विवाहित हिन्दू मैथिल नारीले आज वटसावित्री पर्व मनाउँदै

Read Time = 2 mins

जनकपुरधाम । विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

बितेका लगातारका दुई वर्ष कोभिड-१९ महाव्याधिले मन फुकाएर रमाइलो गर्दै पर्व मनाउन नपाएका मिथिलानी यसपालि भने आपसी भेटघाट, कुराकानी गर्दै सामूहिकरुपमा व्रतको तयारीमा छन् ।

विवाहित महिलाले मनाउने यस पर्व मिथिला लोकसंस्कृति र परम्पराको अभिन्न अंग बनेको छ ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ ।

वरको रुखमा व्रह्मा, विष्णु र महेशसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको संकल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?