शब्द, संगीत र गायकीको उत्कृष्टताले नै राम्रो सिर्जनाको प्रादुर्भाव हुन्छ : दिपक शर्मा

कृष्ण भुसाल
Read Time = 11 mins

धौलागिरि हिमालको काखमा जन्मन पाएकोमा आफूलाई भाग्यमानी सम्झने यतिबेलाका लोकप्रिय र व्यस्त संगीतकार दिपक शर्मा आफ्नो सिकाइको प्रेरणा धौलागिरि हिमाल सम्झनुहुन्छ । उहाँ हिमाल हेरेर गीत कोर्न थालेको र हिउँ पग्लेको देखेर गुनगुनाउन लागेको बताउनुहुन्छ । संगीतको पहिलो सिकाइ नै आफ्नो जन्मभूमि रहेको उहाँ बताउनुहुन्छ । कुनै पनि संगीत सिर्जना गर्नुभन्दा पहिले आफूले सधैँ जन्मभूमि सम्झने गरेको शर्मा बताउनुहुन्छ । म्याग्दीको ‘कुँहु’ मा जन्मिनुभएका संगीतकार शर्माले नेपाली गीतसंगीतको फाँटमा सयौँ हिट गीत दिनुभएको छ । उहाँले संगीत गरेका प्रायः सबै गीतहरू श्रोता/दर्शकले मन पराएको पाइन्छ । अहिले उहाँको संगीतमा रहेको ‘जदो माया....’ गीत सर्वाधिक मन पराइरहेको छ । एक हजारभन्दा बढी गीतमा संगीत दिइसक्नुभएका दिपकले २०० भन्दा बढी गीत पनि लेख्नुभएको छ । नयाँदेखि अहिले बजारमा नाम चलेका गायकगायिकाहरूले शर्माको संगीतमा गीत गाइसकेका छन् । चलचित्रका गीतदेखि लिएर लोकपप गीतमा समेत व्यस्त रहनुभएका उहाँ भर्खरै छविराज ओझाको चलचित्रको गीतको काम सकिएको बताउनुहुन्छ । शर्मा ‘मलाई आफ्नो बनाएर दुखी बन्छौ भने’, ‘जिन्दगीकै सवाल हुन्छ...’, ‘छुट्टिएर तिमीसँग बाँच्न सक्ने...’, ‘आँधीखोला उर्लिएर...’, ‘हेर्ने मन छ तिमीलाई...’ ‘पिरिम नलाउने...’, ‘तिम्रा डोलाडोला हातमा मेहन्दी भरिछौ...’, ‘तिम्रो पिक्चर हिट्...’, ‘पर्ख पर्ख मायालु...’, ‘देखन चम्पा...’, ‘पहिलो नम्बरमा...’ जस्ता अनगिन्ती चर्चित गीतका संगीतकार हुनुहुन्छ भने उहाँका धेरै गीत युट्युबमा करोडौँ क्लबमा परेका छन् । गीतले चर्चा बटुल्न तथा कालजयी हुनका लागि शब्द, संगीत, गायकी सबै कुराको राम्रो तालमेल हुनुपर्छ भन्ने मान्यता राख्नुहुने लोकप्रिय संगीतकार दिपक शर्मासँग हिमाल टाइम्सको हिँड्दा हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको कुराकानीको संक्षिप्त अंश :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
म गीतसंगीत क्षेत्रसँग सम्बन्धित मान्छे भएकाले यसै सम्बन्धित कार्यमा आफूलाई व्यस्त बनाउँदै आएको छु । म प्रायः संगीत कर्ममै व्यस्त हुन्छु । कहाँबाट नयाँ धुन र लय निस्कन्छ त्यही विषयमा अध्ययन गरिरहेको हुन्छु ।

गीतसंगीतको क्षेत्रमा कहिलेदेखि हुनुहुन्छ र पहिलो गीत कुन थियो ?
करिब १८ वर्षदेखि यही क्षेत्रमा छु । सुरुवातमा लोकगीतमा संगीत कम्जोज गरेको थिएँ । त्यो बेला राम्रा गीतको अडियो अत्यन्तै बिक्थ्यो । ‘ढल्के पिपल’ भन्ने गीतमा पहिलोपटक संगीत गरेको थिएँ । निकै लोकप्रिय पनि भयो ।

यहाँको संगीतमा के जादु छ, जुन छोयो त्यही हिट हुन्छ त ?
जादु शब्द भन्दा पनि मेरो मिहिनेतको फल होला सायद । गीत हिट गराउन त्यस्तो कुनै बेग्लै आइडिया छैन मसँग । कुनै पनि गीत चर्चित हुनका लागि शब्द, संगीत, गायकी सबै कुराको राम्रो तालमेल हुनुपर्छ । र, अर्को कुरा गीतको स्वाद नयाँ पनि हुन जरुरी छ । मैले धेरै गीत गरे पनि केही प्रतिशतमात्रै हिट भएका छन् । कुनै गीत मैले उत्कृष्ट दिएको भए पनि श्रोता/दर्शकले त्यसलाई खासै महत्व नदिएको पाइन्छ । केही गीत आफैंलाई ठिकठिकै लागे पनि ती गीत श्रोता/दर्शकले अत्यधिक मन पराउने गरेका छन् ।

यो क्षेत्रमा कसरी आउनुभयो ?
म सानैदेखि साहित्य कलामा रुचि राख्थेँ । यस्तै ४, ५ कक्षा पढ्दा साहित्यिक क्लबमा थिएँ । त्यहाँ हाम्रो सानोतिनो कम्पिटिसन हुन्थ्यो, त्यसमा आफैंले कविता लेख्ने, गीत लेख्ने प्रतियोगिता हुन्थ्यो । आफ्नै शब्दमा गीतहरू बनाउँथँे र पहिलो पनि हुन्थेँ । यस्तो गर्दागर्दै मैले संगीतमा लाग्नुपर्छ भनेर एसएलसी परीक्षा सकेर काठमाडौं प्रवेश गरेँ र औपचारिक संगीत शिक्षा सिकेँ । अहिले त्यहीबेलादेखिको यात्रा निरन्तर गरिरहेको छु ।

यहाँका अहिलेसम्म आउँदा धेरै गीत हिट भएका छन्, पहिलो हिट भएको चलचित्रको गीत कुन थियो ?
अहिलेसम्म मैले हजारभन्दा बढी गीतहरूमा संगीत दिइसकेँ । छविराज ओझाको ब्यानरमा बनेको मंगलम् चलचित्रको ‘पर्ख पर्ख मायालु...’ भन्ने गीत नै पहिलो फिल्मी सुपरहिट गीत हो । छक्का पञ्जाको ‘देखन चम्पा...’ पनि सुपरहिट गीत नै हो । तर, ‘पर्ख पर्ख मायालु...’ ले अझ धेरै राम्रो प्रतिक्रिया पायो । ‘पिरिम नलाउने...’ भन्ने गीत दर्शकश्रोताले पनि अत्यधिक रुचाउनुभयो । यस्तै अहिले ‘जदो माया....’लाई धेरैले मन पराइरहनुभएको छ ।

गीतकारले कुनै गीत दिएपछि यहाँको पहिलो काम के हुन्छ ?
सुरुमा त मैले शब्दले के भन्न खोजेको छ ? कस्तो अर्थ लाग्छ, त्यसमा लुकेको भाव बुझ्ने कोसिस गर्छु । शब्द अगाडि बसेर संगीतका १२ सुरहरू ‘सा रे ग म प ध नी सा’ भित्रै लय बनाउने हो । संगीत भर्ने खास क्षमता संगीतकारसँग छैन भने राम्रो धुन बन्दैन ।

कम्पोजिसन के हो ?
मलाई के लाग्छ भने यो एउटा मेडिटेसन हो । मेलोडी बनाउने समयमा म हातमा हार्मोनियम, गितार वा पियानो लिएर बसेको हुन्छु । कसरी नयाँ धुन निस्कन्छ ? शब्दलाई फिल गर्दै गुनगुनाउने गर्छु । यो एउटा ध्यान गर्नु जस्तै हो ।

कत्तिको गाह्रो छ ?
सबैभन्दा गाह्रो काम भनेको नै सिर्जना गर्नु हो । मेलोडी (धुन) ब्रहृमाण्डमा नै छरिएर रहेको छ । खोलाको कलकल होस् वा बहिरहेको हावाको झोक्का होस् या झरी पर्दाको झमझम त्यहाँ पनि सुमधुर धुन हुन्छ । हाम्रै वरिपरि भएको यसरी यत्रतत्र छरिएको मेलोडीलाई हाम्रो आफ्नो अनुकूल बनाउने हो, त्यही नै धुन सिर्जना हो ।

तपाईंले आफैंलाई अलिक यसमा मैले फरक गरेँ भन्ने कुन छ ?
मैले सबै गीतमा फरक नै गर्ने गर्छु । नयाँ टेस्ट दिने कोसिस गर्छु । यस्तै ‘देखन चम्पा, सुनन चम्पा...’ गीतलाई सुदूरपश्चिमको लवज र टोन भन्ने गरिन्छ । यसमा मैले नयाँ प्रयोग गरेको छु । त्यसैगरी अन्य गीतमा पनि मेरो फरकपनको कोसिस रहने गर्दछ ।

गीतमा संगीत भर्न ख्याति कमाउनुभएको यहाँले थुप्रै गीत पनि लेख्नुभएको छ नि ?
हो, म संगीत सिर्जना सँगसँगै गीत लेखनमा पनि आफूलाई सक्रिय राख्दै आएको छु । मैले २०० भन्दा बढी गीत लेखेको छु ।

यस क्षेत्रमा यहाँको प्रेरणाको स्रोत ?
मैले यस क्षेत्रमा गरेको संघर्ष नै हो । संघर्षका क्रममा जे भोगेँ, जसलाई भेटेँ, जसले मलाई आज यो ठाउँसम्म पुग्न सहयोग गर्नुभयो जो–जति पनि हुनुहुन्छ मेरो घरपरिवार, साथीभाइ, आफन्त, मेरो गुरु, निर्देशक, यस क्षेत्रका सम्पूर्ण आदरणीय र मलाई माया गर्ने व्यक्तित्व, दर्शक श्रोता, तपाईंहरू जस्तै सञ्चारकर्मी सबै सबै मेरा लागि प्रेरणाका स्रोत हुनुहुन्छ ।

आफ्नो सिकाइको प्रेरणा ?
धौलागिरि हिमालको काखमा जन्मन पाएकोमा आफूलाई भाग्यमानी सम्झन्छु । आफ्नो सिकाइको प्रेरणा धौलागिरि हिमाललाई सम्झन्छु । हिमाल हेरेर गीत कोर्न थालेँ, हिउँ पग्लेको देखेर गुनगुनाउन थालेँ । संगीतको पहिलो सिकाइ नै मेरो जन्मभूमि हो । कुनै पनि संगीत सिर्जना गर्नुभन्दा पहिले आफूले सधैँ जन्मभूमि सम्झिने गर्दछु ।

यो क्षेत्रमा आउने जमर्को गर्दै गरेकालाई कस्तो सल्लाह दिन चाहनुहुन्छ ?
आफू राम्रोसँग माझिएर, केही नयाँ दिन सक्छु भनेर आउनुहोस् भन्न चाहन्छु । हाम्रा सिर्जनामा आफ्नोपन हुन आवश्यक छ, यसमा ध्यान दिनुहोस् भन्न चाहन्छु । अरूको चिजबाट आफ्नोपन खोज्नुभन्दा हाम्रो माटोको सुगन्ध खोज्नुहोस् हाम्रा सिर्जनामा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?