विश्व खाद्य स्वच्छता दिवस, खाद्य स्वच्छता नीतिमा जोड

Read Time = 6 mins

काठमाडौं । खाद्य स्वच्छता र सन्तुलित आहारका लागि खाद्य स्वच्छता नीतिमा जोड दिइएको छ । विश्व खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा मंगलबार काठमाडौं मा आयोजित कार्यक्रममा उपभोक्ता अधिकारकर्मीले खाद्य स्वच्छता नीतिबिना खाद्य स्वच्छता र सन्तुलित आहारको लक्ष्यमा पुग्न नसकिने बताएका छन् ।

कन्जुमर नेपालकी अध्यक्ष विमला खनालले उपभोक्ताले उपभोग गर्ने हरेक वस्तु स्वच्छ र गुणस्तरीय हुनुपर्ने भनिए पनि बजारमा विषादी र मिसावटयुक्त खाद्यपदार्थ तथा तरकारी फलफूलका कारण उपभोक्ताको स्वास्थ्य बिग्रिरहेको बताउनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमल्सिनाले बजार बजारजस्तो नभएको भन्दै सरकारले जारी गरेको खाद्य ऐनको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा ऐनसमेत उपभोक्तामैत्री नरहेको बताउनुभयो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले खाद्य स्वच्छता नीति नभएसम्म उपभोक्ता ठगिइरहने बताउनुभयो । सरकारले बजारमा हस्तक्षेप नगरेसम्म बजार नसुध्रिने भन्दै उहाँले उपभोक्ता हित सबैको साझा दायित्व भएको बताउनुभयो ।

दिवसलाई उपभोक्ताको गुनासो सुन्ने संयन्त्र बनाएर वर्षैभरि सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने उहाँको भनाइ थियो । उपभोक्ताको खाद्यान्नको अधिकारलाई सम्बोधन गर्नुपर्ने खाद्य ऐन साढे पाँच दशक पुरानो रहेको र कसुर गर्नेलाई बढीमा १० हजारसम्म मात्रै जरिवाना रहेको उहाँले गुनासो गर्नुभयो । आवश्यक पदार्थ नियन्त्रण ऐन २०१७, कालो बजार ऐन २०३२, स्ट्यान्डर्ड नापतौल ऐन २०२५, प्रतिस्पर्धा ऐन, २०६३ जस्ता ऐनले उपभोक्ताको अधिकारलाई संरक्षण गर्न नसक्ने तिमल्सिनाको भनाइ थियो ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता जे मिसाएर ल्याए पनि खान बाध्य रहेको भन्दै उपभोक्ता सचेतमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा जे पायो त्यही विषादी र मिसावटयुक्त वस्तुको उपभोग गर्न उपभोक्ता बाध्य छौँ, त्यसमा सुधार हुनुप¥यो ।’ विभागका पूर्वमहानिर्देशक डा. टीकाबहादुर कार्कीले सबै नेपाली उपभोक्ता नै भएकाले सबै प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा. गोविन्द शर्माले दैनिक उपभोग्य वस्तुको गुणस्तर जाँचमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । उहाँले माछा मासु, पानी, दूध र तरकारीको गुणस्तर जाँचमा विशेष ध्यान दिन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पब्लिक हेल्थको विषयमा विशेष ध्यान दिनुपर्छ, उत्पादनदेखि उपभोक्तासम्म तथा होटलमा खाद्य स्वच्छताको विषयमा जनचेतना जगाउन आवश्यक छ ।’ पशुसेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले माछामासु, दूधलगायतको गुणस्तरमा विभागले संवेदनशील भएर काम गरिरहेको बताउनुभयो । पछिल्लो समय सर्टिफाइ गरेर निर्यातमा ध्यान दिनुका साथै प्रत्येक स्थानीय तहमा भेटेरिनरी निरीक्षकले नियमन गरिरहेको उहाँको भनाइ थियो ।

विभागकी महानिर्देशक मोतिना वैद्य जोशीले स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्ने वातावरणका लागि विभाग सदैव तयार रहेको बताउनुभयो । आफूले महानिर्देशकको कार्यभार सम्हालेसँगै भारतीय नाकासँग जोडिएका काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, धनगढी र कञ्चनपुर तथा चीनसँग जोडिएको रसुवा र तातोपानीमा अन्तर्राष्ट्रियस्तरका नयाँ प्रयोगशाला सञ्चालनमा ल्याएको दाबीसमेत उहाँले गर्नुभयो । स्वच्छ खाद्य पदार्थका लागि उपभोक्ता नै सबैभन्दा पहिला सचेत हुनुपर्ने भन्दै उहाँले उत्पादकदेखि उपभोक्तासम्म जनचेतना जगाउने काम भइरहेको बताउनुभयो ।

उपभोक्ताले जे खाद्यवस्तुको उपभोग गर्छन्, त्यस्तै बन्ने भन्दै सधैँ एकै प्रकारका खाना खानुभन्दा सन्तुलित र स्वच्छ आहारविहारमा ध्यान दिनुपर्ने बताउनुभयो । जोशीका अनुसार विश्व स्वास्थ्य संगठनले प्रतिव्यक्ति प्रतिदिन नुनको उपभोग पाँच ग्राम हुनुपर्ने भनिए पनि नेपालीले प्रतिदिन साढे नौ ग्रामसम्म उपभोग गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?