पुस्तक : दाहालको कवितासंग्रह ‘अन्तिम हुनसक्छ…’

हिमालय टाइम्स
Read Time = 6 mins

✍️ सुशीला घिमिरे
सुमन दाहालको प्रसिद्धि साहित्यमा भन्दा अर्कै क्षेत्रमा रहेको थियो । उहाँ शिष्टाचार अभियानका अभियन्ता हुनुहुन्छ । यस अभियानका उहाँ संस्थापक हुनुहुन्छ र हालसम्म पनि उहाँ यही अभियानमा निरन्तर सक्रिय रहिरहनु भएको छ । उहाँको यस अभियानले दुई दशक जतिको समय पार गरिसकेको छ । उहाँ व्यवहारमा पनि शिष्ट हुनुहुन्छ । झैझगडा र अशिष्ट व्यवहार उहाँले कहिल्यै गर्नु भएको छैन । सधैं हँसिलो चेहरामा उहाँ देखिनु हुन्छ । उहाँ अरूलाई पनि त्यस्तै बन्नुपर्छ भन्ने अभियानका साथ विभिन्न प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गर्नुहुन्छ ।

उहाँले सञ्चालन गरेका केही संस्थाहरूको नाममा समेत शिष्टाचार जोडिएको छ । शिष्ट व्यवहार गर्नुपर्छ, खाना खेर फाल्नु हुँदैनलगायत उहाँका शिष्टाचारका सूत्र र सन्देशहरू छन् । उहाँको शिष्टाचारसम्बन्धी पुस्तक पनि प्रकाशित छ । साहित्यमा रुचि राख्ने र केही फुटकर रचनाहरू प्रकाशित गर्दै आउनुभएका दाहालको यस पटक भने स्थूल कृतिकै रूपमा गद्यकविता संग्रह प्रकाशित भएको छ ‘अन्तिम हुनसक्छ ..’ शीर्षकमा । पुस्तक पकेट साइज वा स्ट्याण्डर साइज भनिने सानो आकारमा छ ।

हेर्दा आकर्षक लाग्ने नीलो रङ्गको आवरण भएको यस पुस्तकको बाहिरी कलेबर नीलो पृष्ठभूमिमा माथि ठूला पँहेला अक्षरमा पुस्तकको शीर्षक ‘अन्तिम हुनसक्छ.....’ लेखिएको छ भने बीचमा नमस्कार मुद्रामा हात जोडेको र तल पँहेला साना अक्षरमा कवि दाहालको नाम ‘सुमन दाहाल’ लेखिएको छ । कडा गाता (हार्डकभर) मा रहेको यस पुस्तकको पृष्ठ आवरणमा भने कवि दाहालको फोटो र छोटोमा उहाँको शिष्टाचारमा भएको योगदानबारे लेखिएको छ । तल यसको प्रकाशक साहित्य पोष्टको नामका साथै पुस्तकको मूल्य तथा आइएसबिएन दिइएको छ । साहित्य पोष्ट अनामनगरबाट प्रकाशित यस पुस्तकको यो पहिलो संस्करण हो ।

एक हजारप्रति छापिएको यस पुस्कतकको सर्वाधिकार कविमै रहेको छ भने यस पुस्तकमा भूमिका खण्डसमेत गरी ८६ पृष्ठ रहेका छन् । ३५० रुपैयाँ मूल्य रहेको यस पुस्तकको सुन्दर आवरण साहित्य पोष्टका राज सिटौलाले तयार पार्नुभएको छ । कविले पुस्तक आफ्ना मातापितालाई समर्पण गर्नुभएको छ । भूमिका खण्डमा छोटोमा लेखकीय छ, यसबाहेक अन्य कुनै कु्रा राखिएको छैन । यसपछि कविता सूची दिइएको छ । पुस्तकमा साठीवटा कविता समावेश छन् । कवि दाहालका कविता नेपाली साहित्यको बजारमा पाइने कविताहरू भन्दा भिन्न स्वादका छन् । छोटोमा केही कुरा चटक्क भन्ने सामथ्र्य राख्ने कवि दाहालका छोटा–छोटा यी कविताहरू अविधा, लक्षणा र व्यञ्जना तीनै प्रकारको अभिव्यक्तिमा प्रस्तुत भएका छन् ।

पेशाले स्वास्थ्यकर्मी दाहालको विषय साहित्य होइन । अध्ययनको भन्दा पनि उहाँको यो रुचिको विषय हो । केही वर्ष विदेशी भूमिमा रहेका बेला सामाजिक सञ्जालमा आफ्ना रचनाहरू राख्ने गर्नुहुन्थ्यो । उहाँका केही रचनाहरू विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित हुँदै आएका थिए । यो पुस्तक तिनै रचाहरूको संग्रह हो । साठीवटा कवितामध्ये सबै कविता छोटा छन् । प्रायः कविताहरू पुस्तकको एकै पृष्ठमा अटाएका छन् । कुनै–कुनै कविताहरू त पाँच–छ हरफका पनि छन् । केही कविताहरू मात्र दुई पृष्ठको फैलावटमा रहेका छन् ।

कविको शीर्षक चयनमा मध्यम आकारका शीर्षक राख्ने प्रवृत्ति देखा पर्छ । उहाँका कवितामा व्यङ्ग्य, राजनीति, सामाजिकता, प्रेम, विपन्नताको चित्रण, मानवता, अपनत्व वा स्वत्व, मनोविज्ञान जस्ता भावहरू पाइन्छन् भने शान्त रसको बाहुल्य रहेको पाइन्छ । यसका साथै करुण, हास्य, वीर, अद्भूत रसहरू पनि समावेश भएका छन् । साहित्यमा पदार्पण गर्नु भएका दाहालको उपस्थिति पहिले नै सबल देखिएको छ । उहाँलाई कृतिका लागि बधाई तथा सफलताको कामना छ । साथै उहाँको यस क्षेत्रमा सशक्तताको अपेक्षा गर्दै भावी कृतिहरूका लागि हार्दिक शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?