नेपाल विश्वकप छनोटबाट बाहिरियो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल आइसिसी यु-१९ महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटबाट बाहिरिएको छ । घरेलु टोली मलेसियालाई २५ रनले पराजित गरेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसँगै नेपाल तेस्रो स्थानमा रहँदै यु-१९ महिला टी-२० विश्वकप छनोटबाट बाहिरिएको छ ।

जितका लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६१ रन बनाएको थियो । मलेसियाकी शीर्षक्रमकी ब्याटर तथा कप्तान एल्सा हन्टरले ३२ बलमा ३ चौकासहित सर्वाधिक २८ रन बनाउनुभयो । अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।
नेपालकी कप्तान कृतिका मरासिनीले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिनुभयो । यस्तै मनिषाकुमारी उपाध्यायले १ विकेट लिनुभएको थियो । त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८६ रन बनाएको थियो । नेपालका लागि ओपनर अञ्जली विश्वकर्माले ५४ बलमा २ चौकासहित सर्वाधिक ३३ रन बनाउनुभयो । यस्तै आश्मा पुलामी मगरले ३८ बलमा १ चौकासहित २६ रन बनाउँदा सृष्टि जैसी, अनु कडायत र सानु राजवंशी ३-३ रनमा आउट हुनुभएको थियो ।

मलेसियाकी नुर डानिया अब्दुल सामदले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिनुभयो । एलिस हुन्तरले एक विकेट लिनुभयो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराउँदा युएईसँग १० विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित भएपछि विश्वकपको होडबाट बाहिरिएको हो ।

नेपाललाई ८ रनमा अलआउट गरेको युएई भने प्रतियोगिताबाट आगामी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यु-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । युएईले अन्तिम खेलमा थाइल्यान्डलाई ६ विकेटले हराउँदै अपराजित रहेर विश्वकपमा स्थान बनाएको हो ।

६ टोली सहभागी प्रतियोगितामा शीर्षस्थानमा रहने टोलीले आगामी वर्ष पहिलोपटक हुने यु-१९ महिला विश्वकप खेल्न पाउने प्रावधान थियो । युएई पाँच खेलमा शतप्रतिशत जितका साथ शीर्षस्थानमा रहँदै विश्वकपमा पुग्यो । युएईले भुटानलाई १६० रन, नेपाललाई १० विकेट, मलेसियालाई ९ विकेट र कतारलाई १० विकेटले हराएको थियो । नेपाललाई १० विकेटले हराउनेक्रममा युएईले मात्र ८ रनमा अलआउट गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?