बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

Read Time = 4 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबैको अपनत्व हुने गरी बजेट ल्याइएको बताउनुभएको छ । बजेट निर्माणपूर्व हरेक सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरी सरोकारवालाकै सुझाव, आवश्यकता, अपेक्षा र सिफारिसका आधारमा बजेट निर्माण गरिएको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि सहकार्यमा जोड दिनुभयो । आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित रहेर नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल र अर्थ मन्त्रालयको सहकार्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, ‘अब सबैले स्वामित्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ अग्रसर होऔँ । बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवाद उन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दछु ।’

प्रमुख वक्ता वरिष्ठ अर्थशास्त्री तथा नेपाल आर्थिक संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुर्‍यालले बजेटका विषयमा कार्यपत्र प्रस्तुत गर्दै बजेट समग्रमा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फीति र सार्वजनिक ऋण थप बढ्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ऋण ३६ प्रतिशतबाट बढेर ४४.५ प्रतिशतसम्म पुगेको छ तर विश्व बैंकको प्रतिवेदन अध्ययन गर्दा यस्तो ऋण ७७ प्रतिशतसम्म हुँदासम्म डराउनुनपर्ने पाएको छु । योभन्दा बढी भएमा भने जोखिमको तह उच्च दरमा बढ्ने उल्लेख गरिएकाले विशेष ध्यान दिनुपर्दछ ।’

अर्थविद् डा. पोषराज पाण्डेले तथ्यांक केलाउँदा बजेट पोलिसी डिरेक्सन र आशामात्रै जगाउने खालको देखिएको भए तापनि सकारात्मक सोच र सफा नियतसाथ बजेट आएको बताउनुभयो । वरिष्ठ अर्थविद् प्राडा गोविन्द नेपालले बजेट समावेशी र रूपान्तरणकारी भएको र विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको बताउनुभयो । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई सकारात्मक सोचसाथ बजेट आए पनि तरलता समस्या समाधानका विषयमा मौन रहेको बताउनुभयो ।

अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिए पनि विगत ४-५ वर्षका बजेट शृखंला अध्ययन गर्दै तथ्यांकीय हिसाबबाट बजेट सीमाभित्रै रहने गरी ल्याइएको बताउनुभयो । अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै सबैलाई अपनत्व महसुस हुने गरी बजेट आएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?