प्रेमीको निमन्त्रणामा ‘बर्थडे’ मनाउन गएकी प्रेमीका बलात्कृत

हिमालय टाइम्स
Read Time = 4 mins

शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेमा एक १६ वर्षीया किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ की उक्त किशोरी सामूहिक बलात्कारको सिकार भएकी हुन् । एक वर्षअघि फेसबुकमा चिनजान भएका बैजनाथ गाउँपालिकाका हेमराथ थारूको समूहले बर्थडे मनाउने निहुँमा घरेलु मदिरा खुवाएर किशोरीमाथि बलात्कार गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार थारू र ती किशोरीबीच एक वर्षदेखि फेसबुकमा चिनजान भएर प्रेमसमेत बसेको थियो । सोही क्रममा गत शनिबार खजुरा गाउँपालिका-६ मानखोलामा बोलाइ मोटरसाइकलमा राखेर बर्दिया जिल्लाको मानखोला नजिकैको जंगलमा लगी चार÷पाँच जनाको समूहले सामूहिक बलात्कार गरेको पीडित किशोरीले प्रहरीलाई बयान दिनुभएको छ । उनीहरूले सो क्रममा झुक्याएर घरेलु मदिरासमेत खुवाएको पीडित किशोरीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

२१ गते साँझ अन्दाजी ६ बजेदेखि १२ बजेसम्म सामूहिक रूपमा जबरजस्तीकरणी गरेपछि आफू बेहोस भएको ती किशोरीको भनाइ छ । पछि होसमा आउँदा आफू बैजनाथ-८ पिपरी भन्ने स्थानमा बिक्रम भन्ने बिक्रान्त थारूको बंगुरपालन नजिकको टिनको टहरामा रहेको र त्यहाँ पनि थारूसहित दुई जनाले आफूमाथि बलात्कार गरेको उहाँले प्रहरीसमक्ष बयानमा भन्नुभएको छ । प्रहरीका अनुसार बिक्रान्त थारूले अन्य दुईजना साथी बोलाएर मोटरसाइकलको बीचमा घर पुर्‍याउन पठाउँदा प्रहरीको चेकिङ टोलीले फेला पारेपछि यस्तो कार्यको पर्दाफास भएको हो ।

२२ गते बिहान ४ बजे खजुरा-५ प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूलाई फेला पारेको थियो । सो क्रममा प्रहरीले चालक-८ झिगौरा बस्ने २० वर्षीय विश्वनाथ थारू, १७ वर्षीय एक बालक र भे.३ प.५२७ नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा बालिका लठिएको देखेपछि इलाका प्रहरी कार्यालय धनौलीमा राखेर सोधपुछको क्रममा सामूहिक बलात्कारमा परेको घटना बाहिरिएको थियो ।

सातजना पक्राउ
बाँके प्रहरीले सामूहिक बलात्कार प्रकरणमा संलग्न देखिएका किशोरीका प्रेमीसहित सात जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ पर्नेमा बैजनाथ-८ झिगौराका काशीराम थारूका १७ वर्षीय छोरा, सोही ठाउँका २४ को बिक्रम भन्ने बिक्रान्त थारू, २५ वर्षीय निराजन थारू, १६ वर्षीय किशोर, २३ वर्षीय राजकुमार थारू, २० वर्षीय विश्वनाथ थारू र अर्का १७ वर्षीय किशोर रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?