मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, नीतिगत व्यवस्थालाई निरन्तरता

Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । तर, उसले कुनै नीतिगत परिवर्तन भने गरेको छैन । मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरूप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात, बैंक दर र पुनर्कर्जा दरलाई यथावत् राखिएको जनाएको छ । मूल्य तथा बाहृय क्षेत्र स्थायित्वलाई मध्यनजर गरी उत्पादनशील क्षेत्र, लघु, साना तथा मझौला व्यवसाय, आन्तरिक उत्पादन अभिवृद्धि तथा निर्यात प्रवद्र्धनलगायतका क्षेत्रमा वित्तीय साधनको प्रवाह बढाउन जोड दिइने राष्ट्र बैंकले जनाएको छ ।

मुद्रास्फीति तथा विदेशी विनिमय सञ्चितिको आयात धान्ने क्षमतामा दबाब पर्दै गएमा मौद्रिक नीतिको कार्यदिशालाई थप कसिलो बनाउँदै लगिने र आन्तरिक तथा बाहृय क्षेत्रमा विद्यमान दबाब कम गरी समष्टिगत आर्थिक स्थायित्व कायम गर्न व्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गरिने मौद्रिक नीतिको त्रैमासिक समीक्षामा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा आयातमा उल्लेख्य वृद्धि भएको र विप्रेषण आप्रवाह स्थिर रहेका कारण बाहृय क्षेत्र दबाबमा परेको छ । बाहृय क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर घाटा बढेको छ भने विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता घटेको छ । चालु आर्थिक वर्षको नौ महिनासम्मको आर्थिक तथा वित्तीय स्थिति, मौद्रिक नीतिमा उल्लिखित नीति तथा कार्यक्रमको कार्यान्वयन अवस्था, नेपाल सरकारको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय आर्थिक परिदृश्यलाई ध्यानमा राखी मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा चालु खाता पाँख खर्ब १२ अर्ब ७१ करोड घाटामा रहेको छ भने शोधनान्तर स्थिति दुई खर्ब ६८ अर्ब २६ करोड घाटामा रहेको छ । २०७८ चैतमा कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा नौ अर्ब ६१ करोड रहेको छ । उक्त सञ्चिति ६.६ महिनाको मात्र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?