एमडिएमएस तत्काल लागू गर्न माग

Read Time = 4 mins

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न मोबाइल व्यवसायीले माग गरेका छन् । मोबाइल व्यवसायीका समस्या र चुनौतीलगायतका विषयमा काठमाडौंमा आयोजित अन्तरक्रियामा उनीहरूले यस्तो माग गरेका हुन् ।

आगामी बजेटमा सरकारले मोबाइल आयातमा लाग्दै आएको अन्तःशुल्क बढाउन लागेको जानकारी पाएको बताउँदै नेपाल मोबाइल फोन इम्पोटर्स एसोसिएसनका अध्यक्ष दीपक मलहोत्राले एमडिएमएस लागू गरेरमात्रै अन्तःशुल्क बढाउन आग्रह गर्नुभएको छ । खुला सीमाका कारण चोरीपैठारीका फोन भित्रिएकाले व्यवसाय संकटमा पर्न थालेको उहाँको भनाइ थियो ।

सरकारले तत्काल एमडिएमएस लागू नगर्ने हो भने राजस्वमा कमी आउने उहाँले बताउनुभयो । महँगा मोबाइल फोन विलासिता नभई आवश्यकता भएकाले सरकारले निर्वाधरूपमा मोबाइल फोन आयात खुलाउनुपर्ने पनि संघको माग रहेको छ ।

सरकारले एमडिएमएस लागू गर्दा आपराधिक क्रियाकलाप पनि नियन्त्रण हुने बताइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले एमडिएमएस पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको भन्दै आगामी तीन महिनाभित्रै लागू गरिने बताउनुभयो ।

साथै उहाँले चोरीका मोबाइलको कारोबार गर्ने व्यापारी पहिचानका लागि सहयोग गर्न पनि संघलाई आग्रह गर्नुभएको छ । चोरीका मोबाइलको कारोबार गर्ने पनि संघकै व्यापारी भएकाले संघलाई जानकारी हुने उहाँको भनाइ थियो । भन्सारबाट भित्रिएका सबै फोनको भन्सार शुल्क नलिई एमडिएमएस पूर्णरूपमा लागू नहुने पनि उहाँले बताउनुभयो । उपत्यका प्रहरी प्रमुख उत्तम सुवेदीले अपराधको सबैभन्दा ठूलो कारण इन्टरनेट र मोबाइल फोन रहेको भन्दै मोबाइल फोनको व्यवस्थापन अति आवश्यक भएको बताउनुभयो ।

प्राधिकरणका अनुसार एमडिएमएस मोबाइल डिभाइसको तथ्यांक राख्नका लागि प्रयोग गरिने एक अन्तर्राष्ट्रिय प्रणाली हो । उक्त प्रणालीमा राखिएको मोबाइल तथ्यांकले कुन मोबाइल वैध र कुन अवैध भन्ने छुट्याउन सहयोग गर्छ । जसले गर्दा मोबाइन फोनको बजारलाई व्यवस्थित गर्न सहज हुन्छ ।

भन्सारको वैधानिक बाटोमार्फत् भित्रिने सबै मोबाइल फोनको आइएमइआई नम्बर प्राधिकरणले एमडिएमएस प्रणालीमा राख्नेछ । त्यसबाहेक विदेशबाट उपहारमा वा किनेर ल्याइएका मोबाइलको आइएमइआई नम्बर प्रयोगकर्ता आफैंले दर्ता गराउन सक्नेछन् । अवैध मोबाइल फोन भने चल्ने छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?