किसान महासंघद्वारा आन्दोेलन घोषणा

Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल किसान महासंघ आन्दोलनमा उत्रिएको छ । मल अभाव र चरम मूल्यवृद्धिका कारण किसान मर्माहत बन्दा पनि किसानका समस्यालाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुख्य बाली लगाउने समयमा देशभरि देखिएको रासायनिक मलको अभाव र पेट्रोलियम पदार्थमा मूल्यवृद्धिविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

सरकारले किसान र कृषिक्षेत्रका समस्या समाधान गर्न उचित कदम चाल्न नसकेका कारण किसान र आमजनताले सास्ती भोग्नुपरेको महासंघका अध्यक्ष डा. प्रेम दंगालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले धान रोप्ने बेला हुन लाग्यो, मल पाउन सकेका छैनन्, महँगी अचाक्ली छ । सरकारले त्यसलाई नियन्त्रण गर्न सकेको छैन, किसानका गम्भीर समस्या समाधान नभएसम्म चरणबद्ध आन्दोलन जारी रहनेछ ।’

पहिलो चरणमा किसानका वर्तमान समस्या र मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री, कृषिमन्त्रीलाई बुझाइसकेको र दोस्रो चरणमा सबै प्रदेशमा मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय घेराउ र तेस्रो चरणमा मल आपूर्तिको जिम्मा पाएका सरकारी निकायहरू साल्ट्र ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनीका डिपोहरूमा तालाबन्दी गर्दै स्थानीय समस्यासमेत उठाउँदै रचनात्मक ढंगले आन्दोलनका कार्यक्रम अघि बढाइने महासंघका उपमहासचिव बाबुराम थापाले बताउनुभयो ।

उहाँले खेतीपातीको समयमा मलका लागि किसान भौँतारिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । मुलुकका लागि करिब पाँचदेखि सात लाख मेट्रिकटन मल आवश्यक पर्ने र त्यसका लागि करिब अर्ब हाराहारी बजेट आवशयक पर्ने विज्ञहरूले बताउँदै आएको पनि उहाँले जानकारी गराउनुभयो ।

नेपाल सरकार र भारत सरकारबीच गभर्मेन्ट टु गभर्मेन्ट (जी टु जी) प्रक्रियाबाट भएको सम्झौताअनुसार ल्याउने भनिएको एक लाख ५० हजार मेट्रिकटन मल मागको तुलनामा एकदमै न्यून रहेको भन्दै यस्तै अवस्था रहे कृषि उत्पादन घट्न गई खाद्य संकट आउन सक्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. माग जायज छ ।सरकार ले यो मागलाई पूरा अबस्य पनि गर्नु पर्छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?