सिएनआई र संयुक्त ट्रेड युनियनबीच छलफल

Read Time = 3 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगारलगायतका विषयमा छलफल भएको छ । सिएनआईको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौँ श्रम संसद्बाट चयन हुनुभएका पदाधिकारीको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको हो ।

सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्र स्थापनादेखि नै राम्रो श्रम सम्बन्ध स्थापित हुँदै आएको भन्दै ट्रेड युनियन, कर्मचारीबाट राम्रो सहयोग पाइरहेको बताउनुभयो । मुलुकको अर्थतन्त्रको अहिलेको मुख्य चुनौती तरलता, शोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चितिमा परेको चाप रहेको उहाँको भनाइ थियो । अध्यक्ष अग्रवालले भन्नुभयो, ‘तरलता समस्या हुँदा उद्योगीले बैंकबाट ऋण पाइरहेका छैनन् । नयाँ उद्योग स्थापना हुन सकेका छैनन् । भएका उद्योगले पनि लगानी विस्तार गर्न पाइरहेको अवस्था छैन ।’

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष प्रेमलकुमार खनालले श्रमिकको समस्या समाधान गर्न केन्द्र साझा थलो बनेको बताउनुभयो । उहाँले न्यूनतम पारिश्रमिक लागू गर्ने विषय चुनौतीपूर्ण रहेको भन्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा पनि थोरैमात्र कर्मचारी, श्रमिक आबद्ध भएको बताउनुभयो । सहभागीहरूले श्रमिकका कारणले उद्योग व्यवसाय बन्द हुने अवस्था नभएको तर सरकारको राजस्वका नीतिका कारण उद्योगीले नै उद्योग बन्द गर्नुपर्ने अवस्था देखिएको बताएका थिए ।

कार्यक्रममा सिएनआई रोजगारदाता परिषद् संयोजक अमित बेगानी, महानिर्देशक दिपकराज जोशी, केन्द्रका महासचिव नवराज दाहाल, महिला समिति सचिव रिता पोखरेल, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमा आबद्ध १० वटा राष्ट्रिय ट्रेड युनियन महासंघका अध्यक्ष एवं पदाधिकारीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?