सुमनलाई कराँतेमा स्वर्ण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपालका सुमन भोलनले आठौँ सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा शुक्रबार स्वर्ण जित्नुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गर्नुभयो । भारतका हरि राम र चैतन्य शर्माले तेस्रो स्थानमा चित्त बुझाउनुभयो ।

प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच उद्घाटन गर्दै प्रतियोगिताको पहिलो संस्करण पनि आफंैले उद्घाटन गरेको स्मरण गर्नुभयो । उहाँले खेल क्षेत्र मानवीय, सामाजिक र राजनीतिक जीवनमा अत्यन्तै महत्वपूर्ण भएको भन्दै जुनसुकै राष्ट्रको विकासको मापन गर्ने मापदण्ड खेलकुद भएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले कुनै देशको आर्थिक क्षेत्रको विकासको माध्यम पनि खेल क्षेत्र नै भएको बताउँदै राष्ट्रिय एकता तथा अन्तर्राष्ट्रिय भाइचाराको निर्माण गर्ने माध्यम पनि खेल क्षेत्र भएको धारणा व्यक्त गर्नुभयो । उहाँले खेलकुद क्षेत्रको विकासका लागि ऊर्जाशील तथा खेल क्षेत्रमा विज्ञता हासिल गरेका युवाहरूलाई रोज्ने गरेको र त्यसबाट खेलकुदको समग्र विकास गर्दै यसैको माध्यमले आर्थिक र समृद्ध राष्ट्र बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

राखेपका सदस्य-सचिव टंकलाल घिसिङले ३६५ दिन नै राष्ट्रिय टिम तयार गरी सञ्चालन गर्ने योजना परिषद्ले बनाएको बताउँदै कराँते खेलले राष्ट्रको नामलाई उच्च राख्दै आएको बताउनुभयो । उहाँले १७औँ एसियाली खेलकुदमा कराँतेबाट विमला तामाङले राखेको इतिहासलाई कराँतेले पुनः कायम गर्ने गरी सम्बन्धित निकायले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सितोरियो कराँते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र भुटान गरी चार राष्ट्रको सहभागिता रहेको आयोजक डोजोका प्रमुख गजेन्द्रबहादुर खपाङ्गीले जनाउनुभएको छ । प्रतियोगितामा विभिन्न २७ स्पर्धामा एक हजार खेलाडी सहभागी भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?