाँधलीरहित र शान्तिपूर्ण भएन, भेदभाव रहिरहे फेरि आन्दोलन हुन्छ : महन्थ ठाकुर

Read Time = 2 mins

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तह निर्वाचन त्रास, भयको वातावरणमा सम्पन्न भएको बताउनु भएको छ ।

प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै उहाँले निर्वाचन भय, त्रासको वातावरणमा धाँधलीपूर्ण भएको बताउनु भयो ।

‘गोली चलेकै हो, महोत्तरीको मटियानीमा हाम्रो नेता कार्यकर्तामाथि आक्रमण भएकै हो,’ उहाँले भन्नुभाये, ‘थाहा छैन भने जिल्ला प्रशासन कार्यालयमा गएर बुझ्नुहोस् ।’

नागरिकताविहीनलाई नागरिकता दिने विषयमा नीति तथा कार्यक्रम मौन बसेको भन्दै उहाँले भन्नुभयो, ‘आफूहरुले किन ६ महिनासम्म आन्दोलन गर्नुपर्‍यो ?, किन हाम्रा नेता कार्यकर्ता अहिले पनि जेलमा छन् ? किन हाम्रो सांसद रेशम चौधरी अहिले पनि जेलमा छन् ?’

आफूहरुको आन्दोलन न्यायका लागि रहेको जानकारी दिँदै उहाँले राजनीति आन्दोलनमा सहभागी भएकालाई मुद्दा लगाएर जेलमा हालिएको भन्दै आपत्ति जनाउनु भयो ।

तर, आफ्ना नेता कार्यकर्तामाथि गोली चलाउनेमाथि कारबाही नगरिएर बढुवा गरेको भन्दै उहाँले सुरक्षाकर्मीलाई सुरक्षा दिने हतियार दिएको कि जनतामाथि प्रहार गर्न भन्दै प्रश्न गर्नुभयो ।

न्यायका लागि हतियारविना आन्दोलनमा उत्रिएका आफ्ना कार्यकर्तालाई जेलमा हालिएको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो। भेदभाव रहिरहे फेरि आन्दोलन गर्ने अध्यक्ष ठाकुरको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?