परराष्ट्रमन्त्रीको चीन भ्रमण, नेपाल-चीनबीच ‘बढ्दो संशय’ मेट्ने प्रयास

डिबी शर्मा
Read Time = 12 mins

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीनदिने चीन भ्रमण सकेर नेपाल फर्किनुभएको छ । मंगलबार चीन प्रस्थान गर्नुभएको मन्त्री खड्का बिहीबार साँझ स्वदेश फर्किनुभएको हो । भ्रमणका क्रममा उहाँले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुभयो । चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री खड्काबीच चीनको सान्तोङ प्रान्तको छिङ्ताओमा बुधबार करिब दुई घण्टा भेटवार्ता भएको हो ।

नेपालमा वाम-लोकतान्त्रिक गठबन्धन सरकार बन्नेबित्तिकै संसद्बाट एमसिसी अनुमोदन र त्यसपछि युक्रेन–रुस संकटमा युक्रेनको पक्षमा संयुक्त राष्ट्रसंघ (युएन)मा मतदान गरेको थियो । त्यसपछि देउवा सरकारलाई ‘पश्चिमातिर ढल्केको’ भन्ने आरोप लागिरहेको बेला परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणले सकारात्मक सन्देश दिन खोजेको परराष्ट्रविद्हरू बताउँछन् । भ्रमणले नेपाल र चीनबीच बढ्दो संशय मेट्ने प्रयास भएको उनीहरूको विश्लेषण छ । चीनले घोषणा गरेको आर्थिक सहयोग र विभिन्न परियोजना अगाडि बढाउने सहमतिले पनि दुई देशबीचको सम्बन्ध थप सुधार भएको संकेत गर्छ ।

भेटवार्तामा नेपाल-चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा गर्दै व्यापार, ‘कनेक्टिभिटी’, लगानी, स्वास्थ्य, पर्यटन, गरिबी निवारण, कृषि, विपद् व्यवस्थापन, शिक्षा, संस्कृति लगायतका विभिन्न क्षेत्रका सहयोगलाई थप प्रवद्र्धन गर्ने सहमति भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । विदेशमन्त्री वाङको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति चीन प्रस्थान गर्नुभएको थियो ।

केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने चीनको घोषणा
चीनले अनुदान सहयोगमा केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटवार्तामा यस्तो घोषणा गर्नुभएको हो । परराष्ट्रमन्त्री खड्काले बुधबार विदेशमन्त्री यीसँग भेटवार्ता गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका दौरान सन् २०१९ मा रेलमार्ग अगाडि बढाउने तय भएको थियो । त्यस्तै, चिनियाँ पक्षले काठमाडौं चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको निर्माण कार्य छिट्टै सुरु गर्ने आश्वासन दिएको छ ।

चिनियाँ विदेशमन्त्री यीले नेपाल-चीन क्रस बोर्डर प्रसारण लाइनको पूर्व-सम्भाव्यता अध्ययनका लागि पनि सहयोग गर्ने आश्वासन दिनुभयो । दुई मन्त्रीबीचमा नाकाहरूलाई सञ्चालन गर्न संयुक्त संयन्त्र बनाएर काम गर्ने भनिएको छ । रुसुवागढी-केरुङ नाका र तातोपानी जाङ्मु नाकालाई दुईतर्फी सञ्चालनमा ल्याउने तथा हिल्सा-पुलन नाका एकतर्फी रूपमा सञ्चालन गर्न सहमति भएको छ । भेटवार्तामा रसुवा-केरुङ र तातोपानी-जाङ्मु बन्दरगाह दुईतर्फी व्यापारका लागि र हिल्सा-पुलाङ बन्दरगाह एकतर्फी व्यापारका लागि खोल्ने सहमति भएको छ । तातोपानी नाकामा सन् २०१५ को भूकम्पयता र रसुवागढी नाकामा २०१९ को अन्त्यमा सुरुवात भएको कोभिड-१९ को संक्रमणयता पहिलेको अवस्थामा सुरु भएका छैनन् । विदेशमन्त्री वाङले चीन फर्कन चाहने बाँकी रहेका नेपाली विद्यार्थीहरूले स्वास्थ्य प्रोटोकल पूरा गर्दै प्रवेशाज्ञा प्रक्रिया अघि बढाउन र आफ्नो अध्ययन पुनः सुरु गर्न सक्ने बताउनुभयो । दुई मन्त्रीबीच विगतमा उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता र समझदारीलाई समयमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा चीनको सहयोगमा सञ्चालित आयोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिन सहमति भएको छ ।

१५ अर्ब सहयोग घोषणा
चीन सरकारले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब बढी) सहायता उपलब्ध गराउने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कको तीनदिने चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले सहयोग घोषणा गर्नुभएको हो । चिनियाँ विदेशमन्त्री वाङले नेपालको प्राकृतिक प्रकोप प्रभावितहरूका लागि सहयोग घोषणा गर्नुभएको छ । चीनले तीन मिलियन आरएमबी बराबरको प्रकोप राहत सामग्री उपलब्ध गराउने उहाँले घोषणा गर्नुभयो ।

त्यस्तै, दुई मिलियन आरएमबी बराबरको स्वास्थ्य सामग्री तथा रसद उपलब्ध गराउने घोषणा चीनले गरेको छ । चिनियाँ समकक्षी वाङले सिभिल अस्पतालमा रक्त क्यान्सरको उपचारका लागि सिआरए टी सेल उत्पादन प्रयोगशाला निर्माण गर्न तथा नेपाली स्वास्थ्यकर्मीलाई आवश्क तालिम दिन सहयोग गर्ने घोषणासमेत गर्नुभएको छ । यसैगरी, चीनले नेपाललाई थप २० लाख आरएमबी मूल्यका मेडिकल सामग्री र रसद उपलब्ध गराउने भएको छ ।

‘एक चीन नीति’प्रति नेपालको प्रतिबद्धता
भेटवार्तामा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एक चीन नीतिप्रति नेपालको अटल प्रतिबद्धता कायमै रहेको दोहोर्‍याउनुभयो । विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा परराष्ट्रमन्त्री खड्काले नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने बताउनुभएको चीनस्थित नेपाली दूतावासले जनाएको छ । जवाफमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहने दोहोर्‍याउनुभयो ।

बिआरआईबारे भएन प्रगति
भ्रमणमा द्विपक्षीय सम्बन्धको विश्वासको वातावरणलाई बलियो बनाउँदै नेपाललाई आर्थिकलगायत विभिन्न क्षेत्रमा सहयोग प्राप्त भए पनि चीनको बहुचर्चित आयोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अघि बढाउने गृहकार्य पर्याप्त भएन । नेपाली पक्षले सन् २०१७ मा हस्ताक्षर गरेको बिआरआईबारे दुई पक्षीय छलफलमा कुनै प्रगति हुन नसकेको हो । चीनस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा पनि यसबारे केही उल्लेख छैन । तर, चिनियाँ पक्षले जारी गरेको विज्ञप्तिमा भने बिआरआईको कार्यान्वयनलाई अघि बढाउने सम्बन्धमा पनि कुराकानी भएको उल्लेख छ ।

भ्रमण फलदायी, चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का
परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमण फलदायी भएको बताउनुभएको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खड्काले भ्रमण सफल र फलदायी भएको बताउनुभएको हो । चिनियाँ समकक्षी वाङ यीसँगको भेटका क्रममा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताएको उहाँले जानकारी दिनुभयो । नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको उहाँको भनाइ छ । ‘चीन भ्रमण सफल र फलदायी रह्यो । मैले मेरो समकक्षीलाई एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको बताउँदै हाम्रो भूमि चीनको विरुद्धमा प्रयोग हुन नदिने कुरामा विश्वास दिलाएको छु’ उहाँले भन्नुभयो, ‘चिनियाँ विदेशमन्त्री वाङ यीले पनि नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता तथा भौगोलिक अखण्डताप्रति चीनको निरन्तर र निःशर्त समर्थन रहेको कुरा दोहो¥याउनुभयो ।’ साथै वाङ यीले नेपालको विकासको प्रयासमा नेपाल सरकारको प्राथमिकताबमोजिम चीन सरकारको निरन्तर सहयोग रहने विश्वास दिलाएको खड्काले बताउनुभयो । भ्रमणका क्रममा विगतमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार भएको उहाँको भनाइ छ ।

भ्रमणका क्रममा बिआरआईबारे पनि छलफल भएको उहाँले बताउनुभयो । ‘बिआरआई भनेको होलिस्टिक एप्रोच हो । यससँग सम्बन्धित रहेका सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, अन्तरदेशीय ट्रान्समिसन लाइन सम्भाव्यता अध्ययन लगायतका विषयमा कुराकानी भयो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खड्काले भन्नुभयो । खड्काले नेपालको चीनतिर बढ्दो व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा राखेको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?