पूर्वपत्रकार दाहाल मृत्यु प्रकरण : अनुसन्धान समिति गठनपछि आफन्तले शव बुझे

Read Time = 6 mins

-चिसाङ शेर्पा
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका पूर्वपत्रकार मणिराम दाहालको रहस्यमय तरिकाले मृत्यु भएपछि अनुसन्धान समिति गठन गरिएको छ । ६३ वर्षीय दाहालको शुक्रबार दिक्तेलको हाँटडाँडास्थित क्षितिज बहुउद्देश्य बचत तथा ऋण सहकारी संस्थाको कार्यालय रहेको घरमा रहस्यमय ढंगबाट मृत्यु भएपछि अनुसन्धान समिति गठन गरिएको हो ।

शनिबार जिल्ला प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको अध्यक्षता तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रहरी नायब उपरिक्षक उमेश लम्साल, दिक्तेलका वडाध्यक्ष नवराज राई, खाल्लेका वडाध्यक्ष खगेन्द्र राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, मृतकका छोरा नवराज दाहाल, मृतकका छोरी मन्जु दाहाल थापाको उपस्थितिमा प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा ६ सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो ।

अनुसन्धान समितिले यथाशिघ्र सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही समेत गर्ने निर्णय भएको छ । शुक्रबार मृत फेला परेका दाहालको शरीरमा चोट देखिएको, भुइँमा सुतेको, सिरक ओढेको, नाक र मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए । मृत्यु भएको खबर आएपछि उहाँले प्रयोग गर्ने गरेको मोवाइल खाटमाथि भेटिएको थियो । तर, प्रहरीले सर्जमिन मुचुल्का तयार पार्नेक्रममा मोवाइल नै हराएपछि मृतकका आफन्तले घट्नालाई थप शंकास्पद मानेका छन् ।

हराएको मोवाइल सार्वजनिक गरेर घट्नाको सुक्ष्म ढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ । शवको शनिबार परीक्षण भए पनि आफन्तले शव बुझेनन् । शव परीक्षणपछि मृतक दाहालका आफन्तहरुले जिल्ला अस्पतालबाट जिल्ला प्रशासन कार्यालयसम्म विरोध जुलुस प्रदर्शन गरेका थिए । विरोध जुलुस प्रदर्शनपछि अनुसन्धान समिति गठन गरिएको हो ।
अनुसन्धान समिति गठनपछि आईतबार आफन्तले शव बुझेका छन् । मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य तथा नेपाल प्रेस युनियन जिल्ला शाखाका पूर्व संस्थापक सदस्य एवंम् भूतपूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँ क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुनुहुन्थ्यो ।

मृत्युको बास्तविकता चाँडो बाहिर ल्याउन युनियनको माग

नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङले पूर्वपत्रकार मणिराम दाहालको मृत्युको बास्तविकता बाहिर ल्याउन माग गरेको छ । युनियनका जिल्ला सचिव चिसाङ शेर्पाले शनिबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै मृतकको शरीरमा चोटपटक हुनु, भुइँमा सुतेको र सिरक ओढेको, नाक तथा मुखबाट रगत बगेको अवस्थामा भेटिनुले अप्राकृतिक ढंगले मृत्यु भएको देखिएको भन्दै यथाशीघ्र अनुसन्धान गरी नतिजा बाहिर ल्याउन प्रहरी प्रशासनलाई अनुरोध गर्नुभएको छ ।

स्मरण रहोस उहाँ बसोबास गर्दै आएको स्थान नै प्रहरीको सुरक्षासँग जोडिएको सबैलाई थाहा छ । शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘यसर्थ, घटनाको सत्य तथ्य पत्ता लगाइ चाँडोभन्दा चाँडो बास्तविकता बाहिर ल्याउन जोडदार माग गर्दछौं ।’

यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखाले पनि पूर्वपत्रकार दाहालको मृत्युको विषयलाई सुक्ष्म ढंगबाट अनुसन्धान गरी यथाशिघ्र नतिजा बाहिर ल्याउन प्रहरी प्रशासनसँग आग्रह गरेको छ । मृतक दाहालको मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटोभन्दा माथिल्लो भाग निलो भएको अवस्थामा भेटिनुले अप्राकृतिक ढंगले मृत्यु भएको देखिएको महासंघका अध्यक्ष दिलीप खत्रीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । घट्नाको सत्यतथ्य पत्ता लगाइ चाँडोभन्दा चाँडो बास्तविकता बाहिर ल्याउन जोडदार माग गर्दछौ । विज्ञप्तिमा भनिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?