बागमती प्रदेशको नीति तथा कार्यक्रम, कृषि, स्वास्थ्य-शिक्षा र युवा लक्षित

Read Time = 8 mins

-श्रीराम अर्जुन
हेटौंडा । बागमती प्रदेश सरकारले आव २०७९/०८०को लागि सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्रका लागि योजना ल्याउने गरी नीति तथा कार्यक्रम तयार पारेको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको प्रस्तुत नीति कार्यक्रमले देखाएको छ ।

बागमती प्रदेश सरकारले प्रदेश संचार प्राधिकरण स्थापना गर्ने भएको छ । प्रदेशभित्रका संचालनमा रहेका संचार गृहहरूको व्यवस्थित संचालन र विकास विस्तारका लागि प्राधिकरण स्थापना गर्ने बताउनुभयो । बागमती प्रदेश सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक विद्यालय, एक नर्स कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

त्यस्तै उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिनुका साथै प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने र रंगशाला निर्माण गर्ने योजना अघि बढाएको प्रदेश प्रमुख शर्माले बताउनुभयो ।

त्यसैगरी पशु बिमालाई प्रभावकारी बनाउने र संघ तथा स्थानीय तहको समन्वयमा एक वडा, एक पशु सेवा कार्यालयको स्थापना गरिने बताउनुभयो । सरकारले आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गरी आयुर्वेदिक औषधि उत्पादनलाई प्रवद्र्धन गर्न चितवनको रत्ननगरमा आयुर्वेदिक औषधि उत्पादन केन्द्र स्थापना गर्ने बताउनुभयो ।

त्यसैगरी सरकारले हेटौंडा अस्पताललाई २०० वेड क्षमतामा विस्तार गर्ने र धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौंडा अस्पतालमा मृगौला प्रत्यारोपण सेवा संचालन गर्ने कार्यक्रम शर्माले प्रस्तुत गर्नुभएको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्थित गरी आफ्नै स्वामित्वमा अस्पताल निर्माण गर्ने कार्यक्रम अघि सारिएको छ । सरकारले प्रदेशभित्रका बाल विकास केन्द्रलाई स्थानीय तहसँगको सहकार्यमा नमूना केन्द्रको रुपमा स्तरोन्नती गर्ने बताउनुभयो । सरकारले स्थानीय तहसँगको सहकार्यमा दलित, अपाङ्ग, सीमान्तकृत एवम् विपन्न विद्यार्थीलाई विद्यालय शिक्षामा पहुँच वृद्धि गर्ने भएको छ । उहाँले कोही पनि बालबालिका शिक्षाको पहुँचबाट बञ्चित हुन नपारोस् भन्नका लागि यो योजना अघि सारिएको बताउनुभयो ।

त्यस्तै विद्यालयको भौतिक सुधार गरी आधुनिक पाठ्य सामग्री तयार पारी प्रत्येक जिल्लाको कम्तिमा एक विद्यालयमा नमूना बाल विकास केन्द्र सञ्चालन गरिने बताउनुभयो । गुरु योजना स्वीकृत भएका आवासीय विद्यालयकाहरुको भौतिक विकास गर्नुका साथै नमूना विद्यालयमा विकास गुरुयोजना कार्यान्वयन गरिने समेत बताउनुभयो ।

सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि सूचना प्रविधि प्रयोगशाला, विज्ञान तथा विषयगत प्रयोगशालाहरू स्थापना गरि बागमती प्रदेशलाई शिक्षाको हबको रुपमा विकास गर्दै लैजाने बताउनुभयो ।

उहाँले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम थप प्रभावकारी बनाउदैं लैजाने, जनता पोषण कार्यक्रम, स्वास्थ जीवनशैली प्रवद्र्धन बागमती प्रदेशको अभियान कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । प्राविधिक शिक्षालाई प्राथमिकता, वैज्ञानिक खोज अनुसन्धान परिषद् स्थापना गरिनेछ । त्यस्तै, सहयोगापेक्षी सडक मानवमुक्त बागमती प्रदेश घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

एकघर एक धारा, पूर्ण सरसफाइ हाम्रो अभिभारा अभियान सञ्चालन गर्दै प्रदेशभरका खरका छाना मुक्त बनाई कार्यक्रमहरु सञ्चालन गरिनेछ । आत्मनिर्भर कृषिः समृद्ध प्रदेश भन्ने नारालाई सार्थकता दिन कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकिकरण गरिने बताउनुभयो ।
अण्डा, माछामासु, आलु प्याज, लसुन र अदुवा लगायतका वस्तुहरुमा आत्मनिर्भर बनाउन कार्यक्रमहरु सञ्चालन गरिने, प्रदेश पोल्ट्री विकास बोर्ड स्थापना गरिने, एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रदेश सरकारले प्रदेश भित्रका गरिव तथा बिपन्न कम्तीमा दश हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहमा एक वडा एक साना उद्योग कार्यक्रम सञ्चालन गर्ने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न नेपाल आर्ट भिलेजद्वारा ललितपुर जिल्लाको गोदावरी नगरपालिका अन्तर्गत डुकुछाप र छम्पी गाउँमा निर्माणाधिन ७२ फिट अग्लो भैरव देवताको मूर्ति निर्माण स्थललाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरि प्रदेशको पर्यटन क्षेत्र विकासका लागि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय स्थलहरुको विकास गरी घुमफिर वर्ष २०७९ कार्यक्रम गरिनेछ ।

धादिङमा रुबीभ्याली एकीकृत विकास कार्यक्रमलाई निरन्तरता दिनुका साथै गुरु योजना बमोजिम हेटौंडाको समग्र विकासको लागि कार्यक्रमहरु राखीएको छ । सवारी साधन अनुमतीपत्रको परिक्षालाई थप व्यवस्थित बनाइनेछ । यात्रुको सुरक्षा, सवारीको पहिलो प्राथमिकता अभियान सञ्चालन गरिने बताउनुभयो । संघीय सरकार र स्थानीय सरकारसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनुका साथै पुनर्निर्माण तथा पुस्र्थापना कार्यलाई निरन्तरता दिने बताउनुभयो ।

प्रदेश प्रमुख शर्माले १६९ वटा बुँदामा बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?