अभिनेत्री दिया पुनसहित २० जनाको टिमद्वारा सगरमाथा आरोहण

Read Time = 2 mins

काठमाडौं । अभिनेत्री दिया पुनले संसारकै अग्लो शिखर सगरमाथाको आरोहण गर्नुभएको छ । उहाँले शुक्रबार बिहान आफ्नो २० जनाको टिमसहित ८,८४८.८६ मिटर उचाइको सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । सगरमाथामा दियाले राष्ट्रिय झण्डा फहराउनुभएको थियो । सगरमाथा आरोहणपछि उहासहितको टोली सुरक्षित रूपमा साउथ कोलमा फर्किसकेको छ ।

उक्त टिममा रहनुभएका चारजना शेर्पाले अक्सिजनको सहायता बिनै चुचुरो चुम्नु भएको बताइएको छ । आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दियाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढ्नु भएको हो ।

दियाले बेलायतमा अवस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, कोलचेष्टर अस्पताल च्यारिटी र नेपालस्थित चिल्ड्रेन एण्ड युथ फष्र्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले सगरमाथाको आरोहण गर्नुभएको हो । उहाँ लामो समयदेखि परिवारसँग बेलायतमा बस्दै आउनु भएको थियो । दिया बेलायतमा नर्सिङ पेशामा आबद्ध हुनुहुन्छ ।

दियाले यसअघि नेपालको मनास्लु हिमाल र अर्जेन्टिनामा अवस्थित ६ हजार ९६१ मिटर अग्लो माउण्ट ओकुनकागवाको पनि आरोहण गरिसक्नुभएको छ । ‘वीर विक्रम’बाट अभिनेत्रीको रूपमा सुखद् डेब्यु गर्नुभएको उहाँले ‘मिस्टर झोले’, ‘दयारानी’लगायत चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँले अभिनय गरेको नयाँ चलचित्र ‘मन्त्र’ यस वर्षको वैशाख १६ गते प्रदर्शन भएको थियो ।

दिया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बन्नुभएको छ । यसअघि अभिनेत्री निशा अधिकारीले सगरमाथा चढिसक्नुभएको छ भने गतसाता गायक राजु लामाले जलवायु परिवर्तनविरुद्धको सन्देश दिन सगरमाथा चढ्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?