काजी भैरवबहादुरको बिन्तीपत्र-३

Read Time = 6 mins

✍️ प्रा.डा. तीर्थप्रसाद मिश्र
नेपालले चीनका बादसाह समक्ष पठाएको अन्तिम पञ्चवर्षीय सौगात मण्डलको नेतृत्व गरी चीन जाने काजी भैरबबहादुर गड्तौला क्षेत्रीले पठाएका बिन्तीपत्रहरू प्रकाशनमा ल्याउने क्रममा यो अर्को बिन्तीपत्र यथावत् रूपमा यस आलेखमा उल्लेख गरिएको छ ।

श्री ३ को निर्देशनअनुसार काजीले चीनको राजधानी पेचिङ पुग्दा र फर्कदा बाटाका विभिन्न स्थानबाट विभिन्न विषयमा बिन्तीपत्र जाहेर गरेका थिए । सानातिना राजनीतिक घटना, स्थानीय रीतिरिवाज, अंग्रेज सरकारका गतिविधि आदिका विषयमा बिन्तीपत्रमा उल्लेख भएको पाइन्छ ।

गोप्य विषयमा भने कोड भाषामा बिन्तीपत्र पठाउन निर्देशन दिइएको हुन्थ्यो । नेपालका शासकले पनि अंग्रेजी डाकद्वारा काजीलाई पत्राचार गर्ने गरेको दृष्टान्त पाइन्छ । यस बिन्तीपत्रबाट तत्कालीन चीनको स्थिति, आर्थिक विकास, विदेशीबाट चीनमा भएका गतिविधिलगायतका विषय बुझ्न सकिन्छ ।

भारतस्थित अंग्रेज शासकका अधिकारीहरूको परामर्शअनुसार श्री ३ ले मालसामान खरिद गरी पठाउन निर्देशन दिएको तथ्य पनि यसमा उजागर हुन्छ । बिन्तीपत्रको भाषा हेर्दा सौगात मण्डलले राष्ट्रिय हितभन्दा बढी श्री ३ को स्वार्थ पूरा गर्न भगीरथ प्रयत्न गरेको प्रतीत हुन्छ ।

बिन्तीपत्रको पूर्ण विवरण निम्नानुसार रहेको छ :
वींतीपत्र
उप्रान्तमहाराज करूणा निधान सर्कारकागाथमा सदा आरोग्यमंगलोदये रहि वक्स्या सेवकको प्रतिपाल र्उधारण होलाप्रभु सेवक पेचीन वाट कुचभई थ्यांचीनगयाको र थ्यांचीनमाजो भयाको हाल समेत ६५ सालभाद्र ३१ गते रोज ३ माथ्यांचीन वाट चडाई पठायाका वींतीपत्र वाट सर्कारमाजाहेर भयाहो.प्रभु आश्वीन १ गते रोज ४ माथ्यांचीन वाट कुचहुनालाई अघिल्लै दिनभाद्र ३१ गते रोज ३ का बेलुकाभातषाइ रेलका घरमा सुतने गरी गयापछि बेलुका राति ७ वजे वृटिश कान्सल जनरल साहेव रेल घरैमा भेट् गर्न आया.रेल घर भीत्रलगी मेचमा राष्या पछि जानु भयो भंन्या सुन्या र भेट् गर्न आञाभन्या र साहेव को मेहरवानीहो भोलिविहान सवेरै कुचहुने हुनाले अ‍ैले रेलैमा सुतनआञाभंदा चाडै जानलाग्नु भयो वडो अपसोच छ वाटामा सुविस्ता साथजानु होलाभन्या र साहेवको मेहरवानिभंदा मौसुफ कान्सल जनरल साहेव षुसी भै फर्कि गया. प्रभु सो रात रेलैमा सुतिआश्वीन १ गते रोज ४ काविहानकुच भै सोहीदिन वेलुका राति ८ बजे तांते फुकाई स्टेसन आई पुग्या सो रातताहि रेल घरमावसि आश्वीन २ गते रोज ५ काविहानताहा वाट कुच भै दीनको १२ वजे षोल्यां हाताकाकुंस्यां ईस्टेसन् माआई पुग्या. सेवक पेचीनजादा ञाहा कुंस्यां सम्म रेल आयाको थीयेन हालै माल्याका रहे छं.रेल पुग्या सम्म ञाहातक रेलै माआञा. साना साना पहाडहरूमा षोपी समतलवनाई ञाहा सम्ममा १० पाहाड छेडि रेल ल्याका रहे छंअव ञाहा वाट पनि वढार्उन लाई वनार्उदै रहे छं.लाल दरीयामापनिकोस १ लामो ठुलो पुलवनायाको रहेछ.रेलको कामगर्ना लाई फरानसिसिर (?) वेलजियमका युरोपियन् हरू जाहानबच्चा स्मेत लि धेरै वस्याका रहेछं. येस कुंस्यां देषिपश्चीमं र दषिनकाकोण माअसलपथर कोईलाको ठुलो षानि रहेछ चीन भरकाइंजेन काकामलाई येतै वाट पथर कोईलाजादो रहेछ अरू वीस्तार हाल सवै लेषि राषेको छु सेवकहाजिर भया पछि सर्कारमानजर गरार्उन्यै छु आज ञाहा कुंस्यांमामुकामभयो भोली ञाहा वाट पनिकुच भै सरासर सिंघाफु तर्फ जान्छु अव सिंघाफु पुग्नालाई ११। १२ वास वाकि छ. प्रभूलाई किचनर का लिष्टमा लेषियाको मालमध्ये पाया सम्म पेचीन वाट चडाई पठायाको सर्कारमादाषिलहुन्यै छ. थ्यांचीन् मापनिषोजदापाया सम्मअसल पुरानाकास का भाडा मालहरू कीनिल्यायाको छु. अववाटा मापनिषोजि ढीडंफु पुग्यापछि जतिमालजम्मा हुन्छ २।३ वाक्स ढींडफु वाट पनिजहाजको वाटो चडाई पठाउने छु.प्रभु ञाहा देषिवास वास को वाटो जादाजो हालहोला सो पछि जाहेर गरौलाप्रभु ज्यादाहर्फ को कं वेस्माफवक्स्यामात्र सेवकको उधार छ प्रभु जो हुकुम...

चिनियाँ अक्षरमा काजीको नाम इत् सदा सेवककाजि भैरव बहादुर गढतोला क्षेत्रीका रोज रोज कुर्णैस कुर्णैस...
इति संवत् १९६५ साल आश्वीन ३ गते रोज ६ शुभम्

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2022-06-12 12:02 pm

तीर्थ सरका अनुसन्धानमा आधारित इतिहासका गर्भमा रहेका लेख,दृष्टिकोण र धारणाले समाजलाई शिक्षा तथा खुराक दिएको छ।यसको निरन्तरताले समाज लाभान्वित हुने हाम्रो विश्वास छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?