-राधिका बुढाथोकी
सिन्धुली । जेठको चर्को घाम, उखरमाउलो गर्मी । पानी विनाको धारोमा रित्ता गाग्रीका लाइन् । ग्यालीन, बोतल र अन्य भाँडाहरु पानीको पर्खाइमा तातिएका थिए । पशूचौपाय प्यासले छट्पटिएका थिए । सिंगो बस्तिका मुसहर परिवार पानीको पर्खाइमा थिए । बिहीबार मध्यान्न १२ बजे देखिएको दृष्य हो यो, दुधौली नगरपालिका–७ पोखरेको । जहाँ, ४० घरधुरीमा मुसहर परिवार बस्दछन् ।
गंगा सदा यस ठाउँमा विवाह भएर आउनु भएको ११ वर्ष भयो । विवाह वर्ष जति थपिँदै जान्छ्, त्यत्तिनै पानीको समस्या बढ्दै गएको उहाँले बताउनु भयो । ‘नजिकको इनारमा पानी सुकेको छ । धारामा कहिले आउँछ, कहिले आउँदैन । आएको दिन पनि छोटो समय मात्र आउँछ, प्रयाप्त पानी भर्न पाइदैन,’ उहाँले भन्नुभयो, ‘सुत्केरी भएको ११ दिनमा समेत खोलाको पानी बोकेर खाएकी छु ।’
घरबाट खोलामा पुगेर पानी ल्याउन एक घण्टा लाग्ने उहाँले बताउनु भयो । हप्तादिन अघिमात्र टाउँकोमा बोेकेर ल्याएको पानी घर नजिक आएपछि ठेस लागेर पोखियो, गाग्री कुच्चिएर पानी ओर्सान नमिल्ने भयो । ‘टाढा र अँध्यारो पनि भएकाले एक्लै पानी लिन जान सकिँन । साँझको खाना पकाउन पानी पुगेन, त्यतिकै सुत्यौ,’ उहाँले दुखेसो सुनाउनु भयो ।
खोला र खोल्सामा पानी लिन जाँदा कहिँलेकाँही दुई/तीन वटा सर्पले एकै पटक लखेटेको उहाँले सुनाउनु भयो । त्यसमाथी सधैँ घरको काम सकेर पानी ल्याउनु गृहणीको मात्रै जिम्मेवारी जस्तै भएको छ ।
मयावती सदा (६०) रोगी हुनु हुन्छ । खुट्टाको हड्डी खिएर दुख्ने भएकाले यताउता हिड्डुल गर्न सक्नुहुन्न । सुगर, प्रेसर र अन्य रोगले थलिनु भएकोले टाढाबाट खानेपानी बोकेर ल्याउन सक्नु हुन्न । घर नजिकै भएको धारोमा आएको पानी थाप्न नपाउँदा वा नपुग्दा भोक्कै प्यासै बस्ने गरेको सुनाउनु भयो ।
यस्तै, मुसहर समुदायकी अगुवा आशा सदाले पानीको धेरै समस्या भएको बताउनु भयो । ‘४० घर परिवारको लागि दुई÷तीन घण्टा पानी आउने एउटा धारो छ । यसले मान्छेलाई पिउँनै पुग्दैन । नुहाईधुवाई, सरसफाई र सुँगर, बाख्रा लगाएत पशुचौपायको लागि खोला र खोल्सामा पानी खोज्न हिड्नु पर्छ,’ उहाँले भन्नु भयो ।
सबैको घरघरमा चर्पी बनाइएको छ । खुल्ला दिसा मुक्त क्षेत्र घोषणा भएको छ । तर, यहाँका स्थानीयबासी पानी नभएर दिसापिसाव गर्न जंगल धाउन बाध्य छन् । सदा भन्नु हुन्छ, ‘पानीको अभावले सरसफाई गर्न नसक्दा स्थानीयबासीलाई झाडापखाला लागिरहन्छ । बिरामी भइरहन्छन् ।’
घण्टौँ लगाएर ल्याएको खोला र खोल्साको पानी पिउन योग्य नभएको उहाँको भनाई छ ।
खानेपानीको दुख भएको लहीरी सदाले बताउनु भयो । उहाँका अनुसार धारोमा पानी आउँदा झगडा मात्र होर, पिटापिट हुन्छ, टाउको फुटाफुट नै हुन्छ । ‘पानी चाहिएको हुन्छ । पानी थाप्दा थाप्दै सुकिदेला वा भर्न नपाईएला भनेर सबैलाई पानी थाप्न हत्तार हुन्छ,’ उहाँले भन्नु भयो,‘ धारोमा पानी आएको बेला झगडा नै पर्छ । गाग्रीहरु कति फुटे, कति खुचिए । कतिले त जरीवाना समेत तिरेका छन् ।’
नेपालको संविधानले स्वच्छ पिउने पानी पाउनु नागरिकको मौलिक हकको रुपमा व्याख्या गरेको छ । तर, यहाँका नागरिकहरुले त्यसको उपयोग गर्न पाएका छैनन् । सरकारले खानेपानीको व्यवस्था गरिदिनु पर्ने मुसहर समुदायको माग छ ।
‘एक घर एक धारा’ तीन वटै सरकारको नीति तथा कार्यक्रम भएपनि कार्यान्वयन नहुँदा उपभोक्ता बर्षौँदेखि खानेपानीको सास्ती व्यवहोर्न बाध्य छन् ।
दुधौली नगरपालिका प्रमुख (मेयर) दिनेश अधिकारीले सरकारको नीति तथा कार्यक्रम ‘एक घर एक धारा’ लाई कार्यान्वयनमा जोड दिने बताउनु भयो । ‘यसका लागि आवश्यक परामर्श तथा तयारी गर्नु पर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ‘समस्या कति भुगोल, समुदायमा छ, यसको सम्भाव्यता अध्ययनका साथै डिपिआर तयार गरि जति सक्दो छिटो खानेपानी सम्बन्धमा नगरभित्र देखिएका समस्याहरु समाधान गर्ने छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच