विद्यालय हाताभित्र शिक्षकले मादक पदार्थ सेवन गरेपछि विधार्थी उत्रिए आन्दोलनमा

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । बाराको कोल्हवी नगरपालिकास्थित एउटा विद्यालय हाताभित्र केही शिक्षकहरुले मादक पदार्थ सेवन गरेको भन्दै विद्यार्थीलेहरूले नाराबाजीसहित विरोध गरेका छन ।

कोल्हवी नगरपालिका वडा नम्बर १ मा रहेको श्री अनुप दिपनी माध्यमिक विद्यालय हाताभित्र विद्यालयका शिक्षकहरूले रक्सीसहित भोजभतेर गरेको भन्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले शिक्षकविरुद्ध नाराबाजी गरेका हुन ।

सोमबार विद्यालय आएका विद्यार्थीहरूले विद्यालय परिसरमा मदिराको खाली बोतल फालिएको देखेपछि विद्यार्थीले विरोध गरेका थिए । विद्यालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रमका अवसरमा आयोजित भोजमा शिक्षकहरुले मदिरा सेवन गरेको विद्यार्थीहरुले बताएका छन । बिदाई कार्यक्रमको नाममा विद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेर विद्याको मन्दिरलाई शिक्षकहरूले नै अपवित्र पारेको र प्रधानाध्यापक रामप्रकाश चौधरीले नियन्त्रण गर्न नसकेको उनीहरुले आरोप लगाएका छन ।

घटनाको विषयमा विद्यार्थीहरुले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा उनीहरुलाई विद्यालयबाट निष्काशन गरिदिने धम्की दिएपछि विद्यार्थीहरू थप आक्रोशित बनेका छन । बिदाई कार्यक्रम सकिएपछि आफूहरु घर गएको र मदिरा सेवन बारेमा केही जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहले बताउनुभयो । शिक्षकहरूले रकम जम्मा गरेर भोजभतेर गरेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । उहाँले विद्यालय हाताभित्र गलत क्रियाकलाप भएको पाइएमा त्यस्ता शिक्षकलाई कारबाही गरिने बताउनुभयो ।

तर यस विषयमा प्रधानाध्यापक चौधरीले भने केही बताउन चाहनुभएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?