प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था हुनुपर्ने राप्रपाको प्रस्ताव

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने प्रस्ताव राखेको छ । राप्रपाको बुधबार र बिहीबार धुलिखेलमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री व्यवस्थामा जानुपर्ने प्रस्ताव अघि सारेको हो । यस्तै, राप्रपाले पूर्ण समानुपातिक संसद् हुनुपर्ने बताएको छ । अभिभावकीय भूमिकामा भने राप्रपाले राजा रहने व्यवस्था अघि सारेको छ । राप्रपाले वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने माग राखेको हो ।

यस्तै, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने पनि राप्रपाले ठहर गरेको छ । यो विषयलार्ई आगामी निर्वाचनमा जोडदार रूपमा उठाउने पनि राप्रपाले निर्णय गरेको छ ।

‘मुलुकमा विद्यमान भ्रष्टाचार र अस्थिरताका अन्त्यका लागि वर्तमान शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार र परिवर्तन आवश्यक रहेको ठहर गर्दै पूर्ण समानुपातिक संसद्, जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री र अभिभावकीय संस्थाका रूपमा राजा रहने, तीन तहको संघीयता होइन, केन्द्र र बलियो स्थानीय तह रहने व्यवस्था उपयुक्त हुने ठहर गर्दै आगामी निर्वाचनमा यो विषयलाई राप्रपाले जोडदार रूपमा उठाउनेछ’ बैठकपछि राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष राजेन्द्र लिङ्देनको प्रस्तावलाई आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन गरी औपचारिक रूपमा अघि बढाइने बताइएको छ । प्रवक्ता श्रेष्ठका अनुसार असार ७, ८ र ९ गते राप्रपाको केन्द्रीय समिति बैठक बस्नेछ । भदौ मसान्तभित्र सबै जनवर्गीय संगठनको महाधिवेशन गर्ने कार्यसम्पादन समिति बैठकले निर्णय गरेको छ । यो चुनावमा पाएको लोकप्रिय मतका आधारमा आउँदो चुनावको तयारी थाल्ने निर्णय राप्रपाले गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, संघ र प्रदेशको चुनावमा पार्टीबाट उम्मेदवार बन्न चाहनेहरूका लागि खुला आह्वानसमेत राप्रपाले गर्ने भएको छ ।
कार्यसम्पादन समिति बैठकमा नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी लगायतको उपस्थित थियो ।

वीरेन्द्रको शालिक हटाएको प्रति आपत्ति
बाँकेको नेपालगञ्ज धम्बोजी चोकमा राखिएको पूर्वराजा वीरेन्द्र शाहको शालिक प्रहरीले हटाएको प्रति राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आपत्ति जनाउनुभएको छ । नेपालगञ्जमा जनस्तरबाट पुनः स्थापित स्व. राजा वीरेन्द्रको शालिकमाथि सरकार पक्षबाट भएको तोडफोड तथा जनसाधारण माथिको धरपकडसम्बन्धी घटनामा राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, ‘पक्राउ परेका सबैलाई तत्काल रिहाइ गर्न तथा इतिहासको सम्मान गर्न नेपाल सरकारसँग माग गर्दछु ।’ दरबार हत्याकाण्ड भएको दिन पारेर राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित युवाहरूले धम्बोजी चोकमा स्वर्गीय राजा शाहको शालिक राखेका थिए । शालिक राखेको केहीबेरमा प्रहरीले हटाएपछि त्यहाँ तनाव भएको थियो ।

झडपमा एक दर्जनभन्दा बढी प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीमाथि पनि प्रहरीले लाठी बर्साएर केहीलाई पक्राउ गरेको राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?