उपभोक्ता ठगीको गुनासो आएसँगै व्यवसायीहरूको नापतौल यन्त्र जाँच

Read Time = 4 mins

-रामचन्द्र रायमाझी
पाल्पा । पाल्पाका व्यवसायीहरुले प्रयोग गर्दै आएका नापतौल यन्त्र नापजाँच गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग, गुणस्तर तथा नापतौल कार्यालय बुटवलको टोलीले नापतौल यन्त्रहरु नापजाँच गरेको हो । पाल्पा उद्योग वाणिज्य संघको अनुरोधमा टोलीले सोमबारदेखि वाणिज्य संघको सभाहलमा व्यवसायीहरुको नापतौल यन्त्र नापजाँच गरेको छ । ऐन र नियमानुसार व्यवसायीहरूको नाप्ने र तौलने यन्त्रहरू जाँच, नवीकरण तथा अनुमतिपत्र वितरण गरिएको छ ।

टोलीले अहिलेसम्म १ सय ४३ जना व्यवसायीले प्रयोग गर्ने नापतौलका यन्त्रहरुको जाँच गरेको गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक दिपेन्द्र रोकाहाले बताउनुभयो । उहाँका अनुसार १२ जना नयाँ व्यवसायीले नापतौलका लागि अनुमति लिएका छन् भने १ सय ३१ जना व्यवसायीले नविकरण गराएका छन् ।

नापतौल तथा गुणस्तर ऐन, २०२५ र नियमावली २०२७ अनुसार कार्यसम्पादन गरिएको निरीक्षक रोकाहाले बताउनुभयो । नापजाँचका क्रममा अहिलेसम्म सबै मापदण्ड अनुसार नै यन्त्रहरु प्रयोगमा रहेको उहाँले जानकारी दिनुभयो । केही ठाउँहरुमा मापदण्ड विपरीतका ढक÷तराजु आदि प्रयोग गरेर उपभोक्तालाई ठगी गरेका खबरहरु आइरहेपछि संघले जिल्लाका व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको नापजाँच गर्न पहल गरेको हो । विभाग आफैले बेला बेलामा व्यवसायीहरुले प्रयोग गर्दै आएका यन्त्रहरुको नापजाँच गर्नुपर्नेमा संघले पहल गर्नु परेको संघका अध्यक्ष राजु महर्जनले बताएउनुभयो । उहाँले सेवाग्राहीहरु कुनै पनि वहानामा व्यवसायीहरुबाट नठगिउन भन्ने उद्देश्यले नापतौल यन्त्रहरुको नापजाँच गरिएको बताउनुभयो ।

नापतौल तथा मापन यन्त्र प्रयोग गर्दा दर्ता तथा नवीकरण अनिवार्य गर्नुपर्ने नापतौल ऐन तथा नियमावलीमा स्पष्ट लेखिएको छ । नियमावली अनुसार ६ कुना भएको ढक, स्प्रिङ तराजु, मानापाथी र ढुङ्गाइट्टा लगायत कुनै पनि वस्तु प्रयोग गर्न पाइने छैन । तर ऐन नियमावली समय सान्दर्भिक नहुँदा नापतौलमा उपभोक्ता ठगिदै आएका छन् । सरकारले मापदण्ड विपरीतका ढक/तराजु आदि प्रयोग गरेर उपभोक्तालाई ठगी गर्नेलाई कारवाही पनि गर्ने गर्दछ । तर अहिलेसम्म पनि पाँच दशक अघिकै पुरानो गुणस्तर तथा नापतौल ऐन तथा नियमावलीमा टेकेर गुणस्तर तथा नापतौल कार्यालयले कार्यसम्पादन गर्दा भने प्रत्यक्ष मारमा उपभोक्ता पर्ने गरेका छन् । बजारमा नापतौलका नयाँ यन्त्र उपकरणहरू भित्रिरहेको र प्रयोगसमेत बढ्दै गएका बेला पुरानो ऐन र नियमका कारण उपभोक्ता ठगिने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?