मतपत्रको सम्मान गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु : स्थापित

Read Time = 2 mins
A A- A+

काठमाडौं । एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान बालेनलाई मेयरमा विजयी भएको घोषणा गरेपछि स्थापितले बधाई दिँदै आफूलाई अवसर दिने एमालेप्रति आभार व्यक्त गर्नुभएको छ ।
‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्य रूपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ शुक्रबार जारी गरेको विज्ञप्तिमा स्थापितले भन्नुभएको छ ।

पाँच वर्षे कार्यकालमा बालेनको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्ने अपेक्षा पनि लिएको स्थापितले बताउनु भएको छ । ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र यहाँको समृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धर्मराएको छैन। निर्वाचनमा पराजय भोग्दै गर्दा काठमाडौँ महानगरपालिकामा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौँ महानगरवासीले तपाईमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु,’ स्थापितले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?