साकोस शिखर गोष्ठी सुरु

Read Time = 3 mins

काठमाडौं । दिगो एवं एकीकृत सञ्जालका लागि नवीनतम साझा प्रविधि भन्ने नाराका साथ चौथो साकोस शिखर गोष्ठी आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह-आयोजनामा भएको गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन परिवर्तमा समेत सहकारीको भूमिका रहेको बताउनुभएको छ ।

नागरिक संगठित गर्ने, क्षमता अभिवृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको उहाँको भनाइ थियो । गृहमन्त्री खाँणले भन्नुभयो, ‘राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ, दूरदराजका दिदीबहिनी, आमालाई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी व्याज र सेवाशुल्क लिएकोलगायतमा गुनासो आएको भन्दै त्यस्तो नगर्न सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘एउटा सहकारीका कारण सबै सहकारी बदनाम हुनुपर्ने अवस्था नआओस्, हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशन कार्यान्वयन होस् ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सरकारले सहकारीको आयकर दर बढाएको भन्दै आयकर दर पुरानै कायम गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बचत तथा ऋण सहकारी संस्था नियमनका लागि छुट्टै बचत ऋण ऐनको मागसमेत गर्नुभयो ।

नेफ्स्कुन अध्यक्ष परितोष पौड्यालले साकोस अभियानको शक्ति, सामथ्र्य र सहनशीलताको बलमा चुनौती सामना गर्न सकिने विश्वास व्यक्त गर्दै लामो बहसपछि बचत ऋण सहकारीका लागि स्थिरीकरण कोष सञ्चालनमा आए पनि कतिपय कानुनी प्रावधान अभियानमैत्री बनाउनुपर्ने आवश्यकता रहेको बताउनभुयो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब सात सय बचत ऋण सहकारीकर्मीको उपस्थिति रहेको छ । गोष्ठीमा दुईवटा सामूहिक र आठवटा ब्रेकआउट गरी १० वटा सत्र सञ्चालन हुनेछन् । कार्यक्रममा पूर्वमन्त्री एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, समस्याग्रस्त सहकारीका अध्यक्ष काशिराज दाहाललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?