गलकोटमा बाढी पहिरो : तीन घरसहित एक विद्यालय उच्च जोखिममा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङको गलकोटमा भीषण वर्षका कारण तीन घर र एक विद्यालय उच्च जोखिममा परेका छन् । गलकोट नगरपालिका–३ हटिया बजारमा भलसहितको बाढी पस्दा एक घरमा क्षति पुग्नुका साथै बजार क्षेत्रका सडकहरू अवरुद्ध भएका छन् ।

मध्यपहाडी लोकमार्ग र ग्रामीण सडकबाट आएको भलसहितको बाढीले सडकको नाली बन्द भएपछि बजार क्षेत्रमा बाढी पसेको वडा नम्बर ३ का अध्यक्ष फमबहादुर खत्रीले जानकारी दिनुभयो । बाढीले लोकमार्ग समेत अवरुद्ध गरेको भन्दै अध्यक्ष खत्रीले रातिनै खुलाएको बताउनुभयो । बजार क्षेत्रका सडकहरू खुलाउने प्रयास भइरहेको उहाँको भनाइ छ ।

वडा नम्बर ६ को जामुनडाडाका नारायण नेपाली र भुजुंगेका टीकाबहादुर घर्तीको घर पहिरोको उच्च जोखिममा परेको गलकोट नगरपालिका–६ का वडा अध्यक्ष रामप्रसाद कँडेलले जानकारी दिनुभयो । शिला खोलामा आएको बाढीका कारण नवज्योती दुर्गा आधारभुत विद्यालयसमेत जोखिममा परेको उहाँको भनाइ छ ।

हटिया बजारमा मंगलबार राति ११ बजेबाट बाढी आउन सुरु गरेको स्थानीयको भनाइ छ ।  हिमपाइप जाम भएर भलसहितको बाढी बजारमा पसेको हो । राती करिब २ बजे जेसीवीको प्रयोग गरि नाली सफा गरेर थप जोखिम हुनबाट जोगाएको स्थानीय बताउँछन् । गलकोट नगरपालिका–३ को कोतमैदान चोकमा समेत बाढिपसेको छ । ग्रामीण सडक बाढीका कारण अवरुद्ध बनेको वडा अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

वर्षाका कारण गलकोट नगरपालिका–६ को कोइराबारी खानेपानी, चरौदीखोला खानेपानी र देउरालीखोला खानेपानीको मुहान तथा पाइपमा क्षति पुगेको वडा अध्यक्ष कँडेलले जानकारी दिनुभयो । खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको उहाँको भनाइ छ ।

गलकोट नगरपालिका–६ मा रहेको हटिया, मजुवा हुँदै ताराखोला जोड्ने कृषि सडकसमेत अवरुद्ध भएको छ । त्यस्तै गलकोट नगरपालिकाको कार्यालयदेखि ढलेपिपलसम्मको सडकसमेत बाढी पसेर बगरमा परिणत भएको छ ।

वडा नम्बर ६ कै ढलेपिपल गुयली सेतिबेसी मोटरबाटो, ढलेपिपल डाँडा पुछार पैयुडाडा सडक, नगरपालिकादेखि नेपाने हुँदै कायस, भुजुंगे सडक, राजाको पुलदेखि मसार तथा ठुलाथर लामिडाँडा भुजुंगे सडक, जामुनडाडा पयुडाँडा सडक समेत पूर्ण रुपमा अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको छ ।

चरौदी खोला, दरम खोला तथा शिला खोलाबाट बनाईएका सिँचाई कुलोसमेत अवरुद्ध भएको अध्यक्ष कँडेलले बताउनुभयो । वडा नम्बर ६ कै चरौंदी खोलाले खोला आसपासको खेतमा बाढीले कटान गरेको छ । हटिया बजार क्षेत्रको बाढी पन्छाएर सडक खुलाउने प्रयास गरिरहेको वडा नम्बर ३ का अध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो ।

उहाँले स्वास्थ्य चौकी जाने सडक पहिले खुलाउने प्रयास गरिरहेको भन्दै बजार क्षेत्रका अन्य सडक पनि खुलाउन सुरु गरेको जानकारी दिनुभयो । ‘मध्य रातमा बाढी आउँदा बजार क्षेत्रका केही सडकहरू अवरुद्ध भएका छन्, बाढीले क्षति पुर्याएका घरहरूको पनि हामीले अवलोकन गरि सकेका छौँ,’ स्वास्थ्य चौकीमा जाने सडक खुलाउने र अन्य बजार क्षेत्रका सडकहरू क्रमस खुलाउने प्रयास गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?